क्याथ ल्याब सेवाले मुटुरोगीको भरोसा बनेको भेरी अस्पताल

बाँके, ७ मंसिर । 
नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित क्याथ ल्याब सेवा पछिल्ला वर्षयता पश्चिम नेपालका मुटु रोगीका लागि अत्यन्तै प्रभावकारी र भरपर्दो उपचार केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । मुटु रोगको सुरक्षित, छरितो र वैज्ञानिक उपचारका लागि सञ्चालनमा रहेको यो सेवा कोरोनरी एन्जियोग्राफी, एन्जियोप्लास्टि, पेसमेकर जडानदेखि पेरिकार्डियोसिन्टेसिसजस्ता जटिल प्रक्रिया सफलतापूर्वक गर्दै आएको मुटु रोग विभागले जनाएको छ ।
अस्पतालका मुटु रोग विशेषज्ञ एसोसिएट प्रोफेसर डा. विकास नेपालका अनुसार क्याथ ल्याब सेवाका कारण पश्चिम नेपालका बिरामीलाई काठमाडौँ वा भारत धाउनुपर्ने समस्या उल्लेख्य रूपमा घटेको छ । उनको भनाइमा, मुटुको धमनी अवरुद्ध हुने जटिल अवस्थाको तुरुन्तै उपचार यही सेवामार्फत सम्भव भएकाले धेरै बिरामीको ज्यान बचाउन सफल भएको छ ।
लामो समयदेखि भेरीमा मात्र उपलब्ध यो सेवा अहिले नेपालगञ्जको सञ्जीवनी मेडिकल साइन्सेस र कैलालीस्थित अत्तरिया अस्पतालले पनि सुरु गरेपछि बिरामीलाई उपचारमा थप सहजता आएको छ । बुटवलपश्चिम क्षेत्रमा भेरी अस्पताल र सञ्जीवनी कलेज दुवै संस्थाले मुटु उपचारको सेवा उपलब्ध गराइरहेका छन् ।
चालू आर्थिक वर्षको श्रावणदेखि हालसम्म भेरी अस्पतालमा ३४० जनाले क्याथ ल्याब सेवा लिएका छन् । तीमध्ये २१५ जनाले कोरोनरी एन्जियोग्राफी, १०० जनाले स्टेन्टसहित एन्जियोप्लास्टि, १ जनाले बलुन एन्जियोप्लास्टि, ९ जनाले अस्थायी र ८ जनाले स्थायी पेसमेकर सेवा, ५ जनाले पेरिकार्डियल फ्लुइड निकाल्ने जीवनरक्षक सेवा र १ जनाले रेनल एन्जियोग्राफी गराइएको छ । मुटु सम्बन्धी गम्भीर जटिलता देखिएका विरामीलाई ‘गोल्डेन आवर’मै उपचार गर्न सकिने भएकाले भेरीको क्याथ ल्याब पश्चिम नेपालमै सबैभन्दा महत्वपूर्ण केन्द्रका रूपमा मानिन्छ ।
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट, दार्चुलालगायत पश्चिम र कर्णालीका विभिन्न जिल्लाबाट मुटुरोगी भेरी अस्पतालमा उपचारका लागि आउने क्रम बढ्दै गएको छ । सस्तो र गुणस्तरीय सेवा, अनुभवी विशेषज्ञ चिकित्सकहरूको उपलब्धता, दक्ष स्वास्थ्यकर्मी र पर्याप्त स्रोत–साधनले भेरी अस्पताल पश्चिम नेपालका मुटुरोगीको प्रमुख आश्रयस्थल बनेको स्थानीय स्वास्थ्यकर्मीहरू बताउँछन् ।
कर्णाली प्रदेशका बिरामीले पनि भेरी अस्पताललाई आफ्नो जीवनरक्षक केन्द्रका रूपमा अनुभूत गरेका छन् । दैलेखबाट उपचारका लागि आएकी ४२ वर्षीया गोमा शाहीका अनुसार भेरी पुगेपछि उपचार सहज, छिटो र किफायती भयो। उनले भनिन्, “गाउँमा त काठमाडौँ लैजानुपर्ने होला भन्थे, तर भेरी आएपछि केही घण्टामै परीक्षणदेखि उपचारसम्म भयो । न त धेरै खर्च भयो, न त अनावश्यक दौडधूप । अब यत्ति राम्रो सेवा घरनजिकै पाइने भएपछि कर्णालीका बिरामीका लागि यो ठूलो राहत हो ।” जुम्लाका ५५ वर्षीय खड्गबहादुर रोकायले पनि भेरी अस्पतालको क्याथ ल्याबले आफ्नो जीवन बचाएको अनुभव सुनाए ।
“अचानक छाती दुखेर बेहोस जस्तै भएर यहाँ ल्याइएछु । डाक्टरले तुरुन्तै प्रक्रिया सुरु गरे । स्टेन्ट राखेपछि अहिले ठिक भएर घर फर्किन लागेको छु,” उनले भने, “काठमाडौँ पुर्‍याउँदा मेरो ज्यान जोगिन मुस्किल थियो होला । भेरी अस्पताल कर्णालीका मान्छेका लागि वरदानजस्तै भएको छ ।” पश्चिम र कर्णालीका बिरामीका लागि सहज, छरितो र सुरक्षित मुटु उपचार उपलब्ध गराउँदै आएको भेरी अस्पतालको क्याथ ल्याब सेवा क्षेत्रमै सबैभन्दा विश्वासिलो केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।
क्याथ ल्याब सेवाले मुटुरोगीको भरोसा बनेको भेरी अस्पताल

योयो प्लाइउड उद्योग बन्द, छ सय बढी

Leave a comment

Your email address will not be published. Required fields are marked *