कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्र अझ सशक्त बन्ने विश्वास

सुर्खेत, २४ चैत ।
सुर्खेत उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवौँ प्रदेश सभाबाट आगामी कार्यकालका लागि निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।

संघका अध्यक्ष हर्षविक्रम खड्का र महासचिव रामप्रसाद जैसी (राजु) द्वारा जारी शुभकामना सन्देशमा कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिएको छ। नवनिर्वाचित कार्यसमिति अनुभवी, सक्षम र नेतृत्वदायी भएको जनाउँदै संघले आगामी दिनमा निजी क्षेत्रले भोग्दै आएका समस्या समाधान, विद्यमान चुनौतीहरूको सम्बोधन तथा व्यवसायीहरूको हकहित संरक्षणमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
संघले नयाँ नेतृत्वले निजी क्षेत्रको आवाज अझ बुलन्द बनाउँदै व्यवसायीहरूको हितका लागि पैरवी गर्ने र समग्र प्रदेशको आर्थिक उन्नतिमा टेवा पुर्याउने अपेक्षा राखेको छ।

नवगठित कार्यसमितिमा अध्यक्षमा धनबहादुर रावत, उपाध्यक्षहरूमा कुलबहादुर बिक, सुधन श्रेष्ठ र प्रेमबहादुर भण्डारी रहेका छन् भने कोषाध्यक्षमा कमल नेपाल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा राजेन्द्रबहादुर भण्डारी, लक्ष्मी कार्की प्रधान (सिया), सरीता रावल, कुमार प्याकुरेल, पवित्रा खड्का, दिपेन्द्रबहादुर खड्का र सुन्दर शाही रहेका छन्।
सुर्खेत उद्योग वाणिज्य संघले नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कर्णाली प्रदेशको दिगो आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।






