दसौं राष्ट्रिय खेलकुदको सुरक्षामा दैनिक एक हजार ९१ प्रहरी परिचालन गरिने
सुर्खेत ,२४ कार्तिक ।
कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न दैनिक एक हजार ९१ जना प्रहरी परिचालन गरिने भएको छ। प्रतियोगिताको मुख्य आयोजक जिल्ला सुर्खेतसहित कर्णालीका चार जिल्लामा हुने खेलकुद गतिविधिको सुरक्षाका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको हो।
मंसिर ८ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका क्रममा सुरक्षा संवेदनशीलता र खेल आयोजना हुने स्थानको अवस्थालाई विश्लेषण गरी प्रहरी परिचालनको व्यवस्था मिलाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद घर्तीका अनुसार प्रतियोगिता अवधिभर दैनिक एक हजार ९१ जना प्रहरी सुरक्षामा खटिनेछन्। सुर्खेतमा आधुनिक रंगशाला निर्माण सम्पन्न भएपछि पहिलोपटक कर्णाली प्रदेशमा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना हुन लागेकाले सुरक्षालाई विशेष प्राथमिकता दिइएको उहाँले बताउनुभयो।
‘प्रतियोगिता लक्षित सुरक्षा तयारीस्वरूप प्रहरीले सम्भावित जोखिमयुक्त स्थानमा सुरक्षा गस्ती र निगरानी सुरु गरिसकेको छ,’ एसपी घर्तीले भन्नुभयो, ‘सुरक्षा समितिका संयोजक तथा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराम सापकोटा स्वयं विभिन्न मूल समिति तथा उपसमितिका बैठकमा सहभागी भएर सुरक्षा विश्लेषण र आवश्यक तयारी गरिरहनुभएको छ।’
प्रतियोगिताको सुरक्षालाई प्रभावकारी बनाउन प्रहरीले प्रविधिको समेत प्रयोग गर्ने भएको छ। एसपी घर्तीका अनुसार सुरक्षा निगरानीका लागि तालिमप्राप्त कुकुर, ड्रोन र सीसीटीभी क्यामेराको प्रयोग गरिनेछ। त्यसैगरी सादा पोसाकका प्रहरी परिचालन, पैदल गस्ती तथा खेलस्थलका प्रवेश र निकासद्वारमा विशेष निगरानी राखिनेछ।
प्रहरीले प्रतियोगिताका लागि १८ प्रकारका सुरक्षा ड्युटी र १२४ वटा ड्युटी पोस्ट निर्धारण गरेको छ। ती स्थानमा दैनिक एक हजार ९१ जना प्रहरी परिचालन गर्ने योजना बनाइएको छ।
सुरक्षा व्यवस्थापनका लागि कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट समेत प्रहरी जनशक्ति परिचालन गरिनेछ। जसअनुसार कालिकोटबाट ९३, रुकुम पश्चिमबाट १७४, सल्यानबाट ८२, दैलेखबाट १०३ र सुर्खेतबाट ५४० जना प्रहरी खटिनेछन्। त्यस्तै, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतबाट पाँच जना र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट दैनिक ९४ जना प्रहरी परिचालन हुनेछन्।
यसरी परिचालन हुने जनशक्तिबाहेक आवश्यक पर्ने थप ४९७ जना प्रहरी विशेष सुरक्षा गण र कर्णाली प्रदेश गणबाट परिचालन गरिने एसपी घर्तीले जानकारी दिनुभयो।
प्रतियोगितालाई लक्षित गरी सुर्खेतको छिन्चुदेखि मेहलकुनासम्म अहिलेबाटै सुरक्षा गस्ती र सूक्ष्म निगरानी सुरु गरिएको छ। खेल आयोजना हुने स्थानको भौगोलिक अवस्था, पूर्वाधार र सुरक्षा संवेदनशीलतालाई आधार मानेर अन्य जिल्लामा पनि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ।
प्रतियोगिताअन्तर्गत दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा रुकुम पश्चिममा शारीरिक सुगठन प्रतियोगिता आयोजना हुनेछन्। ती जिल्लामा खेलाडी, प्रशिक्षक, निर्णायक, दर्शक तथा प्रतियोगितासँग सम्बन्धित अन्य व्यक्तिको सुरक्षालाई ध्यानमा राखेर प्रहरी परिचालन गरिनेछ।
कर्णाली प्रदेशमा आवश्यक खेल पूर्वाधारको अभावका कारण केही खेल छिमेकी लुम्बिनी प्रदेशमा पनि सञ्चालन गरिने भएका छन्। पौडी र सुटिङ प्रतियोगिता बाँकेको नेपालगञ्जमा तथा टेनिस र खोखो प्रतियोगिता बर्दियामा आयोजना हुनेछन्। बाँकेमा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी उपलब्ध हुनुका साथै बर्दिया खोखो खेलका लागि परिचित रहेकाले ती खेल त्यहाँ सञ्चालन गर्न लागिएको हो।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल ३२ खेल समावेश गरिएकामा सबैभन्दा धेरै २३ खेल आयोजक जिल्ला सुर्खेतमै सञ्चालन हुनेछन्। बाँकी खेल कर्णालीका अन्य जिल्ला र लुम्बिनी प्रदेशका बाँके तथा बर्दियामा आयोजना हुनेछन्।
राष्ट्रियस्तरको प्रतियोगिता भएकाले खेलाडी, खेलप्रेमी, दर्शक तथा अतिथिको आवागमनसमेत उल्लेख्य हुने अपेक्षा गरिएको छ। यस्तो अवस्थामा सम्भावित सुरक्षा चुनौती न्यूनीकरण गर्न प्रहरी प्रशासनले अन्य सुरक्षा निकाय, स्थानीय तह, आयोजक समिति र समाजका विभिन्न पक्षसँग समन्वय तथा सहकार्य गर्ने एसपी घर्तीले बताउनुभयो।
प्रतियोगितालाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षा निकायले गरेको तयारीले खेलाडी तथा दर्शकलाई सुरक्षित वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ। कर्णालीमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउनु प्रदेशको खेलकुद विकास र पहिचानका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ।





