नेपालगन्जमा हिन्दू बहिनीसँग टीका लगाएर तिहार मनाउँदै मुस्लिम अगुवा
बाँके ,२६ कार्तिक ।
सांस्कृतिक सद्भावको सहरका रूपमा परिचित नेपालगन्जमा हिन्दू र मुस्लिम समुदायबीचको धार्मिक सहिष्णुता र आपसी एकताको उदाहरण यस वर्षको तिहारमा पनि देखिएको छ । इस्लाम धर्मावलम्बीका अगुवाहरूले हिन्दू बहिनीहरूको हातबाट सप्तरङ्गी टीका र माला लगाएर भाइटीका मनाउँदै धार्मिक सद्भाव र सामाजिक एकताको सन्देश दिएका छन् ।
बुधबार यमपञ्चकको अन्तिम दिन भाइटीकाका अवसरमा मुस्लिम समुदायका अगुवाहरूले हिन्दू दिदीबहिनीबाट टीका तथा माला ग्रहण गर्दै तिहार मनाएका हुन् । धर्म फरक भए पनि एकअर्काका संस्कृति, परम्परा र चाडपर्वप्रति सम्मान प्रकट गर्ने उद्देश्यले आफूहरूले वर्षौंदेखि यसरी तिहार मनाउँदै आएको उनीहरूको भनाइ छ ।
विगत २० वर्षदेखि नियमित रूपमा भाइटीका लगाउँदै आउनुभएका समाजसेवी प्रवेज अली सिद्धिकीले यस वर्ष पनि बहिनी मीना तुलाधर र दिदी माया थापाको हातबाट टीका ग्रहण गर्नुभएको छ । उहाँले एकअर्काको धर्म, संस्कृति र परम्पराप्रति सम्मान गर्ने भावनाको विकास गर्न आफूले भाइटीका लगाउँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले दसैँ–तिहारजस्ता पर्व मनाउँदा हिन्दू र मुस्लिम समुदायबीचको सम्बन्ध अझ सुमधुर हुन्छ । एकअर्काको धर्म र संस्कृतिलाई सम्मान गर्दै खुसी साटासाट गर्दा सामाजिक सद्भाव बलियो हुन्छ ।” हिन्दू समुदायको परम्पराअनुसार टीका र माला लगाउँदा आफूमा थप उत्साह र उमङ्ग छाउने गरेको पनि सिद्धिकीले बताउनुभयो ।
यसैगरी नेपालगन्जका वरिष्ठ व्यवसायी तथा मुस्लिम अगुवा अब्दुल वाहिद मन्सुरीले पनि हिन्दू बहिनीको हातबाट टीका लगाएर भाइटीका मनाउनुभएको छ । उहाँले हरेक वर्ष यसरी नै भाइटीका मनाउँदै आएको बताउँदै धार्मिक आस्था फरक भए पनि आपसी प्रेम, विश्वास र सद्भाव सबैका लागि उत्तिकै महत्त्वपूर्ण रहेको सन्देश दिनुभएको छ ।
त्यस्तै, अर्का मुस्लिम अगुवा सफिक अहमद बेहनाले पनि हिन्दू समुदायकी बहिनीको हातबाट सप्तरङ्गी टीका ग्रहण गर्दै भाइटीका मनाउनुभएको छ ।
धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी मेलमिलाप कायम रहेको नेपालगन्जमा हिन्दू र मुस्लिम समुदायले एकअर्काका चाडपर्वमा सहभागी भएर खुसी साटासाट गर्ने परम्परा रहँदै आएको छ । हिन्दू समुदायका व्यक्तिहरू मुस्लिम समुदायका पर्वमा सहभागी हुने र मुस्लिम समुदायका अगुवाहरूले दसैँ, तिहारलगायत हिन्दू धर्मावलम्बीका पर्वमा सहभागी भएर शुभकामना आदानप्रदान गर्ने गरेका छन् ।
धर्म र आस्था फरक भए पनि मानवीय सम्बन्ध, प्रेम, आत्मीयता र सहअस्तित्वलाई प्राथमिकता दिँदै आएका यहाँका समुदायले यस्ता सांस्कृतिक अभ्यासमार्फत सामाजिक एकतालाई थप मजबुत बनाउँदै आएका छन् । नेपालगन्जमा देखिने यस्तो धार्मिक सहिष्णुता र आपसी सद्भावले विविधताबीचको एकताको सुन्दर सन्देश दिएको छ ।





