चपाई–चापागाईं समुदायको एकता सुदृढ गर्न नयाँ कार्यसमिति गठन

सुर्खेत, २३ जेठ ।
चपाई–चापागाईं समुदायबीच आपसी एकता, सहकार्य र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित चपाई–चापागाईं एकता समाज नेपाल को प्रथम साधारण सभा तथा नयाँ कार्यसमिति गठन कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ।
समाजका सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागितामा सम्पन्न साधारण सभामा संस्थागत विकास, समुदायको साझा हित, सामाजिक सहकार्य तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सहभागीहरूले देशका विभिन्न स्थानमा बसोबास गर्ने चपाई–चापागाईं समुदायबीच आपसी सद्भाव, सहयोग र एकतालाई सुदृढ बनाउन समाजले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
साधारण सभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा उमालाल चपाईं, उपाध्यक्षमा दुर्गा चपाईं, सचिवमा डिल्लीराम चपाईं, कोषाध्यक्षमा यादवप्रसाद चपाईं तथा सहसचिवमा गणेशप्रसाद चपाईं चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा शान्ता पौडेल चपाई, हरिमाया चपाई, निलकण्ठ चपाई, उत्तम चपाई, रोशन चपाई र मोतिप्रसाद चपाई चयन भएका छन्।
कार्यक्रममा वक्ताहरूले समाजमार्फत सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिहरू सञ्चालन गरी समुदायका आवश्यकता र हितका पक्षमा प्रभावकारी ढंगले काम गर्नुपर्नेमा जोड दिएका थिए। साथै, भावी पुस्तालाई समुदायको इतिहास, संस्कृति र पहिचानसँग जोड्ने अभियानलाई पनि प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरिएको थियो।
नवनिर्वाचित अध्यक्ष उमालाल चपाईंले आफूलाई नेतृत्वको जिम्मेवारी प्रदान गरेकोमा सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै समाजलाई सबैको साझा संस्था बनाउने प्रतिबद्धता जनाए। उनले समुदायका सदस्यहरूको सक्रिय सहभागितासहित समाजलाई थप सक्रिय, प्रभावकारी र उदाहरणीय संस्थाका रूपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे।






