होला त कर्णाालीमा १० औँ राष्ट्रिय खेलकुद ?

कुलेन्द्र शाही 
सुर्खेत, २८ भदौ ।
पटक–पटक स्थगित हुँदै आएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति फेरि तोकिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । मन्त्रालयले शुक्रबार जारी गरेको सूचनाअनुसार प्रतियोगिता सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लामा सञ्चालन हुनेछ ।
प्रतियोगिताको मिति पाँचौँपटक तोकिएपछि कर्णालीमा खेलकुदको महाकुम्भ हुने आशा फेरि पलाएको छ । तर, यसअघि पनि पटक–पटक मिति तोकेर प्रतियोगिता हुन नसकेकाले यसपटक तोकिएको मितिमा प्रतियोगिता सञ्चालन हुनेमा भने पूर्ण विश्वास गर्ने अवस्था बनिसकेको छैन । पूर्वाधार, बजेट, व्यवस्थापकीय तयारी र संघीय तथा प्रदेश सरकारबीचको समन्वय यसपटक पनि मुख्य चुनौतीका रूपमा देखिएका छन् ।
मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को १२५ औँ बोर्ड बैठकको सिफारिसका आधारमा प्रतियोगिताको मिति र आयोजना क्षेत्र टुङ्गो लगाएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीप्रसाद भट्टराईले प्रतियोगिताको तयारी तथा व्यवस्थापनका काम अघि बढाउन प्रदेश सरकार, स्थानीय तह र सम्बन्धित सरोकारवालालाई आग्रह गरेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय यसअघि नै भइसकेको थियो ।
गण्डकी प्रदेशमा २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद आयोजना भएको थियो । त्यसपछि दशौँ राष्ट्रिय खेलकुदको आयोजना अधिकार कर्णालीलाई दिइएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले सुरुमा २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने मिति तोकेको थियो । तर, प्रतियोगिता नजिकिँदै जाँदा आवश्यक पूर्वाधार तथा तयारी पूरा नभएपछि उक्त मितिमा खेल हुन सकेन ।
त्यसपछि राखेपको ११८ औँ बोर्ड बैठकले २०८१ चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गर्‍यो । चैतको मिति पनि कार्यान्वयन हुन सकेन । आर्थिक स्रोत, पूर्वाधार तथा व्यवस्थापकीय तयारीका विषयमा समस्या देखिएपछि प्रतियोगिता पुनः अन्योलमा परेको थियो ।
राखेपको १२१ औँ बोर्ड बैठकले फेरी मिति परिवर्तन गर्दै २०८२ जेठ ३ देखि १० गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । तर, उक्त मितिमा पनि प्रतियोगिता सञ्चालन हुन सकेन । २०८२ चैत २९ गते बसेको राखेपको १२२औँ बोर्ड बैठकले तत्कालका लागि प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको थियो । लामो समयसम्म नयाँ मिति नतोकिएको अवस्थामा खेलकुद क्षेत्रमा नयाँ नेतृत्व आएपछि पुनः मिति निर्धारण गरिएको थियो ।
राखेपको १२३ औँ बोर्ड बैठकले २०८२ फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट उक्त मिति स्वीकृत हुन नसकेपछि प्रतियोगिता सञ्चालन हुन सकेन । त्यसपछि राखेपको १२५ औँ बोर्ड बैठकले मङ्सिर १६ देखि २९ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरेको थियो । तर, मन्त्रालयको पछिल्लो निर्णयले प्रतियोगिताको अवधि मङ्सिर १६ देखि २७ गतेसम्म कायम गरेको छ ।
प्रतियोगिता कर्णालीमा आयोजना गर्न पूर्वाधार निर्माण, बजेट व्यवस्थापन र खेलस्थल तयारीका विषयमा लामो समयदेखि प्रश्न उठ्दै आएका छन् । प्रतियोगिता सञ्चालनका लागि आवश्यक खेलमैदान, रंगशाला तथा अन्य भौतिक पूर्वाधार समयमै तयार हुन नसक्दा यसअघि तोकिएका मिति प्रभावित भएका थिए । संघीय सरकार र कर्णाली प्रदेश सरकारबीच प्रतियोगिताको तयारी, बजेट तथा जिम्मेवारीका विषयमा समेत मतभेद देखिँदै आएको थियो ।
प्रदेश सरकारका पूर्वमुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले आवश्यक पूर्वतयारी नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । अन्तरिम सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्तासहितको प्रतिनिधि मण्डलसँगको छलफलमा समेत कँडेलले प्रतियोगिताको मिति मात्र तोक्ने तर तयारी अघि नबढाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका थिए ।
कर्णालीमै प्रतियोगिता आयोजना गर्न प्रदेश सरकार तयार रहेको र सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता उनले जनाएका थिए । कर्णालीमा उद्घाटन गरेर खेलहरू अन्यत्र सञ्चालन गर्ने योजना भए स्वीकार नगर्ने स्पष्ट पार्दै कँडेलले संघीय सरकारकै ढिलासुस्तीका कारण प्रतियोगिताको मिति सर्दै गएको बताएका थिए । हाल कर्णालीमा नेकपाबाट मङ्गलबहादुर शाही मुख्यमन्त्री छन् ।
३१ खेल खेलाउने प्रस्ताव
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०८३ अन्तर्गत कर्णाली प्रदेशमा विभिन्न ३१ खेल सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावित खेलमा एथलेटिक्स, कुस्ती, ब्याडमिन्टन, कबड्डी, बक्सिङ, कराते, बास्केटबल, फुल कन्ट्याक्ट कराते, शारीरिक सुगठन, आईटीएफ तेक्वान्दो, क्रिकेट, टेबल टेनिस, फुटबल, बुद्धिचाल, ह्यान्डबल, हक्की, जुडो, ई–स्पोट्र्स, खो–खो, स्क्वास, रग्बी, सुटिङ, पौडी, साइकलिङ, तेक्वान्दो, टेनिस, भलिबल, आर्चरी, उसु, जिम्न्यास्टिक र भारोत्तोलन रहेका छन् ।
प्रस्तावित खेलमध्ये कबड्डी, बास्केटबल, क्रिकेट, फुटबल, ह्यान्डबल, हक्की, खो–खो, रग्बी र भलिबल महिला तथा पुरुष दुवै विधामा सञ्चालन हुनेछन् । प्रदर्शनी खेलको हकमा भने सह–आयोजक प्रदेशबाट सिफारिस भएबमोजिम उपयुक्त खेललाई समावेश गरिने जनाइएको छ ।
आशवादी छन् खेलाडी
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पटक–पटक स्थगित हुँदा खेलाडीहरूमा निराशा बढेको छ । लामो समयदेखि प्रतियोगिताको तयारी गरिरहेका खेलाडीहरू मिति तोकिएपछि अभ्यासमा जुट्ने र अन्तिम समयमा प्रतियोगिता स्थगित हुँदा समस्यामा पर्ने गरेका छन् ।
कर्णाली प्रदेशमा लामो समयदेखि खेल क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय खेलाडी प्रवीण क्षेत्रीले प्रतियोगिता नहुँदा खेलाडीहरू निकै मारमा परेको बताए । ‘बाहिर पढ्न जाने विद्यार्थीहरू दशौँ राष्ट्रिय खेलकुदका लागि कुरेर बसिरहेका थिए । तर, पटकपटक स्थगित हुँदा उनीहरू न विदेश जान पाए, न १० औँ राष्ट्रिय खेलकुद खेल्न नै पाए,’ उनले भने, ‘यसले गर्दा खेलाडीहरूलाई निकै मार परेको थियो ।’ उनले यस पटक तोकिएको मितिमा प्रतियोगिता हुनुपर्ने बताए ।
मन्त्रालयले नै प्रतियोगिता आयोजना हुने सूचना जारी गरेकाले यसपटक केही विश्वास पलाएको उनको भनाई छ । ‘यसअघि मन्त्रालयले सूचना जारी गर्नुभन्दा अगाडि नै प्रतियोगिता स्थगित हुने गरिएको थियो । तर, यस पटक मन्त्रालयले नै खेल हुने भनेर सूचना जारी गरिसकेपछि केही विश्वास पलाएको छ,’ क्षेत्रीले भने, ‘हामी प्रतियोगिताको मिति कुरेर बसिरहेका छौँ ।’ उनले प्रतियोगिता अब फेरि स्थगित गर्न नहुने धारणा राखे ।
‘आवासको समस्या छैन’
यता होटल व्यवसायीहरूले प्रतियोगिता आयोजना गर्न सुर्खेतमा होटल अभाव हुने धारणा सही नभएको बताएका छन् । प्रतियोगिता हेर्न आउने खेलाडी, प्रशिक्षक तथा पाहुनाका लागि सुर्खेतमा रहेका साना तथा ठूला होटल, रेस्टुरेन्ट र होमस्टेसँग सहकार्य गरेर व्यवस्थापन गर्न सकिने उनीहरूको भनाइ छ ।
होटल व्यवसायी पदमहादुर शाहीले सुर्खेतमा आएका पाहुनालाई बसाउन होटल पर्याप्त रहेको बताए । उनले अहिले उपलब्ध होटलसँग सहकार्य गरेर प्रतियोगिता आयोजना गर्न सकिने धारणा राखे । ‘सुर्खेतमा होटल पर्याप्त होलान् र प्रतियोगिता गरौँला भन्ने हो भने त १० वर्ष लाग्न सक्छ । त्यसैले अहिले जति छन्, यही होटल व्यवसायीसँग सहकार्य गरेर प्रतियोगिता गर्ने हो भने समस्या हुँदैन,’ उनले भने ।
सुर्खेतमा रहेका रेस्टुरेन्ट तथा होमस्टेबाट समेत पाहुनालाई सेवा दिन सकिने उनको भनाइ छ । ‘यहाँका रेस्टुरेन्ट, होमस्टे छन् । आएका पाहुनालाई पर्याप्त हुन्छ,’ उनले भने, ‘सरकारले अब तदारुकता देखाएर व्यवसायीसँग सहकार्य गरेर प्रतियोगिता गर्नुपर्ने हुन्छ ।
प्रतियोगिता भएमा आर्थिक गतिविधि पनि चलायमान हुन्छ ।’ यता, १० औँ राष्ट्रिय खेलकुद कार्यसम्पादन समितिका सचिव फणिन्द्र पौडेलले यसपटक तोकिएकै मितिमा प्रतियोगिता सम्पन्न गर्ने गरी तयारी अघि बढेको बताए । उनले विगतमा मिति सारिँदा खेलाडी र खेलकुद क्षेत्रमै निराशा बढेको स्वीकार गर्दै यस पटक प्रतियोगिता सञ्चालनका लागि काम अघि बढाइएको बताए ।
‘अब रोकिने कारण छैन । तोकिएको मितिमै प्रतियोगिता सम्पन्न गर्ने गरी तयारी अघि बढेको छ,’ पौडेलले भने, ‘हामीले त्यहीअनुसार कामलाई अगाडि बढाएका छौँ ।’ मन्त्रालयले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित सरोकारवालालाई आवश्यक तयारी तथा व्यवस्थापनका काम अघि बढाउन आग्रह गरेको छ ।
होला त कर्णाालीमा १० औँ राष्ट्रिय खेलकुद ?

सम्पादकीय : कहिले सुध्रिन्छ कर्णाली राजमार्गको अवस्था

होला त कर्णाालीमा १० औँ राष्ट्रिय खेलकुद ?

मल चाहिने बेलै अभाव : बाँकेका किसानलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *