सडकको अवस्था बुझ्न कर्णालीमा पूर्वाधार विकास मन्त्री लम्साल

गाेल्डेन बुढा
जुम्ला,३ साउन ।
कर्णालीका सडकको वास्तविक अवस्था कागजी प्रतिवेदनबाट होइन, स्थलमै पुगेर बुझ्ने उद्देश्यसहित पूर्वाधार विकास मन्त्री सुनिल लम्साल आइतबार जुम्ला आइपुगे। बर्खाका कारण पहिरो, हिलो र अवरुद्ध सडकसँगै यात्रा गर्दै उनले कर्णाली राजमार्ग, नाग्म–गमगढी सडक र डोल्पा जोड्ने सडकको स्थलगत अनुगमन गरे। अनुगमनका क्रममा उनले सडक निर्माणको प्रगति, बजेट कार्यान्वयन, स्थानीयको गुनासो र वर्षौंदेखि अलपत्र परेका पूर्वाधार आयोजनाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिए।पर्यटीय जुम्लाको गुठिचौर पाटन पुगेर मन्त्री लम्सालले गोठालासँग भेटघाट गरे। गोठालाहरूले पाटनसम्म पुग्ने सडक पक्की बनाइदिन आग्रह गरेपछि उनले आवश्यक पहल गर्ने आश्वासन दिए। गुठिचौरलाई व्यवस्थित पूर्वाधारसँग जोड्न सके कर्णालीकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो। उनले पर्यटन र पूर्वाधारलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।आजभोलि उक्त पाटनमा हजारौं पर्यटकहरु पुग्छन्।अनुगमनका क्रममा मन्त्री लम्सालले जुम्लामा वर्षौंदेखि निर्माण सम्पन्न हुन नसकेका तथा अलपत्र अवस्थामा रहेका भौतिक संरचनाको समेत प्रत्यक्ष अवलोकन गरे। उनले कर्णालीका सबै जिल्लाका सडक आयोजनाको अवस्था बुझ्न स्थलगत भ्रमणमा निस्किएको स्पष्ट पारे।‘कर्णालीका सबै जिल्लाका सबै सडकको अनुगमन हो। सबै सडकमा बजेट हालेको छ। हामीले हालेको बजेट पुग्यो कि पुगेन, बजेट थप गर्नुपर्छ कि भनेर कर्णालीका जिल्लाहरूमा आइपुगेका छौं,’ मन्त्री लम्सालले भने। उनका अनुसार अहिलेको अनुगमनको उद्देश्य चुनौती पहिचान गर्दै आगामी वर्षका योजना अझ प्रभावकारी बनाउनु हो।जुम्ला भ्रमणका क्रममा मन्त्री लम्सालले यसअघि खारेज भइसकेको संघीय खानेपानी कार्यालय पुनः स्थापना गरिने प्रतिबद्धता पनि जनाए। ‘संघीय खानेपानी कार्यालय आइसक्यो। केही दिनमै काम सुरु हुन्छ,’ उनले भने।२०८१ चैत ११ गते नै निर्णय भएर २०८२ साउन १ गतेबाट जुम्लालगायतका अन्य १५ वटा अस्थायी सङ्घीय खानेपानी कार्यालय नहरने सरकारले निर्णय गरेको थियो। जुम्लासहित साबिक कर्णालीका कालीकोट, मुगु र हुम्ला गरी चार जिल्ला कार्यक्षेत्र रहेको यो कार्यालय जुम्लाबाट खारेज भएको थियोे।बर्खाकै समयमा कर्णाली यात्रा गर्नु उचित निर्णय भएको उल्लेख गर्दै मन्त्री लम्सालले सडकको वास्तविक अवस्था प्रत्यक्ष रूपमा अनुभव गर्न पाएको बताए। ‘बर्खामै आइयो, एकदम ठिक भयो। सडक हेर्दै कर्णालीको सास्ती भोग्दै पुगियो। अब योजना तर्जुमा गर्न सहज हुनेछ,’ उनले भने।जुम्लामा रहँदा उनले आफ्नो मन्त्रालय मातहतका कार्यालयहरूको अवस्था अवलोकन गर्नुका साथै सेवाग्राहीका समस्या पनि सुने। अनुगमन टोलीमा मन्त्री लम्सालसँगै सांसद रमेशकुमार सापकोटा र सुशान्त वैदिक सहभागी थिए।स्थानीयवासीले कर्णाली राजमार्गको स्तरोन्नति गर्न माग गर्दै मन्त्री लम्साललाई स्याउको माला लगाएर स्वागत गरेका थिए। वर्षायाममा निरन्तर पहिरो जाँदा राजमार्ग पटक–पटक अवरुद्ध हुने, त्यसले जुम्लाको मुख्य नगदे बाली स्याउको ढुवानी र निर्यातमा गम्भीर असर पार्ने गरेको भन्दै उनीहरूले दुई लेनको पक्की सडक निर्माण गर्न आग्रह गरे।मन्त्री लम्सालले आइतबार कर्णालीकाे प्रसिद्ध जुम्लाको चन्दननाथ मन्दिर दर्शन गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समेत अवलोकन गरेपछि मुगुतर्फ प्रस्थान गरेका छन्। मन्त्री लम्साल शुक्रबारदेखि कर्णालीका प्रमुख राजमार्गहरूको स्थलगत अनुगमनमा छन्। केही साताअघि मात्रै उनले तीन वर्षभित्र कर्णालीका जिल्ला तथा स्थानीय तह जोड्ने मुख्य सडकलाई डबल लेनमा विस्तार गर्ने घोषणा गरेका थिए। सोही घोषणाको कार्यान्वयन अवस्था बुझ्न उनी सुर्खेतदेखि हुम्लासम्मका सडक आयोजनाको निरीक्षणमा निस्किएका हुन्।उनको भ्रमण कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–दैलेख–कालीकोट सडक खण्डको निरीक्षणबाट सुरु भएको हो।
त्यसपछि कालीकोट हुँदै जुम्ला–कालीकोट सीमास्थित नाग्मसम्म पुगेर नाग्म–गमगढी सडकको निरीक्षण, स्थलमार्गबाट बाजुरा र त्यहाँबाट हवाईमार्ग हुँदै हुम्ला पुगेर सडक आयोजनाको अवस्था बुझ्ने कार्यक्रम तय गरिएको छ।गत असार महिनाकाे ४ गते प्रतिनिधिसभामा मन्त्री लम्सालले कर्णालीका मुख्य सडक तीन वर्षभित्र डबल लेनमा विस्तार गरिने घोषणा गरेका थिए। सडकका खाल्डाखुल्डी अब टालटुले शैलीमा नभई नियमित मर्मत प्रणालीमार्फत व्यवस्थापन गरिने बताएका थिए। सोही प्रतिबद्धताको कार्यान्वयन अवस्था बुझ्न उनी स्थलगत अनुगमनमा निस्किएको बताइएको छ।कर्णालीका अधिकांश सडक अझै पनि जीर्ण अवस्थामै छन्। वर्षायाममा पहिरो र हिउँदमा धुलोका कारण स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। यही कारण कर्णाली राजमार्गलाई लामो समयदेखि ‘मृत्युमार्ग’को संज्ञा दिइँदै आएको जुम्लाको चन्दननाथ नगरपालिका–४ का बालाराम नेपाली बताउँछन्।सुर्खेतदेखि जुम्लासम्म फैलिएको २ सय ३२ किलोमिटर लामो कर्णाली राजमार्गमध्ये १ सय ३२ किलोमिटर सडक डिभिजन कार्यालय सुर्खेत र १ सय किलोमिटर सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्रमा पर्छ।नाग्मदेखि मुगुको सदरमुकाम गमगढीसम्मको ९३ किलोमिटर सडकमा नियमित सवारी सञ्चालन भइरहेको छ। गमगढीदेखि उत्तरी चिनियाँ नाका नाक्चेनाग्लासम्म प्रस्तावित ९३ किलोमिटर सडकमध्ये १८ किलोमिटर ट्र्याक खुलिसकेको छ, भने बाँकी खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ।सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इञ्जिनियर प्रदीप नारायण चौधरीका अनुसार सडकलाई विभिन्न खण्डमा विभाजन गरेर निर्माण प्रक्रिया अघि बढाइएको छ।






