समुदायमा आधारित बाल संरक्षण संयन्त्र सुदृढीकरणका लागि तीनदिने प्रशिक्षण सम्पन्न

बर्दिया,२९ भदौ ।
सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा ‘समुदायमा आधारित बाल संरक्षण संयन्त्रको कार्यान्वयन तथा सुदृढीकरण’ विषयक तीनदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बाँके युनेस्को क्लब (BUC) द्वारा सञ्चालित कार्यक्रममा स्थानीय सरकार, पालिका तथा वडा स्तरीय बाल अधिकार समिति (CRC/WCRC), नेपाल प्रहरी, बाल क्लब, एलुम्नी क्लब, धार्मिक तथा सामुदायिक अगुवा, युवा तथा आमा समूह, बडघर सञ्जाललगायत समुदायमा आधारित विभिन्न संरचनाका ठाकुरबाबा, मधुवन र बारबर्दिया नगरपालिकाका ३० जना प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रशिक्षणमा बाल अधिकार तथा संरक्षण, जोखिममा रहेका बालबालिकाको पहिचान, बालविवाह, हिंसा, दुर्व्यवहार, शोषण, लागूऔषध दुरुपयोग, मानव बेचबिखन, घटना पहिचान तथा अभिलेखीकरण, रिपोर्टिङ, रेफरल र फलोअपलगायत विषयमा छलफल तथा सहभागीमूलक अभ्यास गरिएको थियो।
विशेषगरी गम्भीर प्रकृतिका बाल संरक्षणका घटनालाई समुदायमै अनौपचारिक रूपमा मिलाउने प्रवृत्तिको अन्त्य गर्दै बालमैत्री, गोपनीय, सुरक्षित र कानुनी प्रक्रियामार्फत घटनाको सम्बोधन गर्नुपर्नेमा जोड दिइएको थियो। जोखिममा रहेका बालबालिकाको समयमै पहिचान गरी आवश्यक सेवा तथा निकायमा रेफर गर्ने र त्यसको निरन्तर फलोअप गर्ने प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

प्रशिक्षणको सहजीकरण केशव कोइरालाले गर्नुभएको थियो। Safe Future Project का परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले परियोजना तथा प्रशिक्षणका उद्देश्य, सहभागीमूलक अभ्यास तथा CRC र समुदायमा आधारित बाल संरक्षण संयन्त्रको भूमिका र जिम्मेवारीसम्बन्धी सत्र सहजीकरण गर्नुभएको थियो। उहाँले बाल अधिकार समिति तथा समुदायमा आधारित बाल संरक्षण संरचना औपचारिक समितिमा मात्र सीमित नरही जोखिम पहिचान, तत्काल प्रतिक्रिया, रेफरल र फलोअप गर्न सक्ने सक्रिय तथा जवाफदेही संयन्त्रका रूपमा विकास हुनुपर्ने बताउनुभयो।
बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले सकारात्मक सोच, सहकार्य र समन्वयसम्बन्धी सत्र सहजीकरण गर्दै बालविवाह, लागूऔषध दुरुपयोग तथा अन्य हानिकारक अभ्यासविरुद्धको अभियान सफल बनाउन समुदायका सबै पक्षको निरन्तर सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा मधुवन नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रतिनिधिले बालबालिका तथा युवासँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउँदै स्थानीय सरकार, विकास साझेदार तथा विभिन्न संघसंस्थासँग सहकार्य र समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।
नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक रामलाल चौधरी र रोशनबहादुर पुनले बालविवाह, लागूऔषध दुर्व्यसन तथा मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय सरकार र विकास साझेदार संस्थासँग सहकार्य आवश्यक रहेको बताउनुभयो।
बालविवाहलगायत घटनालाई समुदायमै मिलाउने प्रयास नगरी कानुनी प्रक्रियामा लैजानुपर्ने र दोषीलाई कानुनी कारबाहीका लागि सबै पक्षले सहयोग गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो।
ठाकुरबाबा नगरपालिका–८ की वडा अध्यक्ष राजा चौधरीले बालबालिकाको संरक्षणलाई कुनै एक निकायको मात्र जिम्मेवारी नबनाई सर्वपक्षीय साझा अभियानका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो।

त्यसैगरी बारबर्दिया नगरपालिका–२ का वडा अध्यक्ष रामफेरन थारूले बालविवाहमुक्त वडा घोषणा गरेपछि पनि त्यसको दिगोपनाका लागि निरन्तर सचेतना, अनुगमन तथा समुदाय परिचालन आवश्यक रहेको बताउनुभयो।
समापन समारोहका प्रमुख अतिथि मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले बाल संरक्षणका सवालमा स्थानीय सरकार तथा समुदायमा आधारित संयन्त्र अझ सक्रिय र जिम्मेवार बन्नुपर्ने बताउनुभयो। उहाँले बालबालिकासँग सम्बन्धित समस्या पहिचानदेखि समाधानसम्म स्थानीय सरकार, प्रहरी, समुदाय, विद्यालय तथा नागरिक समाजबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।

उहाँले बालविवाह, हिंसा, लागूऔषध दुरुपयोग, मानव बेचबिखन तथा अन्य जोखिमबाट बालबालिकालाई जोगाउन स्थानीय तहले समुदायमा आधारित बाल संरक्षण संयन्त्रलाई थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो।







