जुम्लाका गोविन्द : विभेददेखि रंगमञ्चसम्म

गाेल्डेन बुढा

जुम्ला,२८ भदौ।
घरको आँगनमा दाजुभाइ भकुन्डो खेल्थे। खेल्दाखेल्दै भकुन्डो छिमेकीको आँगनमा पुग्थ्यो। अरूका लागि भकुन्डो लिन जानु खेलकै सामान्य हिस्सा थियो। गोविन्द सुनारका लागि भने त्यो सामान्य थिएन। भकुन्डो लिन जाँदा गाली खानुपर्थ्यो, कहिलेकाहीँ कुटाइ पनि खान्थेँ।बालक गोविन्दलाई त्यतिबेला जातीय विभेदको अर्थ थाहा थिएन। तर एउटै घटना पटक–पटक दोहोरिएपछि उनले कारण बुझ्न थाले।आफू दलित भएकै कारण छिमेकीको आँगनमा उनको प्रवेश सहज थिएन।त्यही बाल्यकालीन अनुभवले उनको मनमा प्रश्न जन्मायो। पछि कर्णालीकाे प्रख्यात चन्दननाथ मन्दिरमा भोगेको विभेद र त्यही मन्दिरको मूर्ति आफ्नै हजुरबुबाले बनाएको थाहा पाएपछि प्रश्न झन् गहिरियो।‘जसको हातले मूर्ति बन्यो, त्यही समुदायका मानिसलाई मन्दिरमा किन विभेद गरिन्छ ?’ गोविन्द भन्छन्, ‘यही प्रश्नले मेरो मनमा विद्रोहको चेत पलाउँदै गयो।’आज त्यही प्रश्न उनको सिर्जनाको आधार बनेको छ।गोविन्दको जन्म २०५० साल वैशाख २२ गते तत्कालीन चन्दननाथ गाविस–८, हालको चन्दननाथ नगरपालिका–५ कार्कीबाडामा भएको हो।

उनी डम्बरबहादुर सुनार र कला सुनारका कान्छा छोरा हुन्।उनका बुबा नेपाल प्रहरीका हवल्दार थिए। २०२५ सालमा अवकाश पाएका डम्बरबहादुरको गोविन्द पाँच वर्षको हुँदा दम रोगका कारण निधन भयो। त्यसपछि परिवारको जिम्मेवारी आमा कला सुनारको काँधमा आयो।डम्बरबहादुरका पाँच श्रीमती थिए। ‘ठूली आमाबाट तीन जना दाजु जन्मिए। माइली आमाबाट एक जना दाजु भए। साइली र काइली आमाबाट सन्तान भएनन्। मेरी आमा कान्छी हुन्,’ गोविन्द भन्छन्, ‘अहिले आमा मात्रै हुनुहुन्छ।’गोविन्दको जन्मकथा पनि असामान्य छ। उनलाई जन्म दिनुअघि आमा दाउरा लिन वन गएकी थिइन्। त्यही क्रममा बञ्चरो पेटमा लागेपछि प्रसव व्यथा सुरु भयो। त्यसपछि उनले गोविन्दलाई जन्म दिइन्।जन्ममिति अभिलेख गर्ने चलन व्यवस्थित नभएको समय भएकाले उनको जन्ममिति पछि अनुमानका आधारमा कायम गरिएको थियो। तर गोविन्दका लागि आफ्नो जन्ममितिभन्दा आमाको संघर्ष ठूलो विषय हो।‘आमाले कष्ट नगरेको भए म यहाँसम्म आइपुग्ने थिइनँ,’ उनी भन्छन्, ‘आमाले सन्तानका लागि आफूलाई बिर्सिनुभयो। घामपानी केही भन्नुभएन। आमाको यो ऋण म कहिल्यै तिर्न सक्दिनँ।’खलंगा बजारमा हुर्किएका गोविन्दले आधारभूत बालमन्दिर विद्यालयबाट पढाइ सुरु गरे। त्यसपछि अशोक नमुना आधारभूत विद्यालय हुँदै चन्दननाथ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे।

रत्नचुण्डेश्वर माध्यमिक विद्यालय, बोहोरागाउँबाट प्लस टु पूरा गरेपछि उच्च शिक्षाका लागि काठमाडौं पुगे। पछि राजनीतिशास्त्रमा स्नातकोत्तर गरे।तर उनको मन पढाइसँगै अभिनयतिर पनि तानिँदै थियो।कक्षा ८ मा पढ्दा बीबीसीबाट प्रसारण हुने ‘कथा मिठो सारंगी’ रेडियो नाटक सुन्थे। गाउँमा हुने नाटक हेर्थे। कलाकारले मञ्चमा कथा सुनाएको देख्दा उनलाई पनि अभिनय गर्न मन लाग्थ्यो।‘मैले पनि नाटक गर्न चाहेको थिएँ, तर मौका पाइनँ। दर्शक मात्रै भएँ,’ उनी सम्झन्छन्।जुम्लामा आनन्द अधिकारी र तोरणसिंह कठायतबाट नाटक खेल्न सिके। काठमाडौं पुगेपछि मण्डला नाटकघर हेर्न साथी आशिषले लियो, नाटकमा अभिनय गरेको ‘रसमन’ नाटक हेरेपछि आफूभित्रको कलाकारप्रतिको विश्वास बढ्यो।‘नाटक हेर्दै गर्दा मैले पनि नाटकमा अभिनय गर्न सक्छु भन्ने आँट आयो,’ उनी भन्छन्।वरिष्ठ रंगकर्मी सुनिल पोखरेलसँग काम गर्ने अवसर पाएपछि अभिनयसँगै प्रकाश, संगीत, आवाज र मञ्च व्यवस्थापनका प्राविधिक पक्ष सिके। पर्दाअगाडि देखिनुअघि पर्दापछाडिको संसार बुझे।तीन वर्षको संघर्षपछि सन् २०१७ मा ‘मेटासिड’ नाटकमा अभिनय गर्ने अवसर पाए।तर रंगमञ्चबाट तत्कालै जीविका चल्ने अवस्था थिएन। उनले करिब एक वर्ष कम्पनीमा जागिर गरे। जागिरभन्दा रंगमञ्च नै आफ्नो संसार भएको महसुस भएपछि जागिर छाडे।‘जागिरमा बितेको एक वर्ष एक युगजस्तो लाग्यो,’ उनी भन्छन्, ‘रंगमञ्चमा काम गर्दा वर्ष दिन पनि एक दिनजस्तो लाग्थ्यो।’स्नातक तहको पढाइ सकेपछि जुम्ला फर्किएका गोविन्दले ‘पम्फाफूल’ नाटकमा मुख्य भूमिका पाए। दुई महिनाको रिहर्सलपछि सरकारी कार्यालयको हलमा नाटक मञ्चन भयो। प्राविधिक व्यवस्थापन पनि आफैंले सम्हाले।दर्शकदीर्घामा आमा कला सुनार थिइन्। छोरालाई मञ्चमा देखेपछि उनले दंग पर्दै भनिन्, ‘वा भाउअ, तोइले क्या गरिस्।’आमाको त्यो प्रतिक्रिया गोविन्दका लागि पुरस्कारभन्दा ठूलो थियो।नाटकबाट मात्रै जीविका चलाउन कठिन भएपछि उनले जुम्ला सदरमुकाम खलंगामा सानो क्याफे खोले। त्यहीबीच काठमाडौंबाट ‘चारदुना नौ’ टेलिशृंखलामा काम गर्ने प्रस्ताव आयो। उनले क्याफे बेचेर काठमाडौं जाने निर्णय गरे।कोरोना महामारीकै समयमा काठमाडौं पुगेका उनले नेपाल टेलिभिजनबाट प्रसारण भएको ‘चारदुना नौ’का १० शृंखलामा कर्णालीको पात्रका रूपमा अभिनय गरे।त्यसपछि चलचित्रको ढोका खुल्यो।‘प्रकाश’मा उनले जुम्ली पात्रको भूमिका निभाए। अभिनयसँगै जुम्ली कलाकार खोज्ने, भाषाशैली मिलाउने, स्थान छनोट गर्ने र जुम्ली संस्कृतिबारे निर्माण टिमलाई जानकारी दिने काम पनि गरे। चलचित्र प्रदर्शनपछि उनको अभिनयले चर्चा पायो।त्यसपछि ‘त्रास’, ‘क्राइमफाइन’ र ‘शक्ति’जस्ता अन्तर्राष्ट्रिय वेबसिरिजमा समेत काम गर्ने अवसर पाए।तर पर्दा बदलिँदै गए पनि जातीय विभेदको अनुभव उनको जीवनबाट हटेन।नाटकका क्रममा देशका विभिन्न ठाउँ पुगे। ग्रामीण क्षेत्रको जीवन नजिकबाट देखे। काठमाडौंको रंगमञ्च पनि विभेदबाट पूर्णतः मुक्त नभएको अनुभव गरे।‘तिमी शाही हो ?’ भनेर सोध्ने दर्शक पनि भेटिए।‘म सुनार हुँ भन्थेँ,’ उनी सम्झन्छन्, ‘कोही नाक खुम्चाएर अचम्म मानेजस्तो गर्थे।’गोविन्दको रंगयात्रामा ‘अछेता’ महत्वपूर्ण कृति हो। उनले निर्देशन गरेको यो नाटक काठमाडौंको शिल्पी थिएटरमा मञ्चन भयो।

कर्णालीको दुर्गम गाउँमा बस्ने एक दम्पतीको कथामार्फत ग्रामीण स्वास्थ्य, अन्धविश्वास, गरिबी र जातीय विभेदलाई नाटकले मञ्चमा ल्यायो।‘अछेता’मा कर्णाली पृष्ठभूमि मात्रै होइन, कर्णाली आफैं एउटा पात्रका रूपमा उभिन्छ।गोविन्द कर्णालीको कथा अछेता’मा कर्णाली पृष्ठभूमि मात्रै होइन, कर्णाली आफैं एउटा पात्रका रूपमा उभिन्छ।गोविन्द कर्णालीको कथा बाहिरबाट हेरेर लेख्दैनन्। आफूले भोगेको, देखेको र सुनेको जीवनबाट कथा टिप्छन्।उनको बुझाइमा कर्णालीमा कथा छैन भन्ने होइन। कथा धेरै छन्। मञ्चसम्म पुग्न नसकेका छन्।कर्णालीका भाषा, कला, संस्कृति, पर्यटन, खानपान र जीवनशैलीलाई राष्ट्रिय रंगमञ्चमा ल्याउन राज्यले कलाकार र रंगकर्मीलाई प्रोत्साहन गर्नुपर्ने उनको धारणा छ।कर्णालीका पात्रमा बढी देखिन थाले पनि उनी त्यसैमा सीमित हुन चाहँदैनन्।‘जुम्लाको पात्रमा म बढी राम्रो गर्न सक्छु,’ उनी भन्छन्, ‘तर जुनसुकै भूमिका गर्न सक्छु। मलाई जुम्लाको पात्रमा मात्रै रोज्नु पनि न्यायपूर्ण लाग्दैन।’उनका लागि कलाकारको मूल्यांकन जात र भूगोलबाट होइन, अभिनय क्षमताबाट हुनुपर्छ।अब गोविन्दको सपना काठमाडौंको मञ्चमा मात्रै सीमित छैन। गाउँका कथा गाउँमै मञ्चन गर्ने, स्थानीय कलाकार जन्माउने, कर्णालीको भाषा–संस्कृति र जीवनशैलीलाई मञ्चमा ल्याउने उनको योजना छ।पाँच वर्षको उमेरमा बुबा गुमाएका बालकलाई आमाले अभावबीच हुर्काइन्।

समाजले उनलाई विभेदको चोट दियो। शिक्षाले प्रश्न गर्न सिकायो। रंगमञ्चले त्यही प्रश्न बोल्ने भाषा दियो।भकुन्डो लिन छिमेकीको आँगनमा पुग्दा गाली र कुटाइ खेपेका गोविन्द आज आफ्नै समाजका कथा मञ्चमा सुनाइरहेका छन्।बाल्यकालमा आफूमाथि परेको विभेद उनको कमजोरी बनेन। त्यही पीडा उनको रंगमञ्चको शक्ति बन्यो।अहिले गाेविन्द सुनार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा सदस्य छन्।

जुम्लाका गोविन्द : विभेददेखि रंगमञ्चसम्म

जुम्लाका गोविन्द : विभेददेखि रंगमञ्चसम्म

Leave a comment

Your email address will not be published. Required fields are marked *