कर्णाली हाईअल्टिच्युट ट्रेनिङ सेन्टर शिलान्यास

गाेल्डेन बुढा
जुम्ला ,२६ असार।
विश्वकै सबैभन्दा उचाइमा धान फल्ने छुमचौरको छेउ र पातारासी हिमालको काखमा अन्तर्राष्ट्रिय स्तरको कर्णाली हाईअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणको औपचारिक सुरुआत भएको छ। लामो समयदेखि जग्गा विवादका कारण रोकिएको बहुप्रतीक्षित परियोजना अन्ततः शिलान्याससँगै कार्यान्वयन चरणमा प्रवेश गरेको हो।

कुल १ अर्ब ८७ लाख ७६ हजार ३ सय २७ रुपैयाँ ७७ पैसा लागतमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी निर्माण प्रक्रिया अघि बढाइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले बताए। उनका अनुसार प्रारम्भिक चरणअन्तर्गत ३ करोड रुपैयाँ बराबरको ठेक्का प्रक्रिया सम्पन्न भइसकेको छ। सुरुआती निर्माणको जिम्मा दियो एण्ड लक्ष्मी कन्सट्रक्सन प्रा.लि. ले पाएको छ।रारा इन्जिनियरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेडले तयार गरेको डिपिआरअनुसार पातारासीमा आधुनिक रंगशालासहित २१ वटा अत्याधुनिक संरचना निर्माण गरिनेछ।

व्यवस्थापकीय निर्देशक इन्जिनियर प्रवेश आचार्यका अनुसार भलिबल, फुटबल, बास्केटबल, कराते, बक्सिङ, तेक्वान्दो र एथलेटिक्ससहित दुई दर्जनभन्दा बढी खेलका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूर्वाधार विकास गरिनेछ। केन्द्रमा अत्याधुनिक स्विमिङ पुल, लैङ्गिकमैत्री छात्रावास, पाहुनाघर तथा सुरक्षा संरचनासहित पूर्ण स्पोर्ट्स कम्प्लेक्स निर्माण गर्ने योजना छ।शिलान्यास कार्यक्रममा बोल्दै पूर्व समानुपातिक सांसद विनिता कठायतले परियोजनाका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाइन्। पूर्व खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको कार्यकालमा ६ करोड रुपैयाँ बजेट विनियोजन भएको स्मरण गराउँदै उनले आगामी दिनमा पनि यस परियोजनालाई प्राथमिकतामा राखिने बताइन्।जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आचार्यले स्थानीयको सहकार्य र जिल्लाको पहलबाट वर्षौंदेखिको जग्गा विवाद समाधान भएपछि परियोजना अघि बढ्न सफल भएको बताए।

“खेलमैदानको अभावमा पर्याप्त अभ्यास गर्न नपाई प्रतियोगितामा जानुपर्ने बाध्यता अब अन्त्य हुनेछ,” उनले भने, “अब जुम्लामै अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण सम्भव हुनेछ।”पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले यो परियोजनाले पातारासी, छुमचौर र लोठचौरलाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे। उक्त वडा नं. ३ का अध्यक्ष गोविन्द्र बुढाले कठिन परिस्थितिमा यो परियोजना सुरु हुनु स्थानीयका लागि सपना पूरा भएसरह भएको बताए।

स्थानीय युवा धनबहादुर रावतले पातारासीको समृद्धिको आधार बन्ने यस योजनामा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।समुद्री सतहदेखि २ हजार ८ सय ५० मिटर उचाइमा निर्माण हुन लागेको यो केन्द्र विश्वकै सातौँ हाईअल्टिच्युड ट्रेनिङ सेन्टर हुने दाबी गरिएको छ। परियोजनाका लागि पातारासी गाउँपालिका–३ लोठचौरका लाउरो बोहोरा, गोरबहादुर बोहोरा र कुम्भ बोहोराले संयुक्त रूपमा ६ हजार १ सय २० वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराएका छन्।जुम्लाको पातारासी गाउँपालिका–३ लोठचौरमा बहुप्रतीक्षित उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्र निर्माणको औपचारिक सुरुआतसँगै कर्णालीमा अन्तर्राष्ट्रिय स्तरको खेल पूर्वाधार विकासको नयाँ अध्याय सुरु भएको स्थानीयको विश्वास छ।







