कर्णाली उत्सव सुरु : विकास, अवसर र नारी नेतृत्वमाथि गहन बहस
सुर्खेत ,२८ चैत ।
कर्णाली क्षेत्रका सम्भावना, अवसर र चुनौतीमाथि बहस तथा पैरवी गर्ने उद्देश्यसहित ‘कुडा कर्णालीका’ अन्तर्गत कर्णाली उत्सव सुरु भएको छ। सातवटा सांगीतिक धुनबाट उद्घाटन गरिएको उत्सवले यस क्षेत्रको पहिचान, विकास र समृद्धिका विविध पक्षलाई उजागर गर्ने लक्ष्य लिएको छ।
विगत सात वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यस कार्यक्रमको यो सातौं संस्करण हो। शनिबारदेखि सुरु भएको उत्सवमा कर्णालीको विकास, आर्थिक समृद्धि, साहित्य, कला, संगीत तथा सामाजिक विषयमा व्यापक छलफल हुने कार्यक्रम संयोजक कमलराज लम्सालले जानकारी दिए।
उद्घाटन सत्रमा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले ‘नारी नेतृत्व’ विषयमा प्रवचन दिँदै इतिहासदेखि वर्तमानसम्मका आन्दोलनमा महिलाले खेलेको भूमिकाको चर्चा गरिन्। उनले राजनीतिक तथा सामाजिक आन्दोलनका हरेक मोर्चामा महिलाको सहभागिताले उनीहरू नेतृत्व गर्न सक्षम रहेको प्रमाणित गरेको बताइन्।
“संविधानले सुनिश्चित गरेको सहभागितालाई अझ अर्थपूर्ण बनाउँदै लैजान आवश्यक छ,” उनले जोड दिइन्।
त्यसैगरी, कर्णालीको आर्थिक विकासमा बैंकिङ क्षेत्रको भूमिकाबारे बोल्दै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले स्थानीय उत्पादन र उद्यमशीलताको विकासमार्फत मात्रै दीर्घकालीन समृद्धि सम्भव हुने बताए। उनले कर्णालीमा अर्गानिक कृषि उत्पादनको उच्च सम्भावना रहेको उल्लेख गर्दै उत्पादन वृद्धि र बजार व्यवस्थापनका लागि ठोस योजना आवश्यक रहेको धारणा राखे।
“भौतिक पूर्वाधार मात्र पर्याप्त हुँदैन, आम्दानी वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित योजना बनाउनुपर्छ,” उनले भने।
कार्यक्रमको प्रारम्भमा विद्वत् प्रवचन दिँदै पत्रकार केशव दाहालले कर्णालीलाई ऐतिहासिक रूपमा पछाडि पारिएको उल्लेख गर्दै यसको क्षतिपूर्ति माग गर्नुपर्ने बताए। उनले कर्णालीलाई केवल विकटता र अभावको दृष्टिले मात्र चित्रण गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै वास्तविक सम्भावनाहरू ओझेलमा परेको बताए।
“काठमाडौँबाट कर्णाली दुर्गम देखिएजस्तै, कर्णालीबाट हेर्दा काठमाडौँ पनि उत्तिकै दुर्गम हुन सक्छ,” उनले व्यंग्यात्मक रूपमा टिप्पणी गरे।
उत्सवअन्तर्गत ‘सुइना कर्णालीका’ विषयमा छलफल, ‘जेनेजीः सडकदेखि सदनसम्म’ शीर्षकमा बहस तथा ‘शक्तिको सोपानः बाँडफाँटदेखि विकाससम्म’ विषयमा अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिनेछन्। साथै, डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले आफ्नो संघर्ष यात्रा प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको छ।
विविध क्षेत्रका विज्ञ, सरोकारवाला र सहभागीकाबीच बहस र अनुभव आदान–प्रदान हुने यो उत्सव सोमबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।





