मंगलगढी कााक्रेविहार सडकः निर्माण पुरा नहुँदै उप्कियो कालोपत्रे

सुर्खेत, २९ भदौ ।
कर्णाली प्रदेशको चर्चित पर्यटकीय स्थल काँक्रेविहार जाने सडक खण्ड निर्माण पुरा नहुँदै कालोपत्रे उप्किएको छ ।
वीरेन्द्रनगर–९ मा रहेको मंगलगढी काँक्रेविहार सडक खण्डको २४ सय मिटर सडक खण्डको कालोपत्रे उप्किदा स्थानीयलाई सास्ती भएको छ भने निर्माण कम्पनीले बारम्बार म्याद थप्दा पनि निर्माण कार्य सम्पन्न गर्न सकेको छैन ।
अमर सिस्ने नेपाल मेघा जेभिले पूर्वाधार विकास कार्यालय सुर्खेतसँग २०७८ मंसिर २४ गते निर्माण कार्यकालागि सम्झौता गरेको थियो । १४ करोड १५ लाख ८१ हजारमा निर्माण पुरा गर्ने उदेश्यका साथ सडक निर्माण थालेको निर्माण कम्पनीले हालसम्म पनि निर्माण पुरा गर्न नसकेको हो ।
२०८० असार १५ मा निर्माण सम्पन्न गर्नुपर्नेमा निर्माण कम्पनीले त्यो अवधीमा निर्माण सम्पन्न गरेन ।

त्यसपछि निर्माण कम्पनीलको पहिलोपटक म्याद थप भयो । निर्माण कम्पनीले २०८० फागुन १५ मा निर्माण सम्पन्न गर्नुपर्नेमा त्यो अवधीमा पनि सडक निर्माण कार्य सम्पन्न हुन सकेन ।
उक्त अवधीमा निर्माण सम्पन्न नभएपछि कार्यालयले पेश्की वापतको रकम जफत गरेको थियो ।
दोश्रोपटक २०८१ असार १२ गतेसम्मका लागि पुनः म्याद थप भयो । तेश्रो पटक २०८२ पुस १२ गतेसम्म म्याद थप्दा पनि निर्माण कम्पनीले सडक निर्माण पुरा गर्न नसकेको हो ।
‘करिब ९० प्रतिशत काम सम्पन्न भएको छ ।’कार्यालयका इन्जिनियर प्रेम चन्द पाण्डेले भने, ‘१२ करोड ४७ लाख ३७ हजार रुपैंया निर्माण कम्पनीले भुक्तानी लिइसकेको छ ।’

तर, अबको केहि दिनमा उक्त सडक निर्माण पुरागर्न अन्तिम पटकका लागि म्याद थप गर्ने गरि निर्माण कम्पनीले कार्यालयमा कागजात पेश गरेको छ । ‘सार्वजनिक खरिद ऐन २०६४ को नियम १२०, उपनियम २ बमोजिम हाल म्याद थप गर्ने प्रक्रिया अगाडी बढाइएको हो ।’ उनले भने, ‘कल्भर्टको दायाँ बाँया सडक कालोपत्रे गर्नुपर्ने,जेव्राक्रसिंग राख्नुपर्ने देखि भत्केको सडक निर्माण गर्न बाँकी छ । त्यो कार्य सम्पन्न नभएको खण्डमा हामी भुक्तानी दिन सक्दैनौं ।’
उनले निर्माण कम्पनीलाई सडक निर्माणकालागि बारम्बार ताकेता गरिएको बताउँदै म्याद थप पश्चात काम सम्पन्न हुने अपेक्षा कार्यालयको रहेको उनको भनाई छ ।






