सल्यानमा जिप दुर्घटना, दुई जनाको मृत्यु

सल्यान ,२७ भदौ ।
सल्यानमा शनिबार बिहान भएको जिप दुर्घटनाका ६ घाइते मध्य २ जनाको मृत्यु भएको छ। थप ४ जना घाइतेलाई थप उपचारका लागि दाङ रिफर गरिएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका-६ का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी-५ की १८ वर्षीया बिपना बुढाथोकीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक पातलीका अनुसार जिल्ला अस्पताल खलंगामा ती दुई जनाको उपचार क्रममा मृत्यु भएको हो । दुर्घटनाका थप चार घाइतेहरूमा चालक त्रिवेणी-५ सिम्खका २४ वर्षीय भुपाल पुन, त्रिवेणी-६ की ४२ वर्षीया लालमती बुढाथोकी, त्रिवेणी-५ का २९ वर्षीय पारस बोहरा र ५० बर्षीय डिल्लीबहादुर वलीलाई थप उपचारका लागि दाङ रिफर गरिएको छ। घाइते मध्य चालक भुपाल पुन र लालमती बुढाथोकीको अवस्था गम्भीर रहेको जिल्ला प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले बताए।



