एक वर्षको अवधिमा रोजगारी खोज्दै विदेशिए झण्डै आठ लाख नेपाली

ओम शाही
सुर्खेत, ५ साउन ।
एक वर्षको अवधिमा रोजगारीको खोजीमा झण्डै आठ लाख नेपाली विदेशिएका छन् । गत आर्थिक वर्ष २०८२/०८३ मा एक सय ५१ देशमा रोजगारी गर्न सात लाख ९२ हजार एक सय ८७ जनाले श्रम स्वीकृति लिएका छन् ।
यो अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४७ हजार ७९ हजारले घटेको तथ्यांक हो । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा आठ लाख ३९ हजार दुई सय ६६ जनाले श्रम स्वीकृति लिएका थिए ।
गत वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमा ६ लाख ९७ हजार ९६ पुरुष छन् भने ९५ हजार ९१ महिला रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्षको तुलनामा श्रम स्वीकृति लिने महिलाको संख्या भने झण्डै एक हजारले बढेको छ ।
विभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै दक्ष जनशक्ति छन् । दक्ष श्रमिकका रूपमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेहरूको संख्या मात्रै चार लाख ८२ हजार ६ सय ४३ छ भने एक हजार ९६ जना उच्च सीप भएका व्यक्तिहरूले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।
पछिल्लो समय प्रोफेसनल व्यक्तिहरू पनि विदेशिने क्रम बढेको विभागको तथ्यांकले देखाएको छ । गएको आर्थिक वर्षमा मात्रै तीन हजार पाँच सय ७० जना प्रोफेसनल व्यक्तिहरू विदेशिएका हुन् । श्रम स्वीकृति लिएर विदेशिनेमा अर्धदक्ष श्रमिकहरूको संख्या एक लाख १४ हजार ६ सय १४ छ भने एक लाख ९० हजार दुई सय ६४ जना अदक्ष श्रमिक रहेका छन् ।
यूएई बन्यो रोजगारीको पहिलो गन्तव्य
वैदेशिक रोजगारीमा जानेहरूको पहिलो रोजाइ यूएई बनेको छ । आर्थिक वर्ष २०८२/०८३ मा सबैभन्दा धेरै नेपाली यूएई गएका छन् । विभागको तथ्यांकअनुसार पहिलोपटक जाने र बिदामा आएर फर्किनेसमेतको तथ्यांक जोड्दा एक वर्षको अवधिमा एक लाख ८३ हजार पाँच सय ८० जना यूएई गएका छन् । यूएईपछि मलेसिया र कतार दोस्रो गन्तव्य बनेका छन् ।
यो एक वर्षको अवधिमा मलेसिया जानका लागि एक लाख ३२ हजार ६ सय ४६ जनाले श्रम स्वीकृति लिएका छन् । खाडीको देश कतार जानका लागि पनि एक लाख ३२ हजार ५१ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । त्यस्तै, साउदी अरेबिया जानका लागि एक लाख २४ हजार पाँच सय ८३ छ भने कुवेत जानका लागि ४३ हजार तीन सय ६० जनाले श्रम स्वीकृति लिएका छन् ।
यूएई, कतार, साउदी, मलेसिया र कुवेतपछि युरोपेली देश रोमानिया रोजाइमा परेको तथ्यांकले देखाएको छ । एक वर्षमा ३३ हजार नौ सय २० जनाले रोमानिया जानका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । रोमानियापछि श्रम जापान जानेहरूको संख्या धेरै रहेको छ ।
श्रम स्वीकृति लिएर कामकै लागि एक वर्षमा २२ हजार दुई सय ६६ जना नेपाली जापान गएका छन् । केही वर्षअघिसम्म नेपालबाट रोजगारीमा जानेहरूको प्रमुख गन्तव्य खाडीका ६ देश रहेका थिए । तर, पछिल्लो समय युरोपेली देशहरूले यसको ठाउँ लिन थालेका छन् ।
रोमानियासँगै साइप्रस, क्रोयसिया, टर्की, मसिसस, माल्टा, पोर्चुगल, सर्बिया, बुल्गेरिया, ग्रिस, पोल्यान्ड, अस्ट्रियाजस्ता देशमा जाने नेपालीको संख्या पनि बढ्न थालेको छ । एक वर्षको अवधिमा ११ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् भने क्रोयसिया जानका लागि सात हजार ६ सय ६२ जनाले, टर्की जानका लागि ६ हजार तीन सय ७०, मरिसस जानका लागि ६ हजार तीन सय ३४, टर्कीका लागि ६ हजार एक सय १० जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो संख्या पहिलोपटक विदेश जाने र बिदामा आएर फर्किनेहरूको समेत हो ।
कर्णालीबाट दुई हजार बढीले लिए नयाँ श्रम स्वीकृति
कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि पुस अर्थात ६ महिनाको अवधिमा वैदेशिक रोजगारमा जान दुई हजार एक सय ६६ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार यस अवधिमा पाँच हजार १७ जनाले पुनः श्रम स्वीकृत लिएको देखिन्छ ।
जिल्लागत तथ्यांक अनुसार सबैभन्दा बढी सुर्खेतबाट पाँच सय ६६ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । दोस्रोमा सल्यानबाट पाँच सय ६ जनाले वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिएको देखिन्छ ।
त्यस्तै, रुकुम पश्चिमबाट दुई सय ११, डोल्पाबाट ६९, जुम्लाबाट ९७, मगुबाट ८३, हुम्लाबाट ७१, कालीकोटबाट ९०, जाजरकोटबाट एक सय ४१ दैलेखबाट तीन सय ३२ जनाले गत वर्ष ६ महिनाको अवधिमा नयाँ श्रम स्वीकृति लिएको तथ्यांकले देखाउँछ । तथ्यांक अनुसार कर्णालीबाट गत वर्षको ६ महिनामा कुल १४ हजार ६६ जना वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगारीबाट स्वदेश फर्किने श्रमिकहरु मध्ये अधिकांशले पुनः श्रम स्वीकृति लिने गरेका छन् भने केहीले मात्रै वैदेशिक रोजगारीबाट सिकेको सीपलाई स्वदेशमा उपयोग गरी स्वरोजगार कार्यमा संलग्न रहने गरेको तथ्यांकले देखाउँछ । कर्णालीमा रोजगारीका पर्याप्त अवसर नहुनाले वर्षेनि भरपर्दो आयआर्जनको खोजीको सिलसिलामा विदेशिने कर्णालीवासीको संख्या बढ्दो क्रममा रहेको तथ्यांकले देखाउँछ ।






