दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, नेपालगञ्जमा ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

बाँके ,२० असार  । 

नेपालगञ्जको ऐतिहासिक, सांस्कृतिक तथा नागरिक पहिचानलाई पुनर्जीवित गर्ने उद्देश्यका साथ नेपालगञ्ज उपमहानगरपालिकाले भत्किएका तथा हटाइएका ऐतिहासिक व्यक्तित्वका शालिक पुनःस्थापना गर्ने अभियान औपचारिक रूपमा सुरु गरेको छ। अभियानअन्तर्गत धम्बोझी (वीरेन्द्र चोक) मा करिब दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको छ।

उपमहानगरपालिकाको विशेष पहलमा गएराति कडा सुरक्षा व्यवस्थाका बीच राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको हो। यससँगै नगरका विभिन्न स्थानमा रहेका प्रजातान्त्रिक तथा वामपन्थी आन्दोलनका अग्रणी नेताहरू गणेशमान सिंह, बीपी कोइराला, पुष्पलाल श्रेष्ठ तथा शहीद सेतु बिकका शालिक पनि मर्मत तथा पुनःस्थापना गरी आ–आफ्नो स्थानमा पुनः ठड्याइएको छ। यस अभियानको नेतृत्व नगर प्रमुख प्रशान्त विष्टले स्वयं गरेका थिए।

राजा वीरेन्द्रको शालिक २०६२/६३ को जनआन्दोलनका क्रममा भत्काइएको थियो। त्यसयता पटक–पटक पुनःस्थापनाको माग उठे पनि राजनीतिक सहमति नजुट्नु, सुरक्षा संवेदनशीलता तथा विभिन्न परिस्थितिका कारण धम्बोझीस्थित वीरेन्द्र चोक करिब २० वर्षसम्म शालिकविहीन रहँदै आएको थियो।

यसअघि त्रिभुवन चोकमा रहेको राजा त्रिभुवनको शालिक पनि आन्दोलनका क्रममा भत्काइएको थियो। स्थानीयवासीको सक्रियता र पहलमा उक्त शालिक केही वर्षअघि नै पुनःस्थापना भइसकेको छ।

नेपालगञ्जमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा ऐतिहासिक व्यक्तित्व र राष्ट्रिय नेताहरूका शालिकहरू क्षतिग्रस्त बनाइएका थिए। आन्दोलनको आक्रोश सार्वजनिक सम्पदा र ऐतिहासिक धरोहरमाथि पोख्ने प्रवृत्तिका कारण नगरका धेरै स्मारक लामो समयसम्म जीर्ण, बेवारिसे र कुरूप अवस्थामा रहँदै आएका थिए।

उपमहानगरपालिकाले सुरु गरेको यस अभियानलाई नगरको इतिहास, संस्कृति र साझा स्मृतिको संरक्षणसँग जोडिएको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। स्थानीयवासीले ऐतिहासिक धरोहरहरूको पुनःस्थापना र संरक्षणले नेपालगञ्जको पहिचान, सौन्दर्य तथा गरिमा थप मजबुत हुने विश्वास व्यक्त गरेका छन्।

उपमहानगरपालिकाले आगामी दिनमा पनि नगरभित्र रहेका ऐतिहासिक तथा सांस्कृतिक महत्वका संरचना, शालिक र स्मारकहरूको संरक्षण, पुनःनिर्माण तथा सौन्दर्यीकरणलाई निरन्तरता दिने जनाएको छ।

दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, नेपालगञ्जमा ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

दक्ष जनशक्ति उत्पादनमा चुकिए विश्वविद्यालय बन्द गर्न

दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, नेपालगञ्जमा ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको

Leave a comment

Your email address will not be published. Required fields are marked *