राष्ट्र बैंक वार्षिकोत्सवमा फुटसल: प्रभु बैंकले जित्यो अन्तर बैंक फुटसलको ट्रफी
सुर्खेत ,१३ बैशाख ।
नेपाल राष्ट्र बैंकको ७१ औं वार्षिकोत्सवको अवसरमा आयोजित पाँचौं अन्तर बैंक फुटसल प्रतियोगिता सम्पन्न भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १२ र १३ गते सञ्चालन भएको उक्त प्रतियोगिताको उपाधि प्रभु बैंक लिमिटेडले हात पारेको छ । वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयले प्रतियोगिताको आयोजना गरेको थियो । नेपाल राष्ट्र बैंकसहित १६ वटा बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता थियो । प्रतियोगिताको रोमाञ्चक फाइनल भिडन्तमा प्रभु बैंक लिमिटेडले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडलाई ३–२ को प्रतिस्पर्धात्मक अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । हारसँगै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक उपविजेतामा सीमित भएको छ ।
यस्तै, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कृत गरिएको थियो, जसमा प्रभु बैंककै वर्चस्व रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रभु बैंकका सुरेन्द्र लामा, सर्वाधिक गोलकर्ता प्रभु बैंककै राज वाल्मिकी र उत्कृष्ट गोलरक्षक दिपक राज विसीलाई पुरस्कृत गरिएको थियो । प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव लीलाप्रसाद शर्माले गरेका थिए । कार्यक्रमको समापन समारोहमा नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयका प्रमुख राजन प्रसाद रेग्मीले विजयी टिम तथा खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । पुरस्कार वितरण गर्दै प्रमुख रेग्मीले खेलकुदले बैंक तथा वित्तीय संस्थाहरूबीच आपसी भाइचारा र सम्बन्ध प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।





