‘लिटिल डक्टर्स’ कार्यक्रम  सञ्चालन गर्दै कर्णाली सरकार

सुर्खेत, २३ जेठ । 

कर्णाली प्रदेश सरकारले विद्यालय तहका विद्यार्थीलाई स्वास्थ्य सचेतनाको अग्रदूतका रूपमा विकास गर्ने उद्देश्यसहित ‘लिटिल डाक्टर्स’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उक्त कार्यक्र समावेश गरिएको हो । 

‘लिटिल डक्टर्स’ कार्यक्रममार्फत विद्यार्थीलाई विद्यालय र समुदायस्तरमा स्वास्थ्य प्रवद्र्धनको अभियानमा परिचालन गरिनेछ । प्रदेशसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुख्यमन्त्री यामलाल कँडेलले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न विद्यालयस्तरका विद्यार्थीलाई ‘हेल्थ एम्बेस्डर’ का रुपमा विकास गर्ने लक्ष्यसहित लिटिल डाक्टर्स कार्यक्रम सञ्चालन गरिने घोषणा गरेका हुन् ।

कार्यक्रममा व्यक्तिगत सरसफाइ तथा स्वच्छता, पोषण, जीवनशैली तथा नसर्ने रोग, सरुवा रोग तथा एन्टिमाइक्रोबियल प्रतिरोध, प्राथमिक उपचार तथा सुरक्षा, मानसिक स्वास्थ्य र नेतृत्व विकासलगायत विषयमा प्रशिक्षण दिइनेछ । कार्यक्रममा सहपाठी–सहपाठी सिकाइ (पियर–टु–पियर लर्निङ), व्यवहारिक अभ्यास, भूमिकानिर्वाह (रोल–प्ले), अभिलेखीकरण तथा अनुगमनलाई मुख्य सिकाइ विधिका रूपमा प्रयोग गरिनेछ । 

पाठ्यक्रममा आधारित तीन महिनाको प्रशिक्षणपछि विद्यार्थीहरूले बाँकी नौ महिनासम्म समूहगत रूपमा स्वास्थ्य प्रवद्र्धनसम्बन्धी गतिविधि सञ्चालन गर्नेछन् । प्रत्येक स्वास्थ्य क्लबमा १५ देखि २० जना विद्यार्थी सहभागी हुनेछन् । बालबालिकामा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न तथा सहपाठी सिकाइलाई प्रभावकारी बनाउन यो कार्यक्रम उपयुक्त हुने अपेक्षा गरिएको छ । 

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वास्थ्यसम्बन्धी ज्ञान, सीप र नेतृत्व क्षमता प्रदान गर्दै ‘हेल्थ एम्बेस्डर’का रुपमा विकास गर्ने उद्देश्यले कार्यक्रमको नाम ‘लिटिल डाक्टर्स’ राखिएको हो । यस कार्यक्रमले विद्यार्थी, परिवार तथा समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा सहभागी विद्यार्थीलाई चरणबद्ध रुपमा प्रशिक्षण दिइनेछ । उनीहरूले सिकेका ज्ञान र सीपलाई विद्यालयभित्र समूहगत गतिविधि, जनचेतनामूलक अभियान, व्यवहारिक अभ्यास तथा सहपाठी शिक्षण (पियर लर्निङ) मार्फत अन्य विद्यार्थीसम्म पुर्‍याउनेछन् । यसले विद्यालय तहमा स्वास्थ्यसम्बन्धी सकारात्मक संस्कार विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

कर्णाली प्रदेश सरकारले स्वास्थ्य प्रवद्र्धनलाई उपचार केन्द्रित सेवाभन्दा माथि उठाएर समुदाय र विद्यालयसम्म विस्तार गर्ने रणनीतिअन्तर्गत यो कार्यक्रम अघि सारेको हो । प्रदेश सरकारका अनुसार विद्यालयलाई स्वास्थ्य शिक्षा र व्यवहार परिवर्तनको केन्द्रका रूपमा विकास गर्दै दीर्घकालीन रूपमा स्वस्थ, सचेत र जिम्मेवार नागरिक उत्पादन गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । विशेषगरी दुर्गम बस्तीमा स्वास्थ्य जनशक्तिको पहुँच सीमित रहेको अवस्थामा विद्यार्थीमार्फत समुदायसम्म स्वास्थ्य शिक्षा पुर्‍याउने यो कार्यक्रम सफल भए कर्णालीमा बालबालिका तथा किशोरकिशोरीको स्वास्थ्य व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

‘लिटिल डक्टर्स’ कार्यक्रम   सञ्चालन गर्दै कर्णाली सरकार

तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती

‘लिटिल डक्टर्स’ कार्यक्रम   सञ्चालन गर्दै कर्णाली सरकार

वातावरण दिवसको अवसरमा बाँकेमा सचेतनामुलक सडक नाटक

Leave a comment

Your email address will not be published. Required fields are marked *