सम्पादकीय : अब नसरोस दशौँ खेलकुद

पटक–पटक मिति तोकिँदै र स्थगित हुँदै आएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति फेरि तय भएको छ । युवा तथा खेलकुद मन्त्रालयले आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । पाँचौँपटक मिति तोकिएपछि कर्णालीमा खेलकुदको महाकुम्भ हुने आशा फेरि पलाएको छ । तर, विगतको अनुभवले यसपटक पनि तोकिएको मितिमा प्रतियोगिता हुनेमा आश्वस्त भइहाल्ने अवस्था छैन । दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गर्ने निर्णय भएको लामो समय बितिसकेको छ । सुरुमा २०८१ मङ्सिर २ देखि ९ गतेसम्म प्रतियोगिता गर्ने भनियो । पूर्वाधार र तयारी पूरा नभएपछि त्यो मिति कार्यान्वयन भएन । त्यसपछि २०८१ चैत २३ देखि ३०, २०८२ जेठ ३ देखि १० र २०८२ फागुन १ देखि ७ गतेसम्मका मिति तय भए । तर, कुनै पनि मितिमा प्रतियोगिता हुन सकेन । आर्थिक स्रोत, पूर्वाधार, व्यवस्थापकीय तयारी र संघीय तथा प्रदेश सरकारबीचको समन्वय अभाव यसका प्रमुख कारण बने ।
यस्तो अवस्था खेलाडीका लागि झनै पीडादायी छ । प्रतियोगिताको मिति हेरेर लामो समयदेखि अभ्यास गर्ने खेलाडी अन्तिम समयमा प्रतियोगिता स्थगित हुँदा आफ्नो भविष्यको योजना बनाउनसमेत कठिन अवस्थामा पुगेका छन् । खेलाडी प्रवीण क्षेत्रीले प्रतियोगिता नहुँदा विद्यार्थी तथा खेलाडी दुवै मारमा परेको बताएका छन् । त्यसैले यसपटक तोकिएको मिति कुनै हालतमा परिवर्तन हुनुहुँदैन । प्रतियोगिता सफल बनाउन पूर्वाधारको प्रश्न महत्वपूर्ण छ । तर, सबै पूर्वाधार पूर्ण रूपमा नयाँ निर्माण गरेर मात्र प्रतियोगिता गर्नुपर्छ भन्ने सोचले फेरि ढिलाइ निम्त्याउनु हुँदैन । उपलब्ध खेलमैदान, रंगशाला, होटल, होमस्टे तथा अन्य संरचनाको अधिकतम उपयोग गर्दै आवश्यक सुधार गर्न सकिन्छ । सुर्खेतका होटल व्यवसायीले पनि उपलब्ध होटल, रेस्टुरेन्ट र होमस्टेसँग सहकार्य गरेर आवास व्यवस्थापन गर्न सकिने बताएका छन् । यसले सीमित स्रोतका बीच पनि व्यवस्थापन सम्भव रहेको देखाउँछ । दशौँ राष्ट्रिय खेलकुदमा ३१ खेल सञ्चालन गर्ने प्रस्ताव छ । यति ठूलो प्रतियोगिता कर्णालीमा आयोजना हुनु प्रदेशको खेलकुद विकासका लागि महत्वपूर्ण अवसर हो ।
यसले खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धाको अवसर दिनुका साथै कर्णालीको पर्यटन, होटल, यातायात र समग्र आर्थिक गतिविधिलाई पनि चलायमान बनाउन सक्छ । अब संघीय र प्रदेश सरकारबीच दोषारोपण गर्ने समय होइन। प्रतियोगिताका लागि आवश्यक बजेट, पूर्वाधार, खेलस्थल, आवास, यातायात, सुरक्षा र स्वास्थ्य सेवाको स्पष्ट योजना बनाएर जिम्मेवारी बाँडिनुपर्छ । स्थानीय तह र निजी क्षेत्रलाई पनि तयारीमा जोडिनुपर्छ । सम्बन्धित निकायले दैनिक प्रगति समीक्षा गर्दै देखिएका समस्या तत्काल समाधान गर्नुपर्छ । कार्यसम्पादन समितिले यस पटक तोकिएको मितिमै प्रतियोगिता सम्पन्न गर्ने गरी तयारी अघि बढेको जनाएको छ । अब यही प्रतिबद्धता व्यवहारमा देखिनुपर्छ । पाँच पटक मिति तोकिएर पनि आयोजना हुन नसकेको प्रतियोगितालाई पुनः अन्योलमा पारिनु खेलाडी, कर्णाली र समग्र नेपाली खेलकुदप्रतिको अन्याय हुनेछ । त्यसैले मङ्सिर १६ गते उद्घाटन हुने र २७ गते प्रतियोगिता सम्पन्न हुने वातावरण बनाउन सरकारका सबै तहले अन्तिम तयारीलाई युद्धस्तरमा अघि बढाउनुपर्छ । अब दशौँ राष्ट्रिय खेलकुदको अर्को मिति होइन, प्रतियोगिता सम्पन्न भएको खबर सुन्न पाउनुपर्छ ।
सम्पादकीय : अब नसरोस दशौँ खेलकुद

मुख्यमन्त्री आचार्यद्वारा तीजलाई नारी सम्मान र सामाजिक

सम्पादकीय : अब नसरोस दशौँ खेलकुद

रसुवा बाढीको वैज्ञानिक कारण हिम–चट्टान पहिरोपछि बनेको

Leave a comment

Your email address will not be published. Required fields are marked *