सुर्खेत उद्योग वाणिज्य संघमा साना तथा मझौला उद्यम सहायता कक्ष र एकल सेवा केन्द्र उद्घाटन

सुर्खेत ,२६ असार ।

सुर्खेत उद्योग वाणिज्य संघ र वीरेन्द्रनगर नगरपालिकाको लागत साझेदारीमा सञ्चालित व्यवसाय प्रवर्द्धन कार्यक्रम अन्तर्गत स्थापना गरिएको साना तथा मझौला उद्यम सहायता कक्ष (एसएमई सहायता कक्ष) तथा एकल सेवा केन्द्र को उद्घाटन शुक्रबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष श्री हर्षविक्रम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख श्रीमती मोहनमाया ढकाल (भण्डारी)ले सेवा केन्द्रको औपचारिक उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको उत्पादकत्व अभिवृद्धिका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग सम्बन्धी तालिम मा सहभागीहरूले कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी तयार गरेका भिडियोहरू प्रदर्शन गरिएको थियो। साथै, नवस्थापित साना तथा मझौला उद्यम सहायता कक्ष तथा एकल सेवा केन्द्र मार्फत प्रदान गरिने सेवा, उद्देश्य तथा आगामी गतिविधिबारे विस्तृत जानकारी गराइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष श्री हर्षविक्रम खड्काले सहायता कक्षमार्फत उद्यमी तथा व्यवसायीहरूलाई उद्योग तथा व्यवसाय दर्ता प्रक्रियामा सहजीकरण, अनलाइनमार्फत आवेदन भर्ने सेवा, स्थानीय, प्रदेश तथा संघीय सरकारले लिने कर सम्बन्धी परामर्श, व्यवसायिक साक्षरता अभिवृद्धि, उद्यमशीलता प्रवर्द्धन तथा तीव्र विकास कार्यक्रम सञ्चालन तथा नवीन व्यावसायिक अवधारणाहरूलाई व्यवसायमा रूपान्तरण गर्न आवश्यक मार्गदर्शन तथा संरक्षण (इन्क्युबेसन) गरिने जानकारी दिनुभयो।

उहाँले एकल सेवा केन्द्र मार्फत स्थायी लेखा नम्बर (प्यान) दर्ता सहजीकरण, कर विवरण तथा लेखापरीक्षण सम्बन्धी सेवा, निःशुल्क कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहजीकरण, बैंक तथा वित्तीय संस्था र विभिन्न अनुदानदाता निकायका लागि आर्थिक तथा परियोजना प्रस्ताव तयार गर्ने सेवा, साथै भारत लगायत तेस्रो मुलुकमा स्थानीय रूपमा उत्पादित वस्तु निर्यातका लागि आवश्यक उत्पत्तिको प्रमाणपत्र प्राप्त गर्न सहजीकरण लगायतका सम्पूर्ण सेवा एकै स्थानबाट निःशुल्क उपलब्ध गराइने जानकारी दिनुभयो।

प्रमुख अतिथि **नगरप्रमुख श्रीमती मोहनमाया ढकाल (भण्डारी)**ले निजी क्षेत्रबाट सञ्चालन गरिएको यस्तो पहल अत्यन्त प्रशंसनीय रहेको बताउँदै यस्ता कार्यक्रमहरूले व्यवसायीहरूलाई एउटै स्थानबाट सहज रूपमा सेवा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले उद्योग वाणिज्य संघले व्यवसायीहरूको हितका लागि अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्दै यस अभियानलाई निरन्तरता दिन वीरेन्द्रनगर नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो।

उहाँले “निजी क्षेत्र सबल भए मात्र स्थानीय सरकार पनि सबल हुन्छ” भन्ने धारणा व्यक्त गर्दै निजी क्षेत्र र स्थानीय सरकारबीचको सहकार्यले समग्र आर्थिक विकासलाई गति दिने उल्लेख गर्नुभयो। साथै, वीरेन्द्रनगरलाई सुन्दर, हरियाली तथा व्यवस्थित नगरका रूपमा विकास गर्ने अभियानमा उद्योग वाणिज्य संघको महत्वपूर्ण साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।

नगरप्रमुख ढकालले चालु आर्थिक वर्षमा वीरेन्द्रनगर नगरपालिकाले व्यवसायिक करमा केही सहुलियत प्रदान गरेको उल्लेख गर्दै व्यवसायीहरूलाई उक्त सुविधाको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो। उहाँले साना तथा मझौला उद्यम सहायता कक्ष तथा एकल सेवा केन्द्रको अवधारणा अत्यन्त प्रभावकारी रहेको बताउँदै अन्य स्थानीय तहहरूले समेत यस्ता सेवा केन्द्र सञ्चालन गर्न सके स्थानीय राजस्व वृद्धि, उद्यमशीलता विकास तथा व्यवसायिक वातावरण सुधारमा उल्लेखनीय योगदान पुग्ने धारणा राख्नुभयो।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख श्री नीलकण्ठ खनाल, विभिन्न वडा अध्यक्षहरू, सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरू, वस्तुगत समितिका पदाधिकारी, उद्योगी–व्यवसायीहरू तथा सेवा केन्द्रबाट प्रत्यक्ष लाभ प्राप्त गरेका उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको समापन गर्दै आयोजकले साना तथा मझौला उद्यम सहायता कक्ष तथा एकल सेवा केन्द्रमार्फत उद्यमी तथा व्यवसायीहरूलाई आवश्यक सरकारी तथा गैरसरकारी सेवा, व्यवसाय विकास परामर्श, दर्ता तथा कर सम्बन्धी सहजीकरण, परियोजना निर्माण, निर्यात सहजीकरण लगायतका सेवा एकै स्थानबाट निःशुल्क उपलब्ध गराई स्थानीय उद्यमशीलता, रोजगारी सिर्जना तथा आर्थिक विकासलाई थप सुदृढ बनाइने विश्वास व्यक्त गरेको छ।

सुर्खेत उद्योग वाणिज्य संघमा साना तथा मझौला उद्यम सहायता कक्ष र एकल सेवा केन्द्र उद्घाटन

कर्णाली हाईअल्टिच्युट ट्रेनिङ सेन्टर शिलान्यास

Leave a comment

Your email address will not be published. Required fields are marked *