शिक्षासँगै सेवामा पनि अब्बल प्याब्सन कोहलपुर, विपद् राहतमा जुट्यो २१ लाखभन्दा बढी

बाँके ,२४ भदौ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोहलपुर नगर कमिटीले विपद् प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २१ लाख २ हजार ६०२ सहयोग गर्ने भएको छ।
प्याब्सन कोहलपुरमा आबद्ध संस्थागत विद्यालयहरूले संकलन गरेको रु. १३ लाख ७३ हजार ९९२ को चेक बाँके प्याब्सनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी हस्तान्तरण गरिएको हो।

कोहलपुरमा आयोजित कार्यक्रममा प्याब्सन कोहलपुर नगर कमिटीका अध्यक्ष रमेश केसीले उक्त रकमको चेक प्याब्सन बाँकेका जिल्ला अध्यक्ष विकास बज्राचार्यलाई हस्तान्तरण गर्नुभएको हो। कोहलपुर नगर प्याब्सनमा हाल २८ वटा संस्थागत विद्यालय आबद्ध छन्।
यसअघि कोहलपुर प्याब्सनमा आबद्ध २८ विद्यालयमध्ये ६ वटा विद्यालयले प्रत्यक्ष रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ लाख २९ हजार ५०५ जम्मा गरिसकेका छन्। उक्त रकमसमेत जोड्दा कोहलपुर प्याब्सनमा आबद्ध विद्यालयहरूले विपद् राहतका लागि कुल रु. २१ लाख २ हजार ६०२ सहयोग गरेका हुन्।
प्याब्सन कोहलपुरका अध्यक्ष केसीका अनुसार हाल संकलित रकम हस्तान्तरण गरिए पनि बाँकी तीन वटा विद्यालयबाट समेत रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप सहयोग गरिनेछ।

उहाँले निजी विद्यालयहरू शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको भविष्य निर्माणमा मात्रै केन्द्रित नभई सामाजिक उत्तरदायित्व निर्वाहमा समेत उत्तिकै संवेदनशील रहेको बताउनुभयो। प्राकृतिक विपद्का बेला मानवीय सहयोगको आवश्यकता अझ बढी हुने भएकाले संस्थागत विद्यालयहरूले आफ्नो क्षमताअनुसार गरेको सहयोग पीडित नागरिकका लागि महत्वपूर्ण हुने उहाँको भनाइ छ।
प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले कोहलपुर नगर प्याब्सनबाट प्राप्त रकम प्याब्सनको केन्द्रीय खातामा जम्मा गरिने बताउनुभयो। उहाँका अनुसार देशभर प्याब्सनमा आबद्ध करिब ८ हजार संस्थागत विद्यालयबाट संकलन हुने रकमलाई एकीकृत गरी एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
विपद् प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले देशभरका संस्थागत विद्यालयबाट सहयोग रकम संकलन गर्न लागिएको बताउँदै अध्यक्ष बज्राचार्यले शैक्षिक क्षेत्रमा योगदान गर्दै आएको निजी विद्यालय क्षेत्रले विपद्का समयमा सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरिरहेको बताउनुभयो।

उहाँले विपद् प्रभावित नागरिकको पीडामा निजी विद्यालय क्षेत्रले पनि साथ दिनु आफ्नो सामाजिक दायित्व भएको उल्लेख गर्दै सहयोग अभियानमा देशभरका विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकको समेत सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो।
प्याब्सन कोहलपुरले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा समेत सक्रियता देखाउँदै आएको छ। पछिल्लो सहयोगले निजी तथा संस्थागत विद्यालयहरू शिक्षाको क्षेत्रमा मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाहमा समेत अग्रसर रहेको सन्देश दिएको छ।






