वीरेन्द्रनगरको बजेट ४ अर्ब ३८ करोड : युवालाई रोजगारी दिन ‘आइटी पार्क’

सुर्खेत, ११ असार ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चार अर्ब ३८ करोड २७ लाख १५ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । मंगलबार वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख निलकण्ठ खनालले १७ औं नगरसभामा आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

जसमा चालुतर्फ एक अर्ब ५९ करोड ४२ लाख ३० हजार र पूँजिगततर्फ दुई अर्ब ७८ करोड ८४ लाख ८५ हजार बजेट छ । यो कुल बजेटको चालुतर्फ ३६.३७ र पूँजिगततर्फ ६३.६३ प्रतिशत हो । आगामी वर्षको बजेटमा कर्मचारीको तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि ३२ करोड ६५ लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै, खानेपानी, सुशासन तथा पूर्वाधार प्रवद्र्धन कार्यक्रम (म्याचिङ्ग फण्ड भेरी पम्पिङ्ग आयोजना) सञ्चालन व्यवस्थापन एवम् सहकार्यका लागि ११ करोड ६० लाख, वडास्तरीय योजना तथा कार्यक्रमका लागि १९ करोड २८ लाख र नगर प्रमुखबाट पेश भएका नगरस्तरीय क्षेत्रगत कार्यक्रमहरु संचालन गर्न एक अर्ब २५ करोड ९२ लाख ७९ हजार विनियोजन भएको उप–प्रमुख खनालले बताए ।

उनले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत संघीय वित्तीय सामानीकरण अनुदानबाट प्राप्त २४ करोड २४ लाख राखिएको छ । यस्तै, नगरपालिकाले संघीय सरकारबाट प्राप्त गरेको दुई अर्ब २० करोड आठ लाख सर्शत अनुदान, संघीय राजश्व बाँडफाँडबाट प्राप्त २० करोड ५७ लाख ९३ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट प्राप्त तीन करोड ३४ लाख ५३ हजार रुपैयाँ आगामी वर्षमा खर्च व्यहोर्ने स्रोत राखेको छ ।

त्यस्तै, प्रदेश सशर्त अनुदानबाट प्राप्त हुने ३७ करोड ६१ लाख ३६ हजार, घर, जग्गा, रजिष्टेशन तथा मनोरञ्जन करबाट प्राप्त १५ करोड, दहत्तर बहत्तर शुल्कबाट प्राप्त दुई करोड ५० लाख, नगरपालिकाको आन्तरिक आयबाट प्राप्त ५१ करोड ६३ लाख ५० हजार रुपैयाँ आगामी वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्रोत व्यवस्थापन हुने अनुमान नगरपालिकाको छ ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८१/०८२ का क्रमागत आयोजना तथा सर्न सक्ने बैंक मौज्दात ४१ करोड २७ लाख ८३ हजार तथा सामाजिक सुरक्षा अनुदानबाट प्राप्त ४० करोडलाई आगामी वर्षको खर्च धान्ने स्रोतका रुपमा राखिएको छ ।

आगामी वर्षको बजेट कार्यान्वयनबाट विगतको अथक प्रयासबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नगर क्षेत्रमा अति आवश्यक पूर्वाधार निर्माण, सामाजिक न्याय, आधारभुत शिक्षा एवं स्वास्थ्य सेवामा पहुँच लगायत शहरी सौन्दर्यमा टेवा पुगी नगरपालिकाको दिगो एवम् सन्तुलित विकासमा सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।

वीरेन्द्रनगरको आगामी बजेटले पूर्वाधारको विकास तथा विस्तारबाट सेवा, सुविधा तथा बजारमा पहुँच र उपयोग वृद्धि, शहरी सौन्दर्यताका साथ जीवनयापन सूरक्षित र वातावरणमैत्री ढङ्गबाट सहजता ल्याउने उद्देश्य राखेको छ ।

यस्तै, स्वच्छ खानेपानी तथा सरसफाईमा नगरवासीको सहज पहुँचमा वृद्धि गर्दै नगरमा भएको खानेपानी समस्यालाई दीगो ब्यवस्थापनलाई संस्थागत गर्ने लक्ष्य राखिएको नगर प्रमुख मोहनमाया ढकालले बताइन ।

उनले कृषि तथा पशुपालन पेशा व्यवसायिक रोजगारमूलक तर्फ उन्मुख गराउनुका साथै महिलाहरुको संलग्नतामा विभिन्न उत्पादनमा नगरलाई आत्मनिर्भर उन्मुख बनाउने कामको थालनी हुने बताइन । उनका अनुसार आगामी आर्थिक वर्षबाट महिला, दलित तथा अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित स्थानीय कच्चा पदार्थमा आधारित उद्यम तथा व्यवसायको व्यवसाय शुल्कमा २० प्रतिशत छुटको नीति लिईनेछ ।

नगरपालिकालाई तिर्नुपर्ने कर दस्तुर तिरेका र व्यवसाय दर्ता गरेका व्यवसायहरुबाट मात्र वस्तु र सेवाहरुको खरिद गरिने उनले बताइन । नगरपालिका भित्र कुनै पनि सरकारी संरचनाहरु निर्माण गर्दा अनिवार्य अपाङ्गता मैत्री संरचना निर्माण गर्नुपर्ने, निजि क्षेत्र वा वैयक्तिक प्रयोजनका लागि बनाएमा २५ प्रतिशत कर छुट दिइने उनले बताइन ।

सूचना प्रविधिमार्फत युवालाई रोजगारी
नगरपालिकाले आगामी आर्थिक वर्षमा सुर्खेतको प्रमुख पर्यटकीय स्थल घण्टाघर पार्कको दक्षिण पट्टिको क्षेत्रलाई आइटी पार्क निर्माणको रुपमा विकास गरि खुला अध्ययन क्षेत्र बनाउने योजना अघि सारेको छ ।

त्यस्तै, वीरेन्द्रनगर नगरपालिकालाई आधुनिक, स्मार्ट, समावेशी र दक्ष सेवा प्रदायक संस्थाको रूपमा विकास गर्दै आइटी हबका रूपमा स्थापित गर्न योजना बनाई कार्यान्वयन गरिने उनले बताइन ।

जसअनुरुप वीरेन्द्रनगरलाई आइटीको हबको रूपमा विकास गरी सूचना प्रविधि पार्क स्थापना, आइटी यूवा उद्यमशीलता प्रोत्साहन (स्टार्टअप इन्क्युबेसन सेन्टर), स्थानीयस्तरमा आइटी तालिम र सीप विकास कार्यक्रममार्फत युवा रोजगारी सिर्जनाको नीतिमा नगरपालिका छ ।

‘विदेशिने यूवा घटाँउ स्वदेशमै रोजगारी बढाँउ’ भन्ने नाराका साथ वैदेशिक रोजगारबाट फर्की कृषि व्यवसाय गरिरहेका वा गर्न चाहने यूवाका लागि पूँजि तथा प्रविधीमा अनुदान उपलब्ध गराईने छ ।

यस्तै, ‘डिजिटल रोजगारीमा युवाको रहर, यही बाटो हो बन्ने समृद्ध नगर’ भन्ने नीति अन्तर्गत उद्यमशिलता र सूचना प्रविधिलाई एकसाथ जोडिने कार्यक्रमहरु संचालन गर्ने नीति नगरपालिकाले लिनेछ । ‘युवा जागौं, उद्यम बढाऔं’ नीति अन्तर्गत युवामैत्री उद्यमशिलता कार्यक्रमलाई अभियानका रुपमा संचालन गरिने नगर प्रमुख ढकालले बताइन ।

एकीकृत सेवा प्रणालीको स्थापना गरी नागरिक सेवाहरूलाई एकैद्वार सेवा एकै स्थान सेवाको नीतिमार्फत नगरवासीलाई अझ छिटो, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गरिने छ । नगरपालिकालाई डिजिटल नगरपालिकाको रूपमा रूपान्तरण गरी सम्पूर्ण प्रशासनिक प्रक्रियालाई डिजिटल बनाई फाइल ट्र्याकिङ सिस्टम, ई–दस्तावेज हस्ताक्षर प्रणालीको विकासमार्फत आन्तरिक तथा बाह्य पत्राचारमा डिजिटल मैत्री प्रयोगलाई थप व्यवस्थित गर्ने नीति नगरपालिकाले लिनेछ ।

त्यस्तै, डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तार गरी कर, सेवा शुल्क लगायत सबै भुक्तानी प्रणालीलाई ई–भुक्तानी जस्तैः मोबाइल बैंकिङ, क्युआर कोड जस्ता प्रणालीको आत्मसाथ गरिने छ । ई–सेवा प्रणालीको विकास गरी नागरिकलाई विभिन्न सेवाहरू जन्म/मृत्यु दर्ता तथा प्रमाणपत्र, घरजग्गा सम्बन्धी प्रमाणपत्र, सिफारिस/अनुमति पत्रहरू कर विवरण तथा भुक्तानी प्रणाली अनलाइनबाट उपलब्ध गराईने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तो छ पूर्वाधार र सामाजिक विकासतर्फको बजेट
उपत्यकाको खानेपानी समस्यालाई दिगो समाधान गर्न भेरी नदीको पानी लिफ्टिङ्ग प्रविधिमार्फत आयोजना अगाडि बढाउन संघीय सरकार, प्रदेश सरकार र विकास साझेदारहरुसंग सहकार्य गर्न ११ करोड ६० लाख म्याचिङ फण्डको व्यवस्था आगामी बजेटमा गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको खानेपानीको समस्यालाई तत्काल समाधान गर्न डिप बोरिङ, खानेपानी पाइप लाइन विस्तार तथा पुराना आयोजनाहरुको मर्मत संभार र विस्तार तथा खानेपानी प्रणाली सुधार गर्न वडास्तरीय कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

चालू आर्थिक वर्षबाट सुरु भएका राजधानी केन्द्रित शहरी सौन्दर्यताका पूर्वाधार घण्टाघर पार्क लगाएत अन्य पार्क एवं खुल्ला क्षेत्र सजावट तथा पार्किड स्थल निर्माण तथा विभिन्न वडामा संचालित नगर महत्वका आयोजनाहरुलाई क्रमागत आयोजनातर्फ २२ करोड ३४ लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै, शहरी पूर्वाधारहरूको विकास तथा विस्तारबाट सेवा, सुविधा र बजारमा पहुँच र उपयोग वृद्धि भई जीवनयापनमा सहजता ल्याउन विभिन्न आयोजना तथा कार्यक्रम सञ्चालन गर्न प्रत्येक वडामा कम्तिमा एक वडा ५० लाखभन्दा ठूला नगर गौरवका पूर्वाधार आयोजना कार्यान्वयन हुनेछन् ।

नगरपालिकाले आगामी वर्षबाट नगरको यातायातलाई भरपर्दो सर्वसुलभ बनाउन नगर बस खरिद गरि संचालन गर्न दुई करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै, राजधानी केन्द्रीत ट्राफिक लाईट, रोड मार्किङ, धर्म काँटा, चोक सुधार, फुटपाथ व्यवस्थापन, सिसि क्यामरा, हाईमार्स लाईट, आईटी जोन लगायतका शहरी पूर्वाधार निर्माण गर्न १२ करोड बजेट व्यवस्थापन भएको छ । नगरपालिकामा नागरिकका तर्फबाट आएका मागलाई सम्वोधन गर्न पूर्वाधारतर्फ थप २९ करोड ७९ लाख बजेट ब्यवस्थापन भएको उप–प्रमुख खनालले बताए ।

आगामी बजेटमा नगरपालिकालाई शैक्षिक हबको गन्तव्यका रुपमा विकास गर्दै गुणस्तरीय विद्यालय शिक्षामा सबै बालबालिकाको समतामुलक पहुँच सुनिश्चित गर्न सशर्त बाहेक पाँच करोड ५९ लाख ६६ हजार विनियोजन भएको छ । नगरपालिकाका युवाहरुको क्षमता विकास गर्न तथा युवाहरुलाई नगर समृद्धिको अभियानमा परिचालन गर्न युवा सशक्तिकरण कार्यक्रम सञ्चालनतर्फ ६० लाख विनियोजन भएको छ ।

त्यस्तै, समग्र खेलकुद क्षेत्रको प्रवद्र्धनसहित दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्ने कार्यक्रमसहित युवा तथा खेलकुद क्षेत्रमा कुल ६१ लाख २५ हजार विनियोजन भएको छ ।

आधारभूत स्वास्थ्य सेवाको गुणस्तरमा बृद्धि र सुलभता ल्याउन स्वास्थ्य संस्था र स्वयंसेविका लगायत जनशक्तीको क्षमता विकास तथा गुणस्तरीय सेवा प्रवाहमा सशर्त बाहेक एक करोड ५९ लाख ५८ हजार र महिला बालबालिका नगर अस्पताललाई व्यवस्थित सञ्चालन गर्न ३७ लाख ५० हजार बजेट विनियोजन भएको छ । हिंसा पिडित महिलाका लागि आश्रय दिन तथा उनिहरुको मनोवल उच्च बनाउन सेफहाउस संचालन तथा व्यवस्थापनतर्फ २० लाख बजेट ब्यवस्थापन गरिएको छ ।

यस्तै, विकास प्रकृयामा महिला, दलित, जनजाति, आदिवासी र अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा वृद्धि गरी अर्थपूर्ण सहभागिता गराउन, युवाहरुमा अनुशासन, सक्षमता, स्वावलम्वन, भविष्यप्रति सम्वेदनशीलताको विकासका लागि ७५ लाख बजेट व्यवस्थापन भएको छ ।

कृषि उत्पादनमा आत्मनिर्भर बनाउन एक करोड
कृषि व्यवसायमा महिलाहरुको सहभागितामा बृद्धि गर्दै व्यवसायिक कृषि तथा पशुपालनमार्फत रोजगारतर्फ उन्मुख गराउने नीति नगरपालिकाले लिन लागेको बजेटमा उल्लेख छ । साथै देशमा उत्पन्न हुन सक्ने खाद्य संकटसंग सामना गर्दै नगरलाई विभिन्न उत्पादनमा आत्मनिर्भर बनाउन क्षमता विकास तथा आयआर्जन कार्यक्रम संचालन गर्न एक करोड ३० लाख बजेट व्यवस्थापन भएको छ ।

सो बजेटबाट कृषि तथा पशु विकास, उद्यम विकास र वडातहबाट कार्यक्रम संचालन गरिने जनाइएको छ । चालु आर्थिक वर्षभित्र नगरभित्रका भूमीहिनहरुलाई पूर्जा वितरणको कार्य गर्न २५ लाख बजेट छ । त्यस्तै, सहकारी, घरेलु, उद्योग, पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि नगर स्तरीय बजेटबाट ३० लाख व्यवस्था भएको छ ।

स्रोतमा नै फोहरको वर्गीकरण गरी वातावरणमैत्री ढंगले फोहर मैला व्यवस्थापनको आधार तयार गर्न चार करोड ५० लाख विनियोजन भएको छ । समय सापेक्ष संगठन तथा संस्थागत सुधार गर्दै उपमहानगर उन्मुख शहरी सुविधा र सुशासन कायम गर्न एक करोड १० लाख विनियोजन भएको छ । यस्तै, घर नम्वरीड, नगरको स्थानगत आवधिक योजना छपाई, प्रोफाईल निर्माण जस्ता नगर महत्वका योजनाका लागि ४० लाख वजेट ब्यवस्थापन गरिएको छ ।

सुर्खेतमा कुन पालिकाको बजेट कति ?
सुर्खेतका अन्य आठ पालिकाले पनि आगामी वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गरेका छन् । प्रस्तुत बजेट कृषि, पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित रहेको दावी गरिएको छ ।

गुर्भाकोट नगरपालिकाले एक अर्ब एक करोड ६७ लाख ९५ हजार बराबरको बजेट ल्याएको छ । जसमा पूँजिगततर्फ ३९ करोड ८१ लाख र चालुतर्फ ६१ करोड ८६ लाख ७२ हजार बजेट छ । यस्तै, बराहताल गाउँपालिकाको १७ औं गाउँसभाले ६३ करोड सात लाख ४८ हजार नौ सय ९९ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

त्यस्तै, लेकवेशी नगरपालिकाले ६१ करोड ५१ लाख ८२ हजार ६ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमा चालुतर्फ ४३ करोड ४७ लाख र पूँजिगततर्फ १८ करोड ८० लाख छ । यस्तै, सिम्ता गाउँपालिकाले ६१ करोड ७५ लखा १९ हजार रुपैयाँ बराबरको बजेट ल्याउदा चालुतर्फ ५२ करोड ६ लाख ८३ र पूँजिगततर्फ नौ करोड ६८ लाख ३६ हजार बजेट छ ।

चिङ्गाड गाउँपालिकाले ४० करोड ८६ लाख ४६ हजार दुई सय सात रुपैँयाको बजेट प्रस्तुत गरेको छ । जसमा चालुतर्फ ३१ करोड ८३ लाख नौ हजार र पुँजीगततर्फ नौ करोड तीन लाख ३७ हजार दुई सय सात रुपैयाँ छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले ५७ करोड बराबरको बजेट ल्याएको छ ।

यस्तै, पञ्चपुरी नगरपालिकाले ६९ करोड ११ लाख १५ हजार बराबरको बजेट ल्याएको छ । त्यस्तै, भेरीगंगा नगरपालिकाले ८० करोड २५ लाख २४ हजार बजेट ल्याएको छ । यी पालिकाले चालु र पूँजिगत बजेट छुट्याएका छैनन् ।

वीरेन्द्रनगरको बजेट ४ अर्ब ३८ करोड : युवालाई रोजगारी दिन ‘आइटी पार्क’

सम्पादकीय : पदीय दुरुपयोग गर्नेले छुट नपाउन्

वीरेन्द्रनगरको बजेट ४ अर्ब ३८ करोड : युवालाई रोजगारी दिन ‘आइटी पार्क’

घुँयत्राे : ५ जिल्लाका ५ नेता भन्या

Leave a comment

Your email address will not be published. Required fields are marked *