दक्ष जनशक्ति उत्पादनमा चुकिए विश्वविद्यालय बन्द गर्न पनि पछि पर्दैनौँ : मन्त्री तिमिल्सिना

बाँके,२० असार ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयका सहकुलपति जन्मजय तिमिल्सिनाले प्रदेशको आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले विश्वविद्यालयले आफ्नो उद्देश्यअनुसार गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न नसके सरकार आवश्यक निर्णय लिन पनि पछि नपर्ने स्पष्ट पार्नुभयो।
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले प्रदेशको विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विश्वविद्यालय स्थापना गरिएको स्मरण गराउँदै त्यसअनुसार जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले गुणस्तरीय शिक्षा र परिणाममुखी कार्यसम्पादनमा कुनै सम्झौता नहुने उल्लेख गर्दै भन्नुभयो, “हामीले दिएको जिम्मेवारी पूरा भएन भने विश्वविद्यालय बन्द गर्नसमेत पछि पर्दैनौँ। यो संस्था प्रदेशको विकासका लागि स्थापना गरिएको हो, त्यसैले सबैले आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक पूरा गर्नुपर्छ।”
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. कृष्णप्रसाद घिमिरेले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई स्थापना भएको छोटो समय भएकाले सानो बालकसँग तुलना गर्दै यसको संस्थागत विकासका लागि समय, माया, संरक्षण र सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
प्रदेशसभा सदस्यहरू अम्बिका काफ्ले, मीना श्रेष्ठ र सुशीला वादीले प्रदेश सरकारकै पहलमा विश्वविद्यालय स्थापना भएको उल्लेख गर्दै संघीय व्यवस्थाले प्रदेशमै उच्च शिक्षाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनीहरूले प्रदेश संरचना नभएको भए यस्ता महत्वाकांक्षी शैक्षिक योजना जिल्लास्तरसम्म पुग्न कठिन हुने धारणा राखे।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य माया पुन र सञ्जु कुमारी चौधरी, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, कुलसचिव प्रा. रेगबहादुर भण्डारी, डीन डा. निरज केसी, निर्देशक डा. प्रदीप कर्ण, परीक्षा नियन्त्रक जेन्टिल गौतम, महेन्द्र बहुमुखी क्याम्पस प्रमुख डा. लालमणि आचार्य, सामाजिक विकास कार्यालय प्रमुख ऋषि शर्मा, भन्सार कार्यालय प्रमुख जनार्दन पौडेल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
वार्षिकोत्सवका अवसरमा विश्वविद्यालयले स्थापना भएयता हासिल गरेका उपलब्धि, सञ्चालनमा रहेका शैक्षिक कार्यक्रम तथा भावी योजनाबारे जानकारी गराइएको थियो। विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, नृत्य तथा सिर्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै समारोहलाई थप आकर्षक बनाएका थिए।
वि.सं. २०७९ मा लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले हाल सूचना प्रविधि, इन्जिनियरिङ, कृषि, वन तथा पर्यटनलगायतका क्षेत्रमा प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको कुलसचिव प्रा. रेगबहादुर भण्डारीले जानकारी दिनुभयो।
उहाँका अनुसार विश्वविद्यालयले प्रदेशको शैक्षिक तथा प्राविधिक विकासमा योगदान पुर्याउने लक्ष्यसहित गुणस्तरीय शिक्षा, अनुसन्धान र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको छ। हाल विश्वविद्यालयमा करिब ४०० विद्यार्थी अध्ययनरत रहेका छन्।






