दुई दिनमै फेरियो कर्णाली स्वास्थ्य विज्ञान  प्रतिष्ठानको रजिष्ट्रार नियूक्तिको शैक्षिक योग्यता

ओम शाही

सुर्खेत, १ भदौ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जारी भएको दुई दिनमै पदाधिकारी छनौंट तथा सिफारिसमा विवादास्पद निर्णय गरेको छ । प्रतिष्ठानले २७ साउनमा ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी छनांैट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको थियो ।

कार्यविधिमा रजिस्ट्रार पदका लागि मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट चिकित्साशास्त्र वा जनस्वास्थ्य वा जनप्रशासन वा व्यवस्थापन वा स्वास्थ्य विज्ञानको कुनै पनि विषयमा कम्तीमा स्नातकोत्तर तह हासिल गरेको हुनुपर्ने प्रावधान थियो । तर, प्रतिष्ठानले २४ घण्टा बित्न नपाउँदै कार्यविधि संशोधन गरेको छ ।

संशोधित कार्यविधिले रजिस्ट्रार पदका लागि ‘जुनसुकै विषय’मा स्नातकोत्तर गरेका उम्मेदवारहरूलाई पनि आवेदन दिन पाउने गरी बाटो खुला गरेको छ । रजिस्ट्रारका लागि आवश्यक अन्य न्यूनतम योग्यताहरू जस्तैः प्रचलित कानून बमोजिम सम्बन्धित व्यावसायिक परिषद्मा दर्ता, राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको अधिकृत पदमा न्यूनतम पाँच वर्षको अनुभव वा सह–प्राध्यापक वा सोभन्दा माथिल्लो पदमा न्यूनतम दुई वर्ष प्राध्यापन गरेको अनुभव र अन्य नैतिक तथा कानूनी मापदण्डहरू संशोधित कार्यविधिमा भने यथावत राखिएको देखिन्छ ।

प्रतिष्ठानले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८३/०४/२७ मा जारी भई वेवसाईटमा प्रकाशन भएकोमा उक्त कार्यविधिको दफा ७ (क) मा ‘मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट चिकित्साशास्त्र वा जनस्वास्थ्य वा जनप्रशासन वा व्यवस्थापन वा स्वास्थ्य विज्ञानको कुनै पनि विषयमा कम्तीमा स्नातकोत्तर हाँसिल गरेको’ व्यहोरा उल्लेख भएकोमा उक्त बुँदा सच्याईएको ‘मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट कुनै पनि विषयमा कम्तीमा स्नातकोत्तर हाँसिल गरेको’ व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रतिष्ठानले २७ साउनमा पदाधिकारी छनौट तथा सिफारिस कार्यविधि जारी गरेको छ, भने त्यसको भोलिपल्ट (२८ साउन) मा प्रतिष्ठानमा रिक्त पदाधिकारीको पदपूर्तिका लागि सूचना जारी गरेको छ । प्रतिष्ठानले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६८ अन्तर्गत रिक्त रहेका शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशकको पदपूर्ति गर्ने सम्बन्धमा कार्यकारी परिषद्बाट स्वीकृत ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम एक साताभित्र दरखास्त पेश गर्न भनेको छ ।

त्यसको भोलिपल्ट (२९ साउन) मा अन्य पदाधिकारीको शैक्षिक योग्यता साविककै राखेर रजिस्ट्रार पदका लागि मात्रै नयाँ व्यवस्था गरेपछि प्रतिष्ठान विवादमा तानिएको हो । प्रतिष्ठानको निर्णयविरुद्ध नागरिकस्तरबाट व्यापक विरोध भइरहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०६८ बमोजिम प्रतिष्ठानको आर्थिक र कर्मचारी प्रशासन सम्बन्धी कामको रेखदेखको लागि कार्यकारी परिषद्ले बनाएको कार्यविधि बमोजिम सहकुलपतिले रजिस्ट्रारको नियुक्ति गर्ने व्यवस्था छ । प्रतिष्ठानमा रजिस्ट्रार नियूक्तिमा गरिएको यो पहिलो विवादास्पद निर्णय भने होइन ।

यसको सुरुवात तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापाको पालाबाट प्रतिष्ठानमा रजिस्ट्रार नियूक्त गर्दा ‘जुनसुकै विषय’ भएपनि हुनेगरी कार्यविधि संशोधन भएको थियो । यस पटक गरी रजिस्टार नियूक्तिका लागि योग्यता तय गर्न तीन पटक कार्यविधि संशोधन भएको छ ।

२०७३ भदौमा स्वास्थ्यमन्त्री भएका थापाले विश्वराज काफ्लेलाई रजिस्ट्रार बनाउन कार्यविधि संशोधन गराएका थिए । १६ जेठ २०७८ मा काफ्‌लेको पदावधी समाप्त भएपछि प्रतिष्ठानको रजिस्ट्रारमा नृपेन्द्रबहादुर महत नियूक्त भए । उनकै पालामा कार्यविधि संसोधन भएर रजिस्ट्रार छनौंट योग्यताक्रम साविककै बनाइएको थियो ।

कार्यजिम्मेवारीका आधारमा रजिस्ट्रारको योग्यता मिलाउन महतले नै साविककै योग्यताक्रमको व्यवस्था गर्न कार्यविधि संसोधनको प्रस्ताव सिनेटमा लगेका थिए । तर, अहिले पुनः सोही व्यवस्था ब्यूँतिएको हो । महतको कार्यकाल समाप्त भएपछि २०८२ भदौमा प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियूक्त भएका थिए । तर, २३–२४ भदौको जेन–जी आन्दोलनपछि २१ फागुनको निर्वाचनबाट बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले यसअघिका सरकारले नियूक्त गरेका सबै राजनीतिक नियूक्ति खारेज गर्ने निर्णय गर्‍यो ।

सोही बमोजिम सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ जारी गरेपछि प्रतिष्ठानका पदाधिकारीहरु स्वतः पदमुक्त भएका थिए ।  विगतमा स्वास्थ्य प्रतिष्ठानका पदाधिकारी नियूक्ति प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको तजविज चल्ने गरेको अभ्यासले देखाउँछन् ।

प्रतिष्ठानका अन्य पदाधिकारीहरु स्वास्थ्य क्षेत्रकै हुनेभएपनि रजिस्ट्रारमा भने स्वास्थ्य मन्त्रीले आफुअनुकुलका व्यक्तिलाई नियूक्त गर्न कार्यविधि नै संशोधन गरिदिने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी रहेर काम गरिसकेका एक पदाधिकारी बताउँछन् ।

‘रजिस्ट्रारको मुख्य जिम्मेवारी संस्थाको प्रशासनिक र वित्तीय पक्ष हेर्नु हो । त्यसैले, सामान्यतया व्यवस्थापन विषय पढेको र एकाउन्ट, फाइनान्स एवं वित्तीय योजना सम्बन्धी ज्ञान भएको व्यक्ति उपयुक्त मानिन्छ,’ नाम बताउन नचाहने उनी भन्छन्, ‘व्यवस्थापन बाहेक चिकित्सा क्षेत्र पढेको व्यक्ति पनि रजिस्ट्रार हुन सक्छ । यस्तो योग्यता भएको व्यक्तिले चिकित्सा शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित प्राविधिक र प्रशासनिक कुराहरू राम्रोसँग बुझेको हुन्छ ।’ उनका अनुसार सामान्यतया प्रतिष्ठानहरूले रजिस्ट्रारका लागि चिकित्सा शिक्षा वा व्यवस्थापन मध्ये कुनै एक विषयको शैक्षिक पृष्ठभूमि खोज्ने गर्छन ।

‘अहिले कार्यविधिमा संशोधन गरेर ‘जुनसुकै विषय’ पढेको व्यक्ति पनि रजिस्ट्रार पदका लागि योग्य हुने बनाइएको । यसले गर्दा मेजर गणित, अंग्रेजी वा संस्कृत जस्ता विषय पढेका व्यक्तिहरूले पनि यो पदमा नियुक्ति पाउने बाटो खुलेको छ । रजिस्ट्रार जस्तो जिम्मेवार पदका लागि कामको प्रकृतिसँग मेल खाने विशिष्ट शैक्षिक योग्यता तोकिनुको साटो गोजिका मान्छे भर्ना गर्न खोजिनु सुशासनको बर्खिलाप हो,’ उनले भने ।

जुनसुकै विषय पढेको व्यक्ति नियुक्त गर्दा प्रतिष्ठानको गरिमामा आँच आउने र दीर्घकालीन लक्ष्य प्राप्तिमा बाधा पुग्ने उनको तर्क छ । प्रतिष्ठानका पदाधिकारीको पदपूर्तिका लागि विज्ञापन भएको २४ घण्टा बित्न नपाउँदै कार्यविधि संशोधन गरिनु आफु अनुकुलका व्यक्तिलाई ल्याउन खोजिएको तथ्य छर्लङ्ग रहेको उनले बताए ।

उनका अनुसार सरकारको अपनत्वसँग जोड्ने हो भने सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्था एकै हुनुपर्ने हो । तर, अन्यको नफेरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मात्रै पटक–पटक मनलाग्दी कार्यविधि संशोधन गरिनुले सुशासनको नारा दिएर बनेको सरकारका लागि सुहाउँदो नभएको उनको तर्क छ ।

प्रतिष्ठानले रजिस्ट्रार छनौट र सिफारिसमा नयाँ व्यवस्था गरेर दायरा फराकिलो पार्ने प्रयास गरेको दावी गरिरहेको छ । प्रतिष्ठानका एक कर्मचारीका अनुसार सबै क्षेत्रका व्यक्तिहरुलाई अवसर दिने प्रयासस्वरुप प्रतिष्ठानका उपकुलपति डाक्टर सूर्यमान म्याहाङम्बोले कार्यविधि संशोधन गराएका हुन् । यस विषयमा उपकुलपति म्याहाङम्बोले प्रतिक्रिया दिन चाहेनन् । प्रतिक्रिया लिन बारम्बार फोन प्रयास गरिएपनि उनले फोन उठाएनन् ।

दुई दिनमै फेरियो कर्णाली स्वास्थ्य विज्ञान   प्रतिष्ठानको रजिष्ट्रार नियूक्तिको शैक्षिक योग्यता

सम्पादकीय : खेलकुदलाई उपेक्षा कहिलेसम्म ?

दुई दिनमै फेरियो कर्णाली स्वास्थ्य विज्ञान   प्रतिष्ठानको रजिष्ट्रार नियूक्तिको शैक्षिक योग्यता

भन्सार कडाइले सार्थकता पाएकोमा खुशी 

Leave a comment

Your email address will not be published. Required fields are marked *