सहिदको आशीर्वाद लिएर काममा जुटे कर्णालीका नवनियुक्त मन्त्री

सुर्खेत ,११ भदौ।
कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहणलगत्तै सहिद पार्क पुगेर राष्ट्र र जनताको हितका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय कल्याणी खड्का र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय जुम्कित लामाले सहिद पार्कमा रहेको सहिद स्मारकमा माल्यार्पण गर्दै सहिदहरूको त्याग, बलिदान र योगदानप्रति उच्च सम्मान व्यक्त गर्नुभएको हो।
माल्यार्पण तथा श्रद्धाञ्जली अर्पणका क्रममा मन्त्रीद्वयले देशमा राजनीतिक परिवर्तन, लोकतन्त्र र जनअधिकार स्थापनाका लागि सहिदहरूले गरेको बलिदानलाई सधैं स्मरण गर्नुपर्ने बताउनुभएको थियो। उहाँहरूले सहिदहरूको सपना र जनताको अपेक्षालाई आत्मसात् गर्दै आफ्नो नयाँ जिम्मेवारीलाई इमानदारी, निष्ठा र परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।

नवनियुक्त मन्त्रीद्वयले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै प्रदेशको विकास, समृद्धि र जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ।
श्रद्धाञ्जली कार्यक्रमपछि मन्त्रीद्वय सम्बन्धित मन्त्रालयमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ। नयाँ जिम्मेवारीसँगै उद्योग तथा पर्यटन प्रवर्द्धन, वन तथा वातावरण संरक्षण, कृषि क्षेत्रको आधुनिकीकरण, भूमि व्यवस्थापन र प्रदेशको आर्थिक तथा सामाजिक विकासमा प्रभावकारी र परिणाममुखी काम हुने अपेक्षा गरिएको छ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा मिलन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कल्याणी खड्का तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा जुम्कित लामा नियुक्त हुनुभएको हो। नयाँ मन्त्रीहरूको नियुक्तिसँगै मुख्यमन्त्री मंगलबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।





