घुँयत्राे : ५ जिल्लाका ५ नेता भन्या काे हुन

ऐले सदनमा चर्चाको शिखरमा रहनुभा भनम् कि भाईरल भै राख्नुभा ५ जिल्लाका ५ नेताजीहरु तपाइँहरलाई बधाई छ है । आउने आर्थिक बर्ष ८२/८३ का लागि त आफ्नाे जिल्लाँ मात्रै बजेट हाल्या भनेर सदनाँ व्यापक विराेध भै राछत ! ती ५ जिल्ला र ५ नेता भन्या काे हुन भन्ने ठ्याक्कै था नभएनि याे देशकाे भान्साँ चलाउने डाडु पन्याै कमरेड वलि, कमरेड प्रचण्ड , मिस्टर देउवा , कमरेड विष्णु पाैडेल र मिस्टर रमेश लेखक, या सभामुखका हाताँ त हाेला क्यारे ।
देशकाे भएभरकाे बजेट यीनै पाँचाेटा हाताँ हाल्ने भनेछि विचरा विष्णु पाैडेलनि के गरून् अरु नेताभागाँ बजेट खन्याउँदा आफ्ना भागाँनि खन्याए यसाँ उनलाई मात्रै के दाेष । खास भन्ने हाे भने प्रधानमन्त्रीले जुन जुन जिल्लाँ जे जे मा बजेट हाल भन्छन त्यै त्यैमा भाग बण्डा गर्दिने त हुन बजेट बनाई दिनेले त । त्यसाे त ठुला मान्छे हरले आफू पदाँ भा बेलाँ बजेट नहालेर कैले हाल्ने हाे तनि ऐलेका ती शिर्ष नेता पदाँ नभा बेला तिन्लाई सम्झेर कल्ले बजेट हाल्दिन्छ र !
त्यसैले नेताजीहरु ऐले तपाइँहरु आफू पदाँ भा बेला बजेट मात्रै हाल्ने हैनकि सरकारी वा गैर सरकारी निकायमा आफ्ना छाेरा, बुहारी, छाेरी, ज्वाइँ,सालासालि,भतिजा,भतिजी , साडु,भान्जाभान्जी , यानेकि आफ्ना नातापाता काेहि बाँकि नराख्नाेस सबलाईजस्लाई जाँ घुसार्न सकिन्छ घुसारी हाल्ने हाे । भाेलि तपाईं पदाँ नहुदा थाेडि तपाइँका मान्छे अरुले राख्दिन्छन र ? राख्दैनननि !

त्यसैले सदनाँ जति विराेध गर्छन गर्न दिनाेस ! विराेध गर्दैमा तपाइँकाे पद जाने हैनत ! आफू भा बेलाँ टन्न बजेट हालेर काम भाे भने आखिर चुनाबमा फेरि पनि आउने त आँफै हाे हैन र ? त्यसैले कसैले ५ जिल्लाबाहेक अरु जिल्ला भारत वा चिनलाई लिजमा दिम भनेनि, सारा शरीर छियाछिया हुने गरि सत्ताेसराप गरेनि, पख अर्को चुनाब जित्लास भनेर धम्की देनि, पटक्कै नडराउनाेस किनभने तपाईहरु भन्षा सरकार हाे ।याे सरकार भन्या २ तिहाईकाे हाे ।
२ तिहाइकाे सरकारले जे गर्ननि सक्छ ।यस्लाई राेकटाेक गर्ने शक्ति काेईसित छैन । राेष्टममा बाेल्ने ती माेरा सांसदले तपाईँहरलाई २/४ गाली गर्दैमा तपाईहरुकाे शरीरमा लाग्या छाला घटदैन क्यारे नत तपाइँहरका खाईपिई गर्या गालाकाे चमक घटछ । कराउने कराउँदै गर्छन पिना सुक्दै गर्छ भन्ने उखान सुन्नु भाछैन ? अनि त ! याे आउने आब बाटै बजेट हाल्नथाल्नु भएन भनेत चुनाबका लागि खर्च काँट जुटाउनु हुन्छ त !
चुनाबका बेला पैसा बिना झाेले काम गर्दैनन । झाेलेहरलाई बाटा खर्च जुटाई दिना लागिनि पैशा त चाइयाे त ! नत्र अरु चुनाब जितेर आईजाने अनि तपाइँहरु ५ जना चाइँ स्यालले कुखुरा लखेट्याझैँ लखेटिनेमा पर्नु भाे भने तपाइँहरु मात्रै हैनकि तपाइँले जागिर ख्वा ती नातेदारकाे झन कुन दुर्दशा हाेला कल्पना गर्नु भाछ ? त्यसैले बरु ती सदनमा बाेल्ने साँसद बाेलिरहुन तपाईँहरु ५ ले जे गर्नु भाछ त्यसमा पाटि अपना अपना बजेटमा भा दाेष्ति पक्का भनेर लाग्नाेस, दिन गनेर पछि लाग्नेले केई लछारपाटाे लाउन्नन ।श्री ५ हरुकि जय ।






