ब्रान्ड बन्यो ‘वाउ जुम्ला’ अचार

गाेल्डेन बुढा
जुम्ला ,५ साउन।
कर्णालीको पहिचान लामो समयसम्म अभाव, बेरोजगारी, पलायन र पछौटेपनको भाष्यले ढाकिरह्यो। राष्ट्रिय बहसमा यो भूगोल प्रायः संकट, गरिबी र अवसरको अभावसँग जोडिएर प्रस्तुत हुँदै आयो। तर, त्यही कर्णालीको जुम्लास्थित चन्दननाथ नगरपालिका–७ महत गाउँबाट अहिले अर्को कथा जन्मिएको छ।आत्मनिर्भरता, महिला नेतृत्व, स्थानीय उत्पादन र उद्यमशीलताको कथा। घरको भान्सामा पाक्ने परम्परागत अचारलाई आधुनिक बजारको ब्रान्डमा रूपान्तरण गर्दै दुई महिलाले कर्णालीको स्वादलाई राष्ट्रिय बजारसम्म पुर्याइरहेका छन्।जयलक्ष्मी चौलागाई (महत) र गोमा रोकाया (महत) ले सञ्चालन गरेको ‘वाउ जुम्ला अचार उद्योग’ अहिले एउटा सानो व्यवसाय मात्र होइन, स्थानीय उत्पादनलाई मूल्य अभिवृद्धि गरेर बजारमा स्थापित गर्न सकिने सम्भावनाको उदाहरण बनेको छ। डोल्पा, मुगु हुँदै काठमाडौंसम्म पुगेको यसको स्वादसँगै जुम्लाको पहिचान पनि फैलिरहेको छ।उनीहरूले अचार मात्र बिक्री गरिरहेका छैनन्। प्रत्येक बट्टासँगै जुम्लाको टिमुर, स्थानीय खुर्सानी, गाउँको श्रम, महिलाको आत्मविश्वास र कर्णालीको मौलिक पहिचान पनि देशका विभिन्न सहरसम्म पुगिरहेको छ।एक महिनामै दुई लाख ९५ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको उद्योगले स्थानीय स्रोतसाधनमै आधारित उद्यम पनि सफल हुन सक्छ भन्ने प्रमाण प्रस्तुत गरेको छ। तर सफलता सँगै अर्को चुनौती पनि थपिएको छ। बजारको माग तीव्र गतिमा बढे पनि उत्पादन क्षमता सीमित भएकाले धेरै ग्राहक रित्तै फर्किन बाध्य छन्।“ग्राहक फर्काउँदा मन दुख्छ,” जयलक्ष्मी भन्छिन्, “मागअनुसार उत्पादन गर्न सकेका छैनौं। धेरै ग्राहकलाई अझै अचार दिन बाँकी छ।”उद्योगमा चिकेन अचार, मटन अचार, भेज अचार र जुम्लाकै टिमुरबाट बनाइएको छोप उत्पादन हुन्छ। चिकेन अचारमा स्थानीय लसुन, अदुवा, खुर्सानी र कुखुराको मासु प्रयोग गरिन्छ भने मटन अचार स्थानीय खसीको मासु, टिमुर, अदुवा र लसुनको मिश्रणबाट तयार हुन्छ। स्थानीय स्वाद, प्राकृतिक मसला र गुणस्तरमा कुनै सम्झौता नगर्ने उनीहरूको दाबी छ।

हाल पाँच सय ग्राम चिकेन अचार ९ सय रुपैयाँ, मटन अचार एक हजार ६ सय ५० रुपैयाँ, भेज अचार २ सय ५० रुपैयाँ र टिमुरको छोप १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ। भात, रोटी वा खाजासँग सजिलै खान मिल्ने, लामो यात्रामा बोक्न सहज हुने र कोशेलीका रूपमा आकर्षक भएकाले यसको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ।सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका–५ मा रहेको बिक्री केन्द्रबाट हालसम्म दुई सय ६० केजीभन्दा बढी चिकेन अचार र ९० केजीभन्दा बढी मटन अचार बिक्री भइसकेको छ। डोल्पा, मुगु र काठमाडौंबाट नियमित अर्डर आइरहेको छ। विशेषगरी स्थानीय खसी, टिमुर र जुम्लाको खुर्सानी प्रयोग गरिएको मटन अचार राजधानीका उपभोक्तामाझ लोकप्रिय बन्दै गएको जयलक्ष्मी बताउँछिन्।यो सफलतामा सामाजिक सञ्जालले निर्णायक भूमिका खेलेको छ। टिकटकमा सार्वजनिक गरिएका छोटा भिडियोहरूले गाउँको एउटा सानो भान्सालाई राष्ट्रिय बजारसँग जोडिदिएको छ। प्रचारका लागि ठूलो लगानी आवश्यक पर्छ भन्ने स्थापित मान्यतालाई उनीहरूको अनुभवले चुनौती दिएको छ।“हामीले राखेका भिडियो हेरेर ग्राहकहरू सीधै पसलमा आउनुहुन्छ। काठमाडौंसम्म अचार पुगेको छ, अहिले अर्डर झन् बढिरहेको छ,” जयलक्ष्मी भन्छिन्।कानुन (एलएलएम) मा स्नातकोत्तर गरेकी जयलक्ष्मीका लागि जागिर रोज्ने बाटो खुला थियो। तर उनले गाउँ नछोड्ने निर्णय गरिन्। उनी रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने सपना बोकेर उद्यममा लागिन्।“जागिर मात्रै गर्नु मेरो उद्देश्य थिएन,” उनी भन्छिन्, “गाउँका महिला दिदीबहिनीलाई सीप सिकाएर व्यवसायमा जोड्ने, आत्मनिर्भर बनाउने र स्थानीय उत्पादनको मूल्य बढाउने सपना छ।”काठमाडौंका होटलमा अत्यधिक पिरो अचार पाइने अनुभवपछि उनले जुम्लाको कम पिरो तर सुगन्धित स्थानीय टिमुर र खुर्सानीलाई राष्ट्रिय बजारमा चिनाउने योजना बनाइन्।“हाम्रो स्थानीय खुर्सानी स्वास्थ्यका हिसाबले पनि राम्रो छ। जुम्लाको स्वादलाई देशभर चिनाउनु नै हाम्रो लक्ष्य हो,” उनी भन्छिन्।विशेष कुरा के छ भने, यो उद्यम कुनै महँगो तालिम वा ठूलो लगानीबाट जन्मिएको होइन। युट्युब र टिकटकबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै दुई महिलाले गाउँको भान्साबाट सुरु गरेको प्रयास आज सफल ब्रान्डमा रूपान्तरण भएको छ। डिजिटल सिकाइ, स्थानीय स्रोत र आत्मविश्वासको संयोजनले ग्रामीण उद्यम पनि राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सक्छ भन्ने सशक्त उदाहरण उनीहरूले प्रस्तुत गरेका छन्।असार–साउनको हरियालीसँगै रारा, पाटन र जुम्लाका पर्यटकीय गन्तव्य पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि ‘वाउ जुम्ला अचार’ लोकप्रिय कोशेली बन्दै गएको छ। यात्रामा सहजै बोक्न मिल्ने र जुम्लाको मौलिक स्वाद बोकेको उत्पादन भएकाले यसको माग थप बढिरहेको व्यवसायीहरू बताउँछन्।

स्थानीय उत्पादन, आधुनिक बजार व्यवस्थापन र डिजिटल प्रचारको सफल संयोजनले ‘वाउ जुम्ला अचार’ लाई अचारको व्यापारभन्दा धेरै माथि पुर्याएको छ। यसले कर्णालीका ग्रामीण महिलाका लागि उद्यम, रोजगारी र आत्मनिर्भरताको नयाँ सम्भावना देखाएको छ।घरको सामान्य भान्साबाट सुरु भएको यो यात्रा आज जुम्लाको स्वादलाई राष्ट्रिय बजारसम्म पुर्याउने अभियान बनेको छ। प्रत्येक बट्टा अचारसँगै स्वाद मात्र होइन, कर्णालीको आत्मविश्वास, महिला नेतृत्वको शक्ति र स्थानीय उत्पादनले पनि देशभर आफ्नो उपस्थितिको घोषणा गरिरहेको छ। यही कारण, ‘वाउ जुम्ला अचार’ अब एउटा उत्पादन मात्र होइन, बदलिँदो कर्णालीको नयाँ परिचय बनेको छ।






