सम्पादकीय : अपराधन नियन्त्रणमा चुनौती

सुर्खेतमा जघन्य अपराधसँगै साइबर अपराध पनि तीव्र रूपमा बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांकअनुसार जबरजस्ती करणी, लागूऔषध, बैंकिङ कसुर, ठगी र विद्युतीय माध्यमबाट हुने अपराधमा वृद्धि देखिएको छ । प्रहरीको त्रिवर्षीय तथ्यांकलाई केलाउने हो भने १० वर्ष भन्दाबढी सजाय हुने अपराधको ग्राफ बढ्दै गएको देखिन्छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ मा ०.१४ प्रतिशतले अपराध बढेको अपरा आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/०८३ मा १.१५ प्रतिशतले बढेको देखिन्छ । प्रहरीको तथ्यांक अनुसार जिल्लाभर तीन आर्थिक वर्षको अवधिमा दुई हजार तीन सय तीन जघन्य अपराधका मुद्दा दर्ता भएका छन् । जसमा आर्थिक वर्ष २०८०/०८१ मा आठ सय ३०, आर्थिक वर्ष २०८१/०८२ मा आठ सय २४ र गत आर्थिक वर्ष २०८२/०८३ मा नौ सय ४९ जघन्य अपराध सम्बन्धिका मुद्दा प्रहरी कहाँ आइपुगेका छन् । प्रहरीको तथ्यांकलाई केलाउने हो भने सुर्खेतमा वर्षेनी जबरजस्ती करणी सम्बन्धिका अपराध बढ्दै गएको देखिन्छ । जबरजस्ती करणीपछि ज्यान मार्ने उद्योग सम्बन्धिका अपराध भएकोे देखिन्छ ।
सुर्खेतमा पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले संगठित तथा आर्थिक अपराधका घटना बढ्दै गएका छन् । यो आफैमा डर लाग्दो तथ्यांक हो । पछिल्लो समय प्रविधिमा आएको विकासँगै अपराधका माध्ययम र शैलीहरु पनि परिवर्नत हुँदै गएका छन । प्रहरीको तथ्यांक अनुसार गत वर्ष मात्रै सुर्खेतमा साइबर अपराध सम्बन्धिका सात सय ९१ मुद्दा दर्ता भएका छन् । विद्युतिय माध्ययमबाट दैनिक अपराधका घटनामा बृद्धि भइरहेको छन् । समाजमा एकले अर्कोलाई हानी पुर्याउने कुनै पनि कार्यलाई अपराध मानिन्छ । यस्ता अपराधमा जन्मकैदसम्मका सजाय हुन्छन् । तर, पनि मानिसहरु जघन्य अपराधमा संलग्न भइरहेका छन् । समाजमा कुनै न कुनै कारणले अपराध भइरहेका हुन्छन । यस्ता अपराधलाई रोक्न राज्यले विभिन्न कानुनसमेत निर्माण गरेको हुन्छ । ती कानून कार्यान्वयन गराउन राज्यका प्रहरी लगायतका संरचना संक्रिय छन् । तर, तथ्यांकमा भने अपराध न्यूनिकरणको साटो वर्षेनी बढ्दै जानु गम्भीर सुरक्षा चुनौती हो । अपराध नियन्त्रणमा कडा कानुनी व्यवस्था गरेर मात्र सम्भव हुँदैन ।
कतिपय अवस्थामा मान्छेहरुले अज्ञानताका कारण कानुनको उल्लंघन भइरहेपनि प्रहरीमा दर्ता भएका अधिकांश मुद्दामा देखासिकी र अपराधिक मानसकिता जोडिएको हुन्छ । समाजमा अपराधको प्रवृत्ति एकै खालको हुँदैन । एक व्यक्ति अपराधमा जोडिन उसको घरपरिवार, संगत र समाजको उत्तिकै भूमिका रहन्छ । व्यक्ति, परिवार र समाजबिचको सम्बन्ध बिग्रेमा मान्छेहरु अपराधमा संलग्न हुन्छन् । यसको समयमै पहिचान गरी कानुनी सांक्षरता दिन सकियो भने अपराध न्यूनिकरण गर्न सकिन्छ । हाम्रा कानुन र यसको कार्यान्वयनको अभ्यास हर्ने हो भने कुनै पनि व्यक्ति अपराधमा संलग्न भएको खण्डमा उसलाई पक्राउ गरेर जेल सजाय दिनेमा मात्रै केन्द्रित छन् । समाजमा घट्ने हरेक घटनाको सुक्ष्म विश्लेषण गरेर त्यसको रुट कज पत्ता लगाएर समाधान खोज्ने अभ्यास हामीकहाँ छैन । यसै कारण पनि मान्छेहरु देखासिकीमा गम्भीर अपराधजन्य घटनामा संलग्न हुने गरेका छन् । यसर्थ, अपराध नियन्त्रणमा कडा कानुन मात्र निर्माण गरेर हुँदैन । आमनागरिकलाई सुरक्षित जीवनयापनका क्रममा कोही कसैले एकअर्कालाई हानी पुर्याउने कार्य गरेमा हुनसक्ने दण्ड सजायका बारेमा कानुनी सांक्षरता दिइनु पर्दछ । अर्को महत्वपूर्ण विषय जबसम्म अपराध न्यूनिकरणमा बनाइएका कानुनहरुलाई प्रभावकारी बनाइदैन तबसम्म अपराधमुक्त समाजको परिकल्पना अधुरो रहन्छ ।






