ट्रम्पद्वारा युक्रेनलाई अमेरिकी शान्ति योजना स्वीकार गर्न नोभेम्बर २७ को अल्टिमेटम

वासिङ्टन, ७ मङ्सिर
(रासस/एएनआई) । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको २८ सूत्रीय शान्ति योजनामा युक्रेनको प्रतिक्रिया प्राप्त गर्न नोभेम्बर २७ को कडा समयसीमा तोकिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले देश अत्यन्त कठिन निर्णयको मोडमा पुगेको र ‘गरिमा गुमाउने वा प्रमुख साझेदार गुमाउने जोखिम’ जस्ता चुनौतीपूर्ण विकल्प सामना गर्नुपर्ने बताएको केही घण्टामै ट्रम्पको यस्तो कदम सार्वजनिक भएको हो ।
शुक्रबार फक्स न्युज रेडियोसँग दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले वार्तामा सार्थक प्रगति देखिए मात्र समयसीमा केही लचिलो हुन सक्ने सम्भावना रहेको बताए । उनले भने, “मेरो धेरैजसो विषयमा समयसीमा हुन्छ र यदि कामहरू सकारात्मक रूपमा अघि बढिरहेका छन् भने विस्तार गर्न सकिन्छ । तर नोभेम्बर २७ हामीलाई उपयुक्त समयजस्तै लागेको छ ।”
ट्रम्पले प्रभावकारी रूपमा राष्ट्रपति जेलेन्स्कीलाई पाँच दिनभित्र निर्णय गर्न बाध्य पारिएको सङ्केत पनि गरे । उनका कथन अनुसार, युक्रेनले आफ्नो गरिमा बचाउने कि प्रमुख सहयोगीको समर्थन गुमाउने भन्ने दुवै कठोर विकल्पबीच छ । साथै, उहाँले चेतावनी दिँदै युक्रेनले आफ्नो केही भूभाग तत्काल गुमाउने सम्भावना अझै कायम रहेको बताए ।
त्यसैबीच, अमेरिकी उपराष्ट्रपति जे. डी. भान्ससँगको फोन वार्तापछि राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत किएभ अमेरिकी तथा युरोपेली पक्षसँग राष्ट्रिय सुरक्षा सल्लाहकार तहमा सहकार्य गर्दै शान्तिको मार्ग खोज्न सहमत भएको जानकारी दिएका छन् ।
यसअघि टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले देश ‘सङ्कटको नयाँ चरण’ मा प्रवेश गरिरहेको उल्लेख गर्दै अत्यन्त कठिन विकल्पसहितको जटिल परिस्थितिको चेतावनी दिएका थिए । उनले भने, “युक्रेन अब अत्यन्तै चुनौतीपूर्ण निर्णयको घडीमा छ—या त गरिमा गुमाउने जोखिम, वा प्रमुख साझेदार गुमाउने भय । या त २८ बुँदे कठोर प्रस्ताव स्वीकार्ने, वा अर्को कठोर जाडो सहने ।”
ओभल अफिसमा पत्रकारहरूसँग बोल्दै राष्ट्रपति ट्रम्पले शान्तिको यथार्थवादी बाटो पहिचान भइसकेको दाबी गर्दै यो योजना अघि बढ्न जेलेन्स्कीको स्वीकृति अनिवार्य हुने पुनः दोहोर्‍याए । सिएनएनद्वारा उद्धृत उनका कथन अनुसार, “हामीसँग शान्ति हासिल गर्ने बाटो छ भन्नेमा विश्वास छ, तर युक्रेनी पक्षले यसलाई अनुमोदन गर्नुपर्छ । उनीहरू नजिकै आइरहेका छन् जस्तो लाग्छ, तर म अहिले नै भविष्यवाणी गर्न चाहन्नँ ।”
ट्रम्पद्वारा पुनरावलोकन भई समर्थन प्राप्त २८–बुँदे शान्ति प्रस्ताव वासिङ्टनले गत तीन वर्षदेखि अवरुद्ध भइरहेको शान्ति प्रक्रियालाई पुनर्जीवित गर्ने उद्देश्यले अघि सारेको पछिल्लो पहल हो । यसअघि रुसले पूर्ण कब्जा नजमाएका क्षेत्रमा क्षेत्रीय छुट दिनुपर्ने जस्ता केही प्रस्ताव किएभले अस्वीकार गरिदिएको थियो ।
यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार अमेरिकी योजनाबारे टिप्पणी गर्दै उक्त प्रस्ताव आफूले अलास्कामा ट्रम्पसँग भएको भेटमा छलफल गरेको पुरानो प्रारूपकै परिमार्जित संस्करण जस्तो देखिएको बताए । सुरक्षा परिषद्को बैठकमा उहाँले भन्नुभयो, “अमेरिकी पक्षले केही सम्झौतामा सहमत हुन आग्रह गरेको थियो ।”
पुटिनका अनुसार मस्कोले एन्कोरेजमा प्रस्तुत गरिएका पहलहरू स्वीकार गरेको थियो, तर किएभले प्रस्ताव अस्वीकार गरेपछि प्रक्रिया रोकिएको थियो । रुसी पक्षले अद्यावधिक २८–बुँदे प्रस्तावको पाठ प्राप्त गरेको र त्यसलाई ‘विस्तृत रूपमा’ अध्ययन गर्न बाँकी रहेको समेत पुटिनले बताए । “मलाई विश्वास छ, यसले अन्तिम शान्ति सम्झौताको आधार बन्न सक्छ”, पुटिनले भनेका छन् ।
ट्रम्पद्वारा युक्रेनलाई अमेरिकी शान्ति योजना स्वीकार गर्न नोभेम्बर २७ को अल्टिमेटम

क्याथ ल्याब सेवाले मुटुरोगीको भरोसा बनेको भेरी

Leave a comment

Your email address will not be published. Required fields are marked *