प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्याक नेपालको १ लाख २१ हजारबढी सहयोग
सुर्खेत १९ भदौ ।
रसुआमा आएको विनासकारी बाढीबाट प्रभावित भएकाहरूलाई उद्धार तथा राहत पुर्याउने उद्देश्यले समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
संस्थाले रु १,२१,१२१ (एक लाख एकाइस हजार एक सय एकाइस) रकम बैंकिङ्ग प्रणालीमार्फत उक्त कोषमा जम्मा गरेको हो । स्याक नेपालका अनुसार संस्थाका कार्यसमिति सदस्य तथा कर्मचारीहरूको स्वेच्छिक योगदानबाट उक्त रकम सङ्कलन गरी कोषमा जम्मा गरिएको हो ।
बाढीले निम्त्याएको प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै संस्थाले गहिरो दुःख व्यक्त गरेको छ । संस्थाका अध्यक्ष मीना कुमारी तिवारी (शर्मा) र कार्यकारी निर्देशक टीकाराम आचार्यद्वारा जारी विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा परेका परिवारजनमा समवेदना प्रकट गरिएको छ ।
साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारलाई तत्काल उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउन अनुरोध गरिएको छ । विपद्को यस कठिन घडीमा एक जुट भई प्रभावित नागरिकको जीवनरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्नका लागि स्याक नेपालले सबै पक्षसँग हार्दिक अपिलसमेत गरेको छ ।





