मौसमका कारण कर्णालीका हिमाली जिल्लामा निर्वाचन हुनेमा आशंका: जनप्रतिनिधिले नै भनिरहेका छन् यो समय चुनावका लागि उपयुक्त होइन
ओम शाही
सुर्खेत, २२ माघ ।
आसन्न २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिएसँगै सरकारले आवश्यक तयारीलाई व्यापक बनाएको छ । राजनीतिक दलहरुले पनि आफ्ना चुनाव लक्षित गतिविधिलाई तीव्र बनाउँदै लगेका छन् । उम्मेदवारहरु मतदाता फकाउन घरदैलो कार्यक्रममा व्यस्त छन् । तर, कर्णालीका तीन उच्च हिमाली जिल्लाका उत्तरी क्षेत्रमा भने मौसमका कारण चुनाव हुने वा नहुने भन्नेमा अन्यौलता कायम छ ।
हुम्ला, डोल्पा र मुगुका उच्च हिमाली क्षेत्रमा भारी हिमपातले आवागमनमा समस्या भएपछि मतदाताहरु चुनावबाट बञ्चित हुने चिन्ता बढेको छ । हुम्लाको नाम्खा गाउँपालिका–६, का वडाध्यक्ष पाल्जोर लामाले हिमपातका कारण स्थलमार्ग अवरुद्ध भएपछि मतदाता गाउँ फर्कनबाट रोकिएको बताए । नाम्खा गाउँपालिका उच्च हिमाली क्षेत्रमा पर्दछ । वडाध्यक्ष लामाका अनुसार वडा नम्बर ६ का तीन वटा बस्तीका अधिकांश नागरिकहरु मंसिर लागेपछि रोजगारी, व्यापार व्यवसाय गर्न छिमेकी मुलुक चीनको ताक्लाकोट, जिल्ला सदरमुकाम सिमकोट, काठमाडौं लगायतका सहर पुग्ने गर्छन ।
निर्वाचन नजिँकिदै गएको अवस्थामा भइरहेको हिमपातले उनीहरु गाउँ फर्कन असम्भव रहेको वडाध्यक्ष लामाले बताए । उनका अनुसार हिमाल पारीका गाउँका नामले परिचित हल्जी, जाङ र तील गाउँमा चुनावको प्रचारका लागि उम्मेदवारसमेत पुग्न सकेका छैनन् ।
‘मतदाता कोही काठमाण्डौं, कोही चीनको ताक्लाकोट गएका छन् । हिमापातले स्थलमार्गहरु रोकिएकाले तत्काल गाउँ फर्कने सम्भावना देखिदैन । अहिलेसम्म उम्मेदवारहरु पनि चुनावको प्रचारमा पुग्न सकेका छैनन्,’ वडाध्यक्ष लामाले भने । वडाध्यक्ष लामाका अनुसार हरेक वर्ष भारी हिमपात हुने भएकाले अधिकांश नागरिक मंसिर पहिलो साता गाउँ छाड्ने गर्दछन् । हल्जी, जाङ र तील गाउँका ६ सय ७२ मध्ये २० प्रतिशत मात्रै मतदाता गाउँमा रहेको उनले बताए ।
यी तीन गाउँ जान नाम्खा गाउँपालिका ५ मा पर्ने पाँच हजार मिटरको न्यालु र ४६ सय मिटर उचाईको नारा लेक पार गर्नुपर्दछ । तर, हालै भएको भारी हिमपातपछि पूर्णरुपमा बन्द भएका यीनै लेक गाउँ फर्कन चाहनेहरुका लागि बाधक बनेका छन् । २१ फागुनमा निर्वाचन गराउन मतदातालाई हेलिकप्टरमा लैजानु पर्ने वा उनीहरु रहकै ठाउँमा मतदानको व्यवस्था गर्न नसके निर्वाचन हुने सम्भावना आफुले नदेखेको वडाध्यक्ष लामाले बताए ।
‘लिमी, जाङ, हल्जी जान नारा र न्यालु लेक छिचोल्नुपर्छ । अहिले यी लेक हिमपातले पूर्णरुपमा बन्द छन् । गाउँकै उम्मेदवार पुग्न सकेको अवस्था छैन । गाउँमा भएकालाई कि सदरमुकाम ल्याउनु पर्यो, हिँडेर भोट हाल्न जान सकिने अवस्था छैन,’ उनले भने । मतपेटिका, मतपत्रका साथै निर्वाचनमा खटिने सुरक्षाकर्मी र कर्मचारीहरुलाई हिउँकै कारण हिँडेर जानसक्ने अवस्था नरहेको उनी बताउँछन् ।
मतदाताको माग अनुसार नै निर्वाचनको मिति सार्ने वा मतदान गर्ने अन्य वैकल्पिक व्यवस्थापनका विषयमा निर्वाचन कार्यालयलाई जानकारी गराउने तयारीमा आफु रहेको उनले बताए । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका दल फडेराले हिमपातका कारण चुनावी प्रचारमा जान नसकिएको बताउँछन् । उत्तरी क्षेत्रमा हिमपातले बाटो अवरुद्ध भएपछि जिल्लाको दक्षिण भेगबाट चुनावी प्रचार सुरु गरेको उनले बताए ।
त्यस्तै, लिमी गाउँबाट उम्मेदवार रहेकी टासी ल्हाजोम पनि चुनावी प्रचारमा पुग्न सकेकी छैनन । यता जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले तोकिकै मितिमा निर्वाचन हुने दावी गरे । ‘त्यहाँका स्थानीयसँग हामी सम्पर्कमै छौं । विगतमा हेलिकप्टरबाट निर्वाचन सामग्री पुर्याउने गरिएको अभ्यास छ । मतदानको एक साताअघिसम्म हिमपात नभए निर्वाचन हुन्छ,’ प्रहरी प्रमुख पोखरेलले भने ।
त्यस्तै, डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाका केही क्षेत्रमा पनि हिमापातकै कारण निर्वाचन प्रभावित हुने देखिएको छ । गाउँपालिका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङ भन्छन्, ‘ठूला लेक र उच्च हिमाली क्षेत्रका कारण आवतजावतमा समस्या छ । हिउँले आँखा ज्योति घुम्ने डर हुन्छ, हातखुट्टा खाने र लेक लाग्ने डर हुन्छ । यहाँका लागि यो समय चुनावका लागि उपयूक्त होइन, सहर केन्द्रित मिति तोकेर कहाँ हुन्छ । यहाँ हिउँले बाटो बन्द छ । सवारी साधन चल्दैनन्, ज्यान जोखिम हालेर यहाँ कोही आउँदैन ।’ मुगुको मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्रे लामा वडा १ देखि ४ सम्मका कुनै पनि मतदाता गाउँमा नबसेको बताउँछन् ।
‘५/६ वटा हिमाल नजिकका गाउँका मानिसहरु जुुम्ला, नेपागञ्ज र काठमाडौं झरिसकेका छन्, गाउँमा मानिस छैनन्, हामीले मतदातालाई गाउँ फर्कन आग्रह गरेका छौं तर, यो समयमा गाउँ फर्कने अवस्था छैन,’ अध्यक्ष लामाले भने । जनप्रतिनिधि र कर्मचारीले मात्रै निर्वाचन सम्भव नहुने उल्लेख गर्दै हिमाली क्षेत्रका नागरिकको मतदान गर्न पाउने अधिकार सुनिश्चित गराउन दुई चरणको निर्वाचन गर्नुपर्ने उनले बताए ।
निर्वाचन सुरक्षामा खटियो सेना
आगामी निर्वाचनको शान्ति सुरक्षालाई ध्यानमा राखेर सरकारले ७९ हजार सात सय २७ नेपाली सेना देशभर परिचालन गरेको छ । गृह मन्त्रालयका अनुसार निर्वाचनमा चारै सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी कुल तीन लाख ३७ हजार नौ सय ११ सुरक्षाकर्मी परिचालन हुनेछन् ।
जसमा नेपाली सेनाका ७९ हजार सात सय २७, नेपाल प्रहरीका ७५ हजार पाँच सय ९७, नेपाल प्रहरी मातहत रहने एक लाख ३० हजार नौ सय ८० निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बलका ३४ हजार पाँच सय ७६, सशस्त्र प्रहरी मातहतका १५ हजार एक सय १० निर्वाचन प्रहरी तथा एक हजार नौ सय २१ गुप्तचर सुरक्षाकर्मी समावेश छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सबै किसिमको तयारी गरिरहेको छ । आयोगले ४० भन्दा बढी जिल्लाका मतपत्रसमेत छपाइ गरिसकेको छ ।





