ओम शाही
सुर्खेत, २९ भदौ ।
गत १० भदौ २०८३ मा रसुवाबाट त्रिशूली र नारायणी नदी हुँदै आएको विनाशकारी बाढी भीषण मनसुनी वर्षाका कारण नभएको अध्ययनले देखाएको छ । चीनको तिब्बत क्षेत्रमा ठूलो हिम–चट्टान पहिरो खसेपछि बनेको अस्थायी हिमताल फुट्दा त्यसबाट आएको आकस्मिक बहावले भोटेकोशी हुँदै भोटेकोसी नदीमा विनाशकारी बाढी आएको अध्ययनले देखाएको हो ।
जल तथा ऊर्जा विकास आयोगअन्तर्गतको केन्द्रीय जलविज्ञान अनुसन्धान केन्द्रले गरेको अध्ययनअनुसार चीनको तिब्बत क्षेत्रमा पर्ने लेन्डे खोलाको माथिल्लो भागमा ठूलो मात्रामा हिमनदीजन्य मलबे खसेर नदी थुनिएको थियो । त्यसबाट बनेको पानीको जमाव फुटेपछि ठूलो परिमाणमा पानी तलतर्फ बगेको थियो ।
त्यही आकस्मिक बहावले रसुवागढी, स्याफ्रुबेसी, बेत्रावती, गल्छी, मलेखु र मुग्लिन हुँदै देवघाटसम्मको क्षेत्रमा प्रभाव पारेको थियो । देवघाट पुगेपछि उक्त पानी नारायणी नदीमा मिसिएको अध्ययनमा उल्लेख छ । केन्द्रले सार्वजनिक गरेको ‘नेपालमा १० भदौमा उत्पन्न हिमताल विस्फोटजन्य बाढीको विश्लेषण २०२६’ नामक अध्ययनअनुसार देवघाट जलमापन केन्द्रमा सामान्य समयमा हुने बहावभन्दा बाढीका क्रममा निकै ठूलो परिमाणमा पानी बगेको थियो ।
अध्ययनका अनुसार बाढीको उद्गम नेपाल–चीन सीमाभन्दा करिब २२ किलोमिटर माथि थियो । उद्गमस्थलबाट आएको बाढीले अधिकतम एक सय ८८ किलोमिटर प्रतिघण्टासम्मको गति लिएको थियो । अध्ययनले यो बाढी सामान्य मनसुनमा आउने बाढीभन्दा फरक प्रकृतिको रहेको जनाएको छ । हिमाली क्षेत्रमा बढ्दो तापक्रम, पर्माफ्रोस्ट अर्थात् जमिनभित्र जमेर रहेको स्थायी बरफ पग्लिने क्रम र पहाडी भूभाग अस्थिर बन्दै जानुका कारण यस्ता घटनाको जोखिम बढेको अध्ययनको निष्कर्ष छ ।
हिम–चट्टान खस्दा ५.२ म्याग्निच्युडको कम्पन
अध्ययनअनुसार बाढी निम्त्याउने घटना लाङटाङ–लिरुङ हिमाली क्षेत्रमा भएको थियो । समुद्री सतहदेखि करिब पाँच हजार दुई सय मिटरको उचाइमा रहेको ठूलो हिमनदीजन्य मलबेको भाग अचानक खसेको थियो । करिब तीन हजार आठ सय मिटर लामो तथा एक हजार दुई सयदेखि दुई हजार मिटर उचाइको ठूलो भूभाग खस्दा त्यसबाट उत्पन्न शक्तिशाली धक्काले भौगर्भिक कम्पन सिर्जना गरेको अध्ययनले देखाएको छ ।
बिहान ८ बजेर ३७ मिनेटमा ५.२ म्याग्निच्युडको कम्पन रेकर्ड भएको अध्ययनमा उल्लेख छ । सुरुमा अमेरिकी भूगर्भ सर्वेक्षणले उक्त घटनालाई ४.४ म्याग्निच्युडको भूकम्पका रूपमा पहिचान गरेको थियो । तर, थप विश्लेषणपछि उक्त कम्पन ठूलो हिम–चट्टान पहिरो र त्यसबाट उत्पन्न बहावका कारण भएको निष्कर्ष निकालिएको अध्ययनले जनाएको छ । सोही क्षेत्रमा करिब तीन घण्टापछि ४.२ म्याग्निच्युडको अर्को कम्पनसमेत रेकर्ड भएको थियो । यसले उक्त घटना सामान्य भूकम्पभन्दा फरक रहेको देखाएको अध्ययनको निष्कर्ष छ ।
वर्षा कम, बढेको थियो तापक्रम
बाढी आएको समयमा मनसुनी वर्षा औसतभन्दा कम रहेको अध्ययनले देखाएको छ । भूउपग्रह तथा जमिनमा जडान गरिएका मापन केन्द्रबाट प्राप्त तथ्यांकले बाढीको मुख्य कारण वर्षा नभएको देखाएको हो । क्यान्जिङ स्टेसनबाट प्राप्त तथ्यांकअनुसार बाढी उत्पन्न भएको ६ घण्टाको अवधिमा औसत वर्षा १० मिलिमिटर मात्र भएको थियो ।
घटनाको अघिल्लो दिन २७ मिलिमिटर र बाढी आएको दिन १२.६ मिलिमिटर वर्षा भएको थियो । बाढी आउनुअघि २४ घण्टाको अवधिमा भने जम्मा १.५ मिलिमिटर वर्षा भएको अध्ययनमा उल्लेख छ । तर, क्यान्जिङ हिउँ स्टेसनमा २४ अगस्टमा औसत तापक्रम बढेर अधिकतम ११.७८ डिग्री सेल्सियस पुगेको थियो । तापक्रम वृद्धिले हिमनदी पग्लिने क्रम तीव्र बनाएको र त्यसले हिमाली भूभाग अस्थिर बनाउन भूमिका खेलेको हुन सक्ने अध्ययनको अनुमान छ ।
यसकारण बाढीको तत्काल कारण ठूलो हिम–चट्टान पहिरो र त्यसपछि बनेको पानीको ताल फुट्नु भए पनि हिमाली क्षेत्रमा बढ्दो तापक्रम तथा पर्माफ्रोस्ट (कम्तीमा लगातार दुई वर्षसम्म ० डिग्री सेल्सियस वा त्यसभन्दा कम तापक्रममा जमेको अवस्थामा रहने जमिन वा माटोको तह हो) पग्लिने क्रमले दीर्घकालीन जोखिम बढाइरहेको अध्ययनले औँल्याएको छ ।
सात मिनेटमै २२ किलोमिटर पार
१० भदौमा आएको बाढी असाधारण गतिमा बगेको थियो । बाढीको प्रारम्भिक अधिकतम गति एक सय ८८ किलोमिटर प्रतिघण्टा मापन गरिएको अध्ययनमा उल्लेख छ । उद्गमस्थलबाट नेपाल–चीन सीमाको रसुवागढीसम्मको २२ किलोमिटर दूरी बाढीको तरंगले सात मिनेटमै पार गरेको थियो ।
त्यसपछि रसुवागढीदेखि देवघाटसम्मको कुल दुई सय एक किलोमिटर दूरी बाढीले ६ घण्टा ४२ मिनेटमा पार गरेको थियो । यस खण्डमा बाढीको औसत गति ३० किलोमिटर प्रतिघण्टा रहेको अध्ययनमा उल्लेख छ । माथिल्लो क्षेत्रमा नदीको साँघुरो तथा भिरालो भूगोलका कारण बाढी तीव्र गतिमा बगेको थियो । तल्लो क्षेत्रमा नदीको चौडाइ बढ्दै गएपछि भने यसको गति क्रमशः कम भएको अध्ययनले देखाएको छ ।
देवघाटमा दोब्बरभन्दा बढी बहाव
देवघाट जलमापन केन्द्रमा सामान्य अवस्थामा नारायणी नदीको बहाव दुई हजार ६ सय घनमिटर प्रतिसेकेन्ड रहने गरेको छ । तर, बाढीका दिन अपराह्न ४ बजे बहाव बढेर ५ हजार आठ सय ५० घनमिटर प्रतिसेकेन्ड पुगेको थियो । त्यतिबेला देवघाटमा नदीको जलसतह ६.५७ मिटर पुगेको थियो ।
अध्ययनअनुसार दिउँसो २ बजेर १० मिनेटदेखि साँझ ६ बजेसम्म देवघाटबाट ठूलो परिमाणमा पानी बगेको थियो । त्यस क्रममा बगेको कुल पानीमध्ये १९.९६ मिलियन क्युबिक मिटर पानी हिमनदीजन्य मलबेबाट बनेको जमाव फुटेर आएको अतिरिक्त बहाव रहेको अध्ययनले जनाएको छ । यसले बाढीमा सामान्य नदी बहावबाहेक हिमाली क्षेत्रमा अचानक जम्मा भएको ठूलो परिमाणको पानी थपिएको देखाउँछ ।
नौ मिनेटमा ६ लाख जनालाई एसएमएस
अचानक आएको यो बाढीमा परम्परागत वर्षामा आधारित पूर्वसूचना प्रणाली मात्र पर्याप्त नहुने भए पनि सञ्चार प्रविधिको प्रभावकारी प्रयोगले ठूलो जनधनको क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको अध्ययनको निष्कर्ष छ ।
बिहान ९ बजेर ५ मिनेटदेखि ९ बजेर १४ मिनेटसम्मको नौ मिनेटको अवधिमा ६ लाख ७८ हजार दुई सय ९५ जना मोबाइल प्रयोगकर्तालाई बाढीको चेतावनीसहितको एसएमएस पठाइएको थियो । रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलपरासी र चितवनका त्रिशूली तथा नारायणी नदी आसपासका बासिन्दालाई उक्त चेतावनी पठाइएको थियो ।
अध्ययनअनुसार रसुवागढीतर्फ बाढी आएको देखिएको करिब २० मिनेटमै तल्लो नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना दिन सकिएको थियो । अचानक आएको बाढीमा यति छोटो समयमा ठूलो संख्यामा मानिसलाई चेतावनी दिन सकिनुलाई अध्ययनले महत्त्वपूर्ण उपलब्धि मानेको छ ।
बाढीले जलमापन केन्द्र नै बगायो
बाढीको तीव्र वेगका कारण त्रिशूली नदी करिडोरका अधिकांश प्रमुख जलमापन केन्द्र ध्वस्त भएका थिए । रसुवागढी, स्याफ्रुबेसी, लाङटाङ खोला, बेत्रावती, पालाखोला तथा मलेखु–फुर्के जलमापन केन्द्र बाढीले बगाएको अध्ययनमा उल्लेख छ । फुर्के जलमापन केन्द्रसँगै त्यहाँको पुलसमेत बाढीले बगाएको थियो ।
जलमापन केन्द्रहरू नष्ट भएपछि बाढीको समयमा नदीको वास्तविक अवस्था बारे तत्काल तथ्यांक प्राप्त गर्न कठिन भएको अध्ययनले जनाएको छ । यस घटनाले आकस्मिक हिमाली बाढीको जोखिम भएका क्षेत्रमा रहेका जलमापन केन्द्रलाई सामान्य अवस्थामा मात्र सञ्चालन हुने संरचनाका रूपमा नभई ठूला प्राकृतिक विपद् सहन सक्ने गरी निर्माण गर्नुपर्ने आवश्यकता देखाएको छ ।
माथिल्लो क्षेत्रका दुई तालबाट कायमै छ जोखिम
बाढीपछि तिब्बतको लेन्डे खोलाको माथिल्लो क्षेत्रमा दुईवटा अस्थायी ताल बनेको भूउपग्रहबाट खिचिएका तस्बिरले देखाएका छन् । कार्टोसाट–३ र युनोस्याटबाट प्राप्त तस्बिरमा बाढीपछि साँघुरा हिमाली उपत्यकामा विभिन्न उचाइमा दुईवटा अस्थायी ताल बनेको देखिएको अध्ययनमा उल्लेख छ ।
पहिलो ताल छोछेन उपत्यकामा लेन्डे खोला र भोटेकोशीको दोभानभन्दा करिब तीन सय मिटर तल तथा रसुवागढीबाट १५ किलोमिटर माथि बनेको थियो । २८ अगस्टमा उक्त तालको सतह क्षेत्रफल एक लाख ६० हजार वर्गमिटर पुगेको थियो । पछि प्राकृतिक रूपमा पानी बाहिरिएर ताल घटेको थियो । यसले अर्को हिमताल विस्फोटजन्य बाढीको जोखिम घटाएको अध्ययनले जनाएको छ ।
दोस्रो ताल मुख्य हिमनदीजन्य पहिरो खसेको क्षेत्र अर्थात् बाढीको उद्गम क्षेत्रनजिकै रसुवागढीबाट २१ किलोमिटर माथि बनेको थियो । २९ अगस्टमा यसको सतह क्षेत्रफल एक लाख ८० हजार वर्गमिटर पुगेको थियो । ताल लगभग भरिएपछि पानी पुनः भोटेकोशीमा बगेको थियो । अध्ययनले यस्ता अस्थायी ताल भविष्यमा फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः बाढीको जोखिम रहन सक्ने चेतावनी दिएको छ ।
टिमुरेमा सीसीटीभीबाट नदीको निगरानी
बाढीपछि रसुवाको टिमुरेमा नदीको पानीको सतहभन्दा करिब ७० मिटर माथि सीसीटीभी क्यामेरा जडान गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रमा जडान गरिएको उक्त प्रणालीबाट नदीको अवस्था प्रत्यक्ष निगरानी गर्न सकिनेछ ।
२४ घण्टा सञ्चालन हुने उक्त पूर्वसूचना प्रणाली नदीको जलसतह, बहावको गति तथा अन्य अवस्थाको निगरानीका लागि प्रयोग हुनेछ । यसलाई नेपालको २४ घण्टा सञ्चालन हुने बाढी पूर्वानुमान तथा चेतावनी केन्द्रसँग जोडिएको अध्ययनमा उल्लेख छ । यस प्रणालीबाट नदीमा पानीको सतह अचानक बढेको, मलबे बगेको वा नदीको बहावमा असामान्य परिवर्तन भएको अवस्थामा तत्काल जानकारी लिन सकिनेछ ।
भविष्यको जोखिम घटाउन के छन् उपाय ?
अध्ययनले भविष्यमा यस्ता विपद्को जोखिम घटाउन स्वचालित जलमापन केन्द्रलाई थप आधुनिक र विपद् प्रतिरोधी बनाउन सुझाव दिएको छ । नदीको अवस्था परिवर्तनबारे भरपर्दो जानकारी प्राप्त गर्न सीसीटीभी, राडार, भू–स्थानिक प्रविधि र दूरसञ्चार प्रणालीबाट प्राप्त तथ्यांकलाई एकीकृत गर्नुपर्ने अध्ययनको सुझाव छ ।
त्यस्तै, हिमाली क्षेत्रमा बढिरहेको तापक्रम, पर्माफ्रोस्ट पग्लिने अवस्था तथा पहाडी भूभाग अस्थिर हुने कारणबारे थप अध्ययन गर्नुपर्नेमा जोड दिइएको छ । भविष्यमा यस्ता आकस्मिक बाढीको पूर्वानुमान अझ प्रभावकारी बनाउन विभिन्न विषयका विज्ञ संलग्न गराएर बहुविषयगत अनुसन्धान गर्नुपर्ने अध्ययनले जनाएको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको पूर्वतयारी क्षमता बढाउनुपर्ने सुझावसमेत दिइएको छ ।