पश्चिम तराईका मधेशी समुदायमा भुर्की पूजन गरी मनाइँदै भैयादूज
बाँके ,२५ कार्तिक ।
पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन बुधबार यमद्वितीया अर्थात् भैयादूज पर्व परम्परागत रूपमा भुर्की पूजन गरी मनाइँदैछ । दाजुभाइको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दै दिदीबहिनीले भुर्की पूजा गरी टीका लगाउने तथा चिउरा, भुर्की र मिठाई खुवाएर यो पर्व मनाउने प्रचलन रहेको छ ।
यस पर्वमा दिदीबहिनीले बिहानैदेखि व्रत बसेर दाजुभाइको सुख, शान्ति, उन्नति, सुस्वास्थ्य र प्रगतिको कामना गर्ने गर्दछन् । भुर्की पूजनका लागि घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र बनाउने चलन छ । त्यससँगै नदी, तलाउ, पर्वत, बाघ, भालु, सर्प तथा वनजङ्गलका चित्रहरू कोर्ने गरिन्छ ।
पूजास्थलमा जङ्गलमा पाइने कुशलगायत विभिन्न काँडाहरू राखेर त्यसमाथि सिलौटा राख्ने परम्परा छ । सिलौटामा चामलको पिठोबाट नदीको आकृति बनाई त्यसमा धर्मभाइको मूर्ति स्थापना गरेर विधिपूर्वक पूजा गर्ने गरिन्छ । गाउँटोलका महिलाहरू एकै ठाउँमा भेला भएर सामूहिक रूपमा भुर्की पूजन गर्ने भएकाले यस पर्वले आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई समेत बलियो बनाउने गरेको छ ।
भुर्की पूजनका क्रममा दाजुभाइ तथा दिदीबहिनीको सुख, समृद्धि र शान्तिका लागि विभिन्न धार्मिक तथा पौराणिक कथा सुनाउने प्रचलनसमेत रहेको अवधी साहित्यकार शिवप्रसाद पाठकले बताउनुभयो । उहाँका अनुसार यस पर्वमा सुनाइने कथा तथा परम्पराले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्ध, प्रेम र पारिवारिक एकताको महत्त्वलाई उजागर गर्ने गर्दछ ।
भुर्की पूजनका दिन तयार पारिएको चिउरा र भुर्की आफ्ना दाजुभाइलाई खुवाउने विशेष परम्परा छ । टाढा रहेका दाजुभाइलाई भने कात्तिक पूर्णिमासम्म चिउरा, भुर्की र मिठाई खुवाउने चलन रहेको छ ।
पश्चिम तराईका मधेशी समुदायमा पुस्तौँदेखि चल्दै आएको भुर्की पूजन केवल धार्मिक आस्थासँग मात्र सम्बन्धित छैन । यसले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयतालाई प्रगाढ बनाउनुका साथै समुदायमा मौलिक संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।





