वातावरण दिवसको अवसरमा बाँकेमा सचेतनामुलक सडक नाटक

बाँके ,२३ जेठ ।
बिश्व वातावरण दिवसको अवसर पारेर बास नेपालको आयोजनामा बाँकेका विभिन्न स्थानमा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।वातावरण संरक्षण, फोहोर व्यवस्थापन, प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगबाट हुने नकारात्मक असर, जलवायु परिवर्तन तथा मानव जीवनमा वातावरणीय संकटले पार्ने प्रभावबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त सडक नाटक प्रदर्शन गरिएको हो ।

कोहलपुर नगरपालिकाको समन्वयमा कोहलपुर बजार क्षेत्रमा तथा डिभिजन वन कार्यालय बाँकेको सहयोगमा नेपालगञ्जस्थित मंगल प्रसाद नमुना माध्यमिक विद्यालय र महेन्द्र पार्कमा नाटक प्रस्तुत गरिएको बास नेपालले जनाएको छ । नाटकमार्फत बढ्दो प्लास्टिक प्रदूषण, अव्यवस्थित फोहोर व्यवस्थापन, वन विनाश, जलवायु परिवर्तनका कारण देखिएका असर तथा वातावरण संरक्षणमा नागरिकको भूमिका जस्ता विषयलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो । कलाकारहरूले मनोरञ्जनात्मक शैलीमा वातावरणीय चुनौती र त्यसको समाधानका उपायहरू प्रस्तुत गर्दै वातावरण जोगाउने जिम्मेवारी सबैको साझा दायित्व भएको सन्देश दिएका थिए ।

सडक नाटकमा मन भण्डारी, माधव कार्की, शोभा भण्डारी, राष्ट्री बुढा, लोकबहादुर घर्ती, सुमिता कुमाल तथा शोभा चौधरीले अभिनय गरेका थिए । कलाकारहरूको प्रभावकारी प्रस्तुतीले दर्शकहरूको ध्यान आकर्षित गरेको थियो ।

प्रस्तुत नाटक ६ सयभन्दा बढी विद्यार्थी, युवा, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले अवलोकन गरेका थिए । नाटकपछि सहभागीहरूबीच वातावरण संरक्षणका लागि अपनाउन सकिने व्यवहारिक उपायहरूबारे समेत छलफल गरिएको थियो । सडक नाटकमा डिभिजन वन कार्यालय बाँकेका वन अधिकृत सुशील सुवेदी, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्मा,निर्देशक हेमराज भट्ट, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, कोलपुर नगरपालिकाका नगरप्रहरी प्रमूख तथा बाताबरण प्रमुख बिर बहादुर थापा लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले वातावरण संरक्षणका लागि सरकारी निकाय, स्थानीय तह, विद्यालय, समुदाय तथा नागरिक समाज सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै वातावरणीय चुनौतीहरूको सामना गर्न सामूहिक प्रयास अपरिहार्य रहेको बताएका थिए । विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको उक्त सडक नाटकले वातावरण संरक्षणप्रति नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै वातावरणमैत्री व्यवहार अपनाउन प्रेरित गरेको सहभागिहरुले बताएका थिए ।

वातावरण दिवसको अवसरमा बाँकेमा सचेतनामुलक सडक नाटक

‘लिटिल डक्टर्स’ कार्यक्रम  सञ्चालन गर्दै कर्णाली सरकार

वातावरण दिवसको अवसरमा बाँकेमा सचेतनामुलक सडक नाटक

कनकासुन्दरी माविमा मध्यराति तोडफोड र आगजनीको प्रयास,

Leave a comment

Your email address will not be published. Required fields are marked *