बर्दिया निकुञ्जमा सवारीको कहर :  एक बर्षमै ३५ बन्य जन्तुको मृत्यु, टाइम कार्ड पनि प्रभावहिन

बर्दिया, ३ साउन ।

बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सवारी दुर्घटनाबाट वन्यजन्तु मर्ने क्रम रोकिएको छैन । गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै रम्मापुर चेकपोस्टदेखि चिसापानीसम्मको सडक खण्डमा सवारी साधनको ठक्करबाट ३५ वटा वन्यजन्तुको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार दुर्घटनामा सबैभन्दा बढी १८ वटा चित्तल मारिएका छन् । त्यस्तै पाँच लंगुर, तीन बाँदर र एक चितुवाको पनि सवारी दुर्घटनामा ज्यान गएको छ । यस बाहेक निर बिरालो, जरायो, सुनगोहोरो, रतुवा मृग, खरायो, न्याउरी मुसा, मयुर र जंगली बिरालोलगायत विभिन्न प्रजातिका वन्यजन्तु गरी कुल ३५ वटा वन्यजन्तु सडक दुर्घटनाको सिकार बनेका हुन् ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा पनि यस्तै दुर्घटनामा ३० वटा वन्यजन्तुको मृत्यु भएको थियो। त्यतिबेला १८ वटा चित्तल र एक गैंडाको बच्चासहित विभिन्न प्रजातिका वन्यजन्तु सवारी दुर्घटनामा मारिएका थिए । पछिल्ला दुई वर्षको तथ्यांकले निकुञ्ज क्षेत्रभित्र सडक दुर्घटनाबाट वन्यजन्तुको मृत्यु बढ्दो चिन्ताको विषय बनेको देखिएको छ ।

वन्यजन्तु जोगाउने उद्देश्यले प्रशासनले निकुञ्जभित्र पर्ने महेन्द्र राजमार्गमा टाइम कार्ड प्रणाली लागू गरेको छ । रम्मापुरदेखि शैनबारसम्मको १४ किलोमिटर तथा अम्रेनीदेखि चिसापानीसम्मको १४ किलोमिटर सडक खण्डमा दुईवटा चेकपोस्टमार्फत सवारी साधनलाई निर्धारित समयमा मात्रै आवतजावत गर्न दिइन्छ । यद्यपि सरकारी सवारी, मन्त्री सवार गाडी, एम्बुलेन्स तथा अन्य अत्यावश्यक सेवाका सवारी साधनलाई भने यो व्यवस्था लागू गरिएको छैन ।

टाइम कार्ड प्रणाली लागू भए पनि दुर्घटना भने उल्लेखनीय रूपमा घट्न सकेको छैन । सूचना अधिकारी न्यौपानेका अनुसार अधिकांश दुर्घटना रातिको समयमा हुने गरेका छन् । राती दृश्यता कम हुने, चालकले पर्याप्त सावधानी नअपनाउने तथा केही सवारी साधन तीव्र गतिमा सञ्चालन गर्ने प्रवृत्तिका कारण वन्यजन्तु दुर्घटनामा पर्ने गरेका छन् ।

उनले चालकहरूलाई निकुञ्ज क्षेत्रभित्र विशेष सतर्कताका साथ सवारी चलाउन आग्रह गर्दै वन्यजन्तुको आवतजावत हुने क्षेत्रमा गति नियन्त्रण र नियमको कडाइका साथ पालना गरिनुपर्ने बताए ।

निकुञ्जका पूर्व वार्डेन रमेशकुमार थापाका अनुसार अम्रेनी–चिसापानी सडक खण्ड घना जंगलभित्र पर्ने र वन्यजन्तुको आवतजावत अत्यधिक हुने क्षेत्र भएकाले दुर्घटनाको जोखिम बढी छ । उनका अनुसार वन्यजन्तु प्राकृतिक रूपमा एक जंगलबाट अर्को जंगलतर्फ आवतजावत गर्ने क्रममा सडक पार गर्दा तीव्र गतिका सवारी साधनको ठक्करमा पर्ने गरेका छन् ।

थापाले दीर्घकालीन समाधानका रूपमा यस क्षेत्रमा वन्यजन्तुका लागि अण्डरपास वा ओभरपास निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । यस्ता संरचनाले वन्यजन्तुलाई सुरक्षित रूपमा सडक वारपार गर्न सहयोग पुग्ने र दुर्घटनामा उल्लेख्य कमी आउने उनको विश्वास छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा सडक दुर्घटनाबाट वन्यजन्तु मारिने घटना नयाँ भने होइन । करिब १० वर्षअघि महेन्द्र राजमार्गअन्तर्गत निकुञ्जको कुँवाभार क्षेत्रमा बसको ठक्करबाट एउटा वयस्क पाटे बाघको मृत्यु भएको थियो । त्यसयता पनि चित्तल, बाँदर, लंगुर, गैंडाको बच्चालगायत विभिन्न दुर्लभ वन्यजन्तु सडक दुर्घटनाको सिकार बन्दै आएका छन् ।

पछिल्लो गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा पाटे बाघ, ३६ वटा गैंडा तथा करिब १२० वटा जंगली हात्ती रहेको अनुमान छ । जैविक विविधताले समृद्ध यस निकुञ्जमा दुर्लभ वन्यजन्तुको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।

संरक्षणकर्मीहरूका अनुसार टाइम कार्ड प्रणाली मात्र पर्याप्त नभएकाले चालकमा जनचेतना अभिवृद्धि, कडाइका साथ गति नियन्त्रण, आधुनिक चेतावनी प्रणाली, रातिको निगरानी तथा वन्यजन्तु आवतजावत गर्ने क्षेत्रमा अण्डरपास वा ओभरपास निर्माणजस्ता दीर्घकालीन उपाय तत्काल कार्यान्वयन गर्न आवश्यक छ । अन्यथा, महेन्द्र राजमार्ग वन्यजन्तुका लागि निरन्तर ‘मृत्यु मार्ग’ बन्ने खतरा कायम रहने उनीहरूको चेतावनी छ ।

बर्दिया निकुञ्जमा सवारीको कहर :   एक बर्षमै ३५ बन्य जन्तुको मृत्यु, टाइम कार्ड पनि प्रभावहिन

उल्झन्‌मा मुक्तकमैया पुनःस्थापनाको मुद्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *