राप्ती नदीमा घडियाल गोही पुनर्स्थापना संकटापन्न प्रजाति संरक्षणमा नयाँ प्रयास
बाँके, २२ माघ ।
बाँके राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा रहेको राप्ती नदीमा लोपोन्मुख अवस्थामा रहेको घडियाल गोही पुनर्स्थापना गरिएको छ । सिमसार क्षेत्रको जलीय पर्यावरणीय संरचना र जैविक विविधता सन्तुलित राख्ने उद्देश्यले घडियाल गोही नदीमा छोडिएको निकुञ्जले जनाएको छ ।
संकटापन्न अवस्थामा रहेका घडियाल गोहीको संरक्षण र पुनःस्थापनाका लागि बाँकेको राप्ती नदीमा गोही छोडिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिरेन्द्र प्रसाद कडेलले बताए । उनँका अनुसार घडियाल गोही नदी प्रणालीको महत्वपूर्ण सूचक प्रजाति भएकाले यसको संरक्षणले समग्र जलीय पारिस्थितिक प्रणालीलाई सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
निकुञ्जका अनुसार पछिल्लो समय बढ्दो सहरीकरण, नदी तटीय क्षेत्रमा बस्ती विस्तार, नदी तथा खोलानालाको अत्यधिक दोहनलगायत कारणले घडियाल गोही संरक्षणमा चुनौती थपिएको छ । नदी किनार क्षेत्रको अव्यवस्थित प्रयोगले गोहीको प्राकृतिक बासस्थान नष्ट हुँदै गएको निकुञ्जको भनाई छ ।
विश्वमा पाइने २४ प्रजातिका गोहिमध्ये नेपालमा दुई प्रजातिका गोही पाइन्छन्। नेपालमा पाइने प्रजातिमा घडियाल गोही र मगर गोही प्रमुख हुन् । घडियाल गोही विशेषगरी नदी प्रणालीमा आश्रित हुने र जलचर पारिस्थितिकी सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने प्रजातिका रूपमा चिनिन्छ ।
लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले घडियाल गोही संरक्षणका लागि प्रदेश सरकारले विशेष कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । उनले गोही संरक्षण प्रभावकारी बनाउन सरकारी निकाय, संरक्षणकर्मी तथा स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । स्थानीय समुदायको सक्रिय सहभागिता बिना दीर्घकालीन संरक्षण सम्भव नहुने उनको भनाई छ ।
इतिहाँस हेर्दा सन् १९४० सम्म घडियाल गोही पश्चिम पाकिस्तानको इन्दुस नदीदेखि भारत, नेपाल, बंगलादेश र भुटान हुँदै पूर्वी म्यानमारसम्म पाइन्थ्यो । तर, बासस्थान विनाश, नदी प्रदूषण, अवैध शिकार तथा मानवीय हस्तक्षेपका कारण हाल घडियाल गोही नेपाल र भारतका सीमित नदी प्रणालीमा मात्रै पाइने अवस्था सिर्जना भएको छ । यही कारण नेपालले घडियाल गोहीलाई संरक्षण सूचीमा राख्दै यसको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले घडियाल गोही संरक्षणका लागि कृत्रिम प्रजनन केन्द्र स्थापना गरेर पुनःस्थापनाको कार्यक्रम अघि बढाइएको बताए । उनका अनुसार संरक्षणका वैज्ञानिक विधि अपनाउँदै गोहीलाई प्राकृतिक बासस्थानमा फर्काउने प्रयासलाई निरन्तरता दिइँदै आएको छ ।
यसैक्रममा बर्दिया राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका पाँच वटा घडियाल गोही राप्ती नदीमा छोडिएको हो । हालसम्म राप्ती नदीमा २५ वटा घडियाल गोही पुनर्स्थापना गरिएको संरक्षणकर्मीहरूले जनाएका छन् । गोही संरक्षणसँगै राप्ती नदी प्रणालीलाई दीर्घकालीन रूपमा जोगाउने लक्ष्य लिइएको संरक्षणकर्मी शारदा खुनाले बताए ।
उनका अनुसार घडियाल गोही संरक्षण सफल बनाउन स्थानीय समुदायको सहभागिता, नियमित अनुगमन तथा जनचेतना कार्यक्रम सञ्चालन आवश्यक रहेको छ । नदी किनार क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न नसके संरक्षण प्रयास प्रभावकारी हुन नसक्ने उनले उल्लेख गरे ।
संरक्षणकर्मीहरूले समयमै प्रभावकारी संरक्षणका उपाय अवलम्बन नगरिए घडियाल गोही डाइनोसोर जस्तै पूर्ण रूपमा लोप हुने खतरा रहेको चेतावनी दिएका छन् । त्यसैले यो दुर्लभ प्रजातिको संरक्षणका लागि राज्य, संरक्षणकर्मी तथा स्थानीय समुदाय सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको छ ।





