औद्योगिक सुरक्षामाका लागि द्रुत प्रतिकार्य संयन्त्र गठन

काठमाडौँ, २४ वैशाख ।
औद्योगिक तथा व्यावसायिक क्षेत्रमा सुरक्षा सुदृढ गर्ने उद्देश्यले सरकारले देशभरका सबै जिल्लामा द्रुत प्रतिकार्य संयन्त्र गठन गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर गरी प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सात सदस्यीय उक्त संयन्त्र गठन गर्न निर्देशन दिएको हो ।
उद्योग व्यवसायमा आइपर्नसक्ने तत्कालीन सुरक्षा चुनौतीलाई छिटो सम्बोधन गर्ने उद्देश्यले यस्तो संयन्त्र तयार तयार पारिएको गृह मन्त्रालयका प्रवक्ता, सहसचिव आनन्द काफ्लेले जानकारी दिए । यस्तो संयन्त्रलाई औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा हुने सम्भावित सुरक्षा जोखिम, बन्द–हड्ताल, तोडफोड, लुटपाट जस्ता घटनामा तुरुन्त प्रतिकार्यमा खटिने गरी पूर्वतयारी अवस्थामा राखिने छ ।
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले वैशाख १४ गते संयन्त्रको अवधारणा स्वीकृत गरेसँगै यसको कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो । गत चैत १३ गतेको मन्त्रीपरिषद् बैठकले पारित गरेको शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूचीअनुसार यो संयन्त्र गठन गर्ने उल्लेख छ ।
सोही अनुसार गृह मन्त्रालयले संयन्त्रमा जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि तथा निजी क्षेत्रका अध्यक्ष वा उनका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ, जसले संयन्त्रको दैनिक समन्वय र सञ्चालनमा मुख्य भूमिका निर्वाह गर्ने जनाइएको छ । यसका लागि संयन्त्रलाई जिल्लाभर रहेका उद्योग तथा कलकारखानाको विवरण संकलन, जोखिम पहिचान तथा सुरक्षा रणनीति कार्यान्वयन गर्ने कार्यादेश दिइएको छ ।
त्यसैगरी, जिल्लास्थित आपत्कालीन सञ्चालन केन्द्रमार्फत औद्योगिक सुरक्षा हटलाइन चौबीसै घण्टा सञ्चालनमा ल्याइनेछ । कुनै पनि आपत्कालीन घटनाको सूचना तत्काल प्राप्त गरी सम्बन्धित निकायबीच समन्वय गरेर छिटो प्रतिक्रिया दिने प्रणाली विकास गरिनेछ ।
सरकारले आपूर्ति प्रणालीलाई अवरोध नपुगोस् भन्ने उद्देश्यले प्रमुख राजमार्ग तथा रणनीतिक मार्गहरूमा नियमित सुरक्षा गस्ती परिचालन गर्ने योजना पनि अघि सारेको छ । साथै, आन्दोलनका क्रममा व्यावसायिक प्रतिष्ठानबाट लुटिएका सामग्री फिर्ता गराउन देशव्यापी विशेष खोज तथा नियन्त्रण अभियान सञ्चालन गर्न गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिएको छ । सरकारको यो कदमले औद्योगिक क्षेत्रप्रति विश्वास बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा व्यवसायीको सुरक्षाबोध सुदृढ गर्ने अपेक्षा गरिएको छ ।






