अरूका लागि तीजका कपडा सिलाउँदै बित्छ अपाङ्ग महिलाको तीज

बाँके ,२९ भदौ  । 
हरितालिका तीज हिन्दू महिलाहरूको महत्वपूर्ण पर्व हो। तीज भन्नासाथ रातो सारी, चुरा, पोते र नयाँ कपडामा सजिएका महिलाहरू, दर खाने कार्यक्रम, नाचगान र रमाइलोको दृश्य आँखाअघि आउँछ । विवाहित महिलाले पतिको दीर्घायु र सुखद दाम्पत्य जीवनको कामना गर्दै तथा अविवाहित महिलाले इच्छाएको वर प्राप्तिको कामना गर्दै तीज मनाउने परम्परा छ ।
तर, यही तीजको रौनक कोहलपुरका केही अपाङ्ग महिलाहरूको जीवनमा भने फरक अनुभूति बोकेर आउँछ । अरू महिलाहरू नयाँ कपडा लगाएर नाचगानमा रमाइरहँदा उनीहरू भने तिनै महिलाका तीजका कपडा सिलाउँदै दिन बिताउँछन् ।
कोहलपुर–१२ चपरगौडीकी श्यामकली चौधरीका लागि तीज आउनु भनेको अरूका लागि तीजका कपडा सिलाउने व्यस्तता बढ्नु हो। पोलियोको असरका कारण सानै उमेरमा शारीरिक अपाङ्गता भएकी श्यामकलीले जीवनको करिब २५ वर्ष घिस्रिएरै घरायसी काम गर्दै बिताए । आफ्नै लागि केही गर्न नसकेको त्यो अवस्थाबाट अहिले उनी सिलाइ–कटाइको सीपमार्फत आत्मनिर्भर बन्ने प्रयासमा छन् । ह्विलचियरको सहारामा घरायसी कामसँगै सिलाइ–कटाइमा व्यस्त रहनुभएकी श्यामकलीलाई तीजका गीतले भने भावुक बनाउँछन् ।
“एफएम रेडियो सुन्दै कपडा सिलाउँछु । तीजका गीत सुन्दा मन भक्कानिन्छ । के गर्नु, नाच्न–गाउन त सक्दिनँ । आफैँले तीज आएको अनुभव गर्न नपाए पनि दिदीबहिनीका तीजका कपडा सिलाउँदा ‘ए, तीज आएछ’ भन्ने मनमा लाग्छ,” उनले भने । उनका लागि तीज मात्र होइन, अन्य चाडपर्व पनि उस्तै छन् । कामको व्यस्तताबीच पर्व आएको र गएको थाहा नहुने उनी बताउँछन ।
कोहलपुर–५ की लक्ष्मी पोखरेलको अनुभव पनि श्यामकलीको भन्दा फरक छैन । शारीरिक रूपमा अशक्त लक्ष्मीलाई तीजका गीत सुन्दा नाच्न मन लाग्छ । तर, शारीरिक अवस्थाका कारण उनका लागि त्यो चाहना सहजै पूरा हुन सक्दैन । “तीज आएको कि रेडियो सुनेर थाहा हुन्छ, कि दिदीबहिनीका कपडा सिलाउँदा मात्र । नत्र हामीलाई कुनै चाड आए पनि मनमा रौनक छाउँदैन,” लक्ष्मीले भने ।
सुष्मा बिकले पनि शारीरिक अपाङ्गताको अवस्थाका बाबजुद आफ्नै टेलरिङ सेन्टर सञ्चालन गरेर सिलाइ–कटाइको काम गरिरहनुभएको छ । परिवारको दैनिकी चलाउन काम गर्नैपर्ने भएकाले उनलाई तीज, दशैँ, तिहारलगायतका पर्वमा पनि अरूजस्तो रमाउने फुर्सद हुँदैन ।
“काम नगरी घरको खर्च टर्दैन । तीज, दशैँ, तिहार जे आए पनि आफ्नो काम नगरी परिवार चलाउन सक्दिनँ। त्यसैले पर्वको रौनकमा रमाउने मौका कहिल्यै मिल्दैन,” सुष्माले भने । कोहलपुरमा मात्रै ३५० भन्दा बढी शारीरिक रूपमा अशक्त महिला रहेको अपाङ्ग नवजीवन केन्द्रले जनाएको छ । तीमध्ये करिब ३० जना विभिन्न सीपमूलक तालिम लिएर प्रत्यक्ष रोजगारीमा आबद्ध भएका छन् । केन्द्रका अध्यक्ष जगत डाँगीका अनुसार करिब २५ जना अपाङ्ग महिला सिलाइ व्यवसायमा आबद्ध भएर आफूसँगै अरूलाई समेत रोजगारी दिईरहेका छन् ।
सीप सिकेर आत्मनिर्भर बन्ने प्रयास गरिरहेका यी महिलाहरूका लागि भने तीजको अर्थ अझै पनि अरूका लागि कपडा सिलाउनु र त्यसबाट आफ्नो परिवारको आधारभूत आवश्यकता पूरा गर्नुमा सीमित छ ।
भड्किलो बन्दै गएको तीज, झन् टाढिँदै समावेशिता
पछिल्लो समय तीजको मौलिकता हराउँदै गएको गुनासो पनि बढेको छ। पहिले गाउँघरमा महिलाहरू एकै ठाउँमा भेला भएर पारम्परिक तीजका गीत गाउने, नाच्ने र सुख–दुःख साटासाट गर्ने चलन थियो । अहिले भने पार्टी प्यालेस, होटल तथा रेस्टुरेन्टमा हुने महँगा दर कार्यक्रम, आधुनिक गीत–संगीत र भड्किलो प्रस्तुतिले तीजको स्वरूप परिवर्तन हुँदै गएको छ ।
यस्ता कार्यक्रमको बढ्दो खर्च र भौतिक संरचनामा अपाङ्गमैत्री व्यवस्था नहुँदा आर्थिक रूपमा कमजोर तथा शारीरिक अपाङ्गता भएका महिलाहरू अझै पछाडि पर्ने अवस्था देखिन्छ । तीज सबै महिलाको साझा पर्व भए पनि यसको उत्सवमा सबैको समान पहुँच भने हुन सकेको छैन । अपाङ्ग महिलाहरूलाई पनि तीजको रौनकमा सहभागी गराउने हो भने पर्व मनाउने स्थानलाई अपाङ्गमैत्री बनाउनेदेखि आर्थिक तथा सामाजिक सहयोगसम्म आवश्यक देखिन्छ ।
अपाङ्ग महिलामैत्री तीज आवश्यक
अपाङ्ग महिलाहरूलाई तीजको मूलधारमा ल्याउन सबैभन्दा पहिले कार्यक्रमस्थलमा सहज पहुँच सुनिश्चित गर्नुपर्ने देखिन्छ। मन्दिर, सामुदायिक भवन, पार्टी प्यालेस तथा अन्य कार्यक्रमस्थलमा र्‍याम्प, लिफ्ट, अपाङ्गमैत्री शौचालयलगायतका आधारभूत सुविधा उपलब्ध गराउन आवश्यक छ ।
त्यसैगरी स्थानीय तह, सामाजिक संस्था तथा समुदायको सहकार्यमा अपाङ्ग महिलालाई लक्षित गरी समावेशी तीज कार्यक्रम आयोजना गर्न सकिन्छ । उनीहरूलाई दर कार्यक्रममा सहभागी गराउने, नाचगान तथा सांस्कृतिक कार्यक्रममा अवसर दिने र उनीहरूको अनुभव तथा आवाजलाई स्थान दिने हो भने तीज उनीहरूका लागि पनि उत्सव बन्न सक्छ ।
परिवारको साथ र समाजको सकारात्मक सोच पनि उत्तिकै महत्वपूर्ण छ । अपाङ्गता भएका महिलालाई सहयोगको पात्रका रूपमा मात्र नभई समान अधिकार र क्षमता भएका व्यक्तिका रूपमा स्वीकार गर्दै उनीहरूको सहभागिता सुनिश्चित गर्न आवश्यक छ ।
तीजको वास्तविक अर्थ केवल रातो सारी, दर र नाचगानमा सीमित हुनु होइन । समाजका सबै महिला, विशेषगरी अवसर र पहुँचबाट पछाडि परेका अपाङ्ग महिलालाई समेत समान रूपमा सहभागी गराउनु नै तीजको वास्तविक समावेशिता हो ।
अरूका लागि तीजका कपडा सिलाउँदै आफ्नै तीजको अनुभूति गुमाइरहेका श्यामकली, लक्ष्मी र सुष्माजस्ता महिलाको जीवनमा पनि कुनै दिन तीज साँच्चिकै उत्सव बनेर आओस—जहाँ उनीहरू अरूका लागि होइन, आफ्नै खुशीका लागि नाच्न, रमाउन र तीज मनाउन सकून् ।
अरूका लागि तीजका कपडा सिलाउँदै बित्छ अपाङ्ग महिलाको तीज

सानीभेरीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, नौ

अरूका लागि तीजका कपडा सिलाउँदै बित्छ अपाङ्ग महिलाको तीज

हरितालिका तीजमा आज लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

Leave a comment

Your email address will not be published. Required fields are marked *