छायाँनाथ अल्ट्रा रेसकाे उपाधि जुम्लाका धिरबहादुर र सुनमायाले जिते

गाेल्डेन बुढा
जुम्ला ,३ जेठ।
मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोट्र्स फाउन्डेसनको सहकार्यमा आयोजित ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’मा पुरुषतर्फ धिरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम भएका छन्।आइतबार बिहान ६ बजेर ४० मिनेटमा किम्रीबाट सुरु भएको ३३ किलोमिटर दूरीको उक्त प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी कुल ५८ जना धावक सहभागी भएका थिए। धार्मिक तथा पर्यटकीय महत्व बोकेको रेस किम्रीबाट सुरु भई छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर समापन भएको थियो।पुरुषतर्फ धिरबहादुर बुढाले ३ घण्टा ५७ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे।

दलबहादुर कुँवर ४ घण्टा २ मिनेट १० सेकेन्डमा दोस्रो तथा चन्द्रबहादुर रावत ४ घण्टा ५ मिनेटमा तेस्रो भए। त्यसैगरी अर्जुन कुलुङ राई ४ घण्टा २४ मिनेटमा चौथो र रमेश लिम्बु ४ घण्टा ३० मिनेट १० सेकेन्डमा पाँचौँ स्थानमा रहे।गाउँपालिकाका सूचना अधिकारी सोबिन्द्र मल्लका अनुसार महिलातर्फ सुनमाया बुढाले ५ घण्टा २५ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। राममाया बुढा ५ घण्टा २६ मिनेट ४० सेकेन्डमा दोस्रो तथा कल्पना बुढा ५ घण्टा ३५ मिनेट २० सेकेन्डमा तेस्रो भइन्। त्यसैगरी सम्जेदा बुढा ५ घण्टा ४० मिनेट १० सेकेन्डमा चौथो र निर्मला राई ५ घण्टा ४८ मिनेटमा पाँचौँ स्थानमा रहिन्।आयोजकका अनुसार प्रतियोगितामा सहभागीमध्ये २३ जना अन्तर्राष्ट्रिय मापदण्डका खेलाडी थिए। साथै २ जना एलिट, ५ जना इन्टरमिडिएट, ९ जना एड्भान्स तथा ७ जना एक्सप्लोर वर्गका धावकको सहभागिता रहेको थियो।अल नेपाल स्पोट्र्स फाउन्डेसनका संजय अधिकारीका अनुसार नेपालका विभिन्न प्रतिष्ठित दौड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका चर्चित धावकहरूको सहभागिताले प्रतियोगिता थप रोमाञ्चक बनेको थियो।

एभरेस्ट, मञ्जुश्री, चाँगुनारायण, जुम्ला–रारा तथा रारा ट्रेल रनलगायत देश–विदेशका विभिन्न म्याराथनमा विजयी खेलाडीहरू समेत सहभागी भएका थिए। प्रतियोगिताको प्राविधिक सहयोग नेपाल एड्भेन्चर रनिङ महासंघले गरेको थियो।मुख्य अल्ट्रा रेससँगै स्थानीयस्तरमा पाँच किलोमिटर दूरीको ‘फन रन’ पनि सोमबार बिहान सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि अनलाइन तथा अफलाइन दुवै माध्यमबाट दर्ता खुला गरिएको थियो।सोमबार विजेताहरूलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। महिला तथा पुरुषतर्फ प्रथम हुनेले जनही दुई लाख रुपैयाँ, दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ७५ हजार तथा पाँचौँ हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।त्यसैगरी स्थानीय पाँच किलोमिटर ‘फन रन’तर्फ प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले छायाँनाथ क्षेत्रलाई धार्मिक तथा साहसिक खेल पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

यस्ता कार्यक्रमले स्थानीय संस्कृति, प्राकृतिक सम्पदा तथा हिमाली जीवनशैलीलाई विश्वसामु परिचित गराउन मद्दत पुग्ने उनको विश्वास छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले प्रतियोगिताले स्थानीय पर्यटन, होटल व्यवसाय तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए।आयोजकका अनुसार प्रतियोगिताले छायाँनाथ धामको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन समेत यसले सहयोग पुग्ने विश्वास गरिएको छ।






