उद्योगी–व्यवसायीसँग साक्षात्कार तथा सचेतना कार्यक्रम शुभारम्भ

सुर्खेत ,१५ असोज ।
सुर्खेत उद्योग वाणिज्य संघले उद्योगी तथा व्यवसायीका समस्या, आवश्यकता र चुनौती प्रत्यक्ष रूपमा बुझ्दै सरसफाइ तथा व्यवसायिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले घरदैलो अभियान सुरु गरेको छ।
२०८३ साल असोज १५ गते बिहीबार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गर्दै अभियानको औपचारिक शुभारम्भ गरिएको हो।
अभियानअन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा सञ्चालित सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम तथा आन्तरिक राजस्व कार्यालय, सुर्खेतको आर्थिक सहयोग र वीरेन्द्रनगर नगरपालिका एवं उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, सुर्खेतको समन्वयमा सञ्चालित व्यवसायिक सचेतना कार्यक्रमसमेत संयुक्त रूपमा सुरु गरिएको छ।
अभियानमार्फत उद्योगी तथा व्यवसायीलाई आफ्ना उद्योग तथा व्यवसायबाट निस्कने फोहोर जथाभावी नफाल्न, फोहोर संकलन गरी सुरक्षित रूपमा राख्न र फोहोर संकलन गर्ने सवारीसाधन आएपछि तोकिएको स्थानमा मात्र राख्न सचेत गराइनेछ। व्यवसायिक क्षेत्रको सरसफाइ तथा फोहोर व्यवस्थापनमा व्यवसायीको जिम्मेवारी बढाउँदै स्वच्छ, सुन्दर र व्यवस्थित वीरेन्द्रनगर निर्माणमा योगदान पुर्याउने अभियानको उद्देश्य रहेको संघले जनाएको छ।
नगरको स्वच्छता कायम राख्दै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउनसमेत अभियानले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैगरी, चालु आर्थिक वर्षमा वीरेन्द्रनगर नगरपालिका तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयबाट प्रदान गरिएका विभिन्न छुट तथा सहुलियतका साथै आन्तरिक राजस्व कार्यालयबाट उपलब्ध कर छुट तथा सहुलियतसम्बन्धी व्यवस्थाबारे उद्योगी तथा व्यवसायीलाई जानकारी गराइनेछ।
सरकारी निकायबाट उपलब्ध हुने सेवा, सुविधा, छुट तथा सहुलियतका विषयमा कतिपय उद्योगी तथा व्यवसायीलाई पर्याप्त जानकारी नहुन सक्ने भएकाले सम्बन्धित सरोकारवाला निकायसँगको सहकार्यमा घरदैलोमै पुगेर जानकारी तथा सचेतना प्रदान गर्न अभियान सञ्चालन गरिएको हो।
अभियानका क्रममा संघका कार्यसमिति सदस्यहरूले व्यवसायिक स्थलमै पुगेर उद्योगी तथा व्यवसायीको वर्तमान अवस्था, समस्या र चुनौतीबारे प्रत्यक्ष जानकारी लिने तथा समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्नेछन्।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले उद्योगी–व्यवसायीका समस्या तथा आवश्यकतालाई नजिकबाट बुझेर सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि सहजीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो।
आन्तरिक राजस्व कार्यालय, सुर्खेतका प्रमुख कर अधिकृत चक्र ढुंगानाले उद्योगी–व्यवसायीलाई उपलब्ध कर छुट तथा सहुलियतसम्बन्धी जानकारी लक्षित वर्गसम्म पुर्याउन घरदैलोमै पुगेर जानकारी गराउने पहल महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले अभियानलाई प्रभावकारी बनाउन आफ्नो कार्यालयबाट आवश्यक सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सुर्खेत उद्योग वाणिज्य संघले आजदेखि एक महिनासम्म उद्योगी तथा व्यवसायीको घरदैलोमै पुगेर सरसफाइ, व्यवसायिक सचेतना, करसम्बन्धी छुट तथा सहुलियत र व्यवसायीका समस्या तथा चुनौतीबारे जानकारी लिने तथा आवश्यक सहजीकरण गर्ने जनाएको छ।
संघले स्वच्छ व्यवसायिक वातावरण, सचेत व्यवसायी र सबल निजी क्षेत्र निर्माणका लागि घरदैलो अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।






