सम्पादकीय : राष्ट्रिय खेलकुदमा दोहोरिन नदिऊँ विगत
कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ३० दिने काउन्टडाउन सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का अध्यक्षसमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले सोमबार संयुक्त रूपमा दिनगन्ती सुरु गरेका हुन् । यससँगै प्रतियोगिता आयोजनाको उत्साह बढेको छ । तर, चारपटक मिति सरिसकेको प्रतियोगिता निर्धारित समयमै सम्पन्न हुने सुनिश्चितता गर्नु अहिलेको मुख्य चुनौती हो । राष्ट्रिय खेलकुद प्रतियोगिता हरेक दुई वर्षमा हुनुपर्ने हो । तर, १० औँ संस्करण आयोजना गर्ने जिम्मेवारी पाएको चार बर्ष बितिसक्दा पनि कर्णालीले प्रतियोगिता गर्न सकेको छैन । २०७९ कात्तिकमा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा कर्णालीलाई आयोजना गर्ने जिम्मेवारी दिइएको थियो । त्यसपछि २०८१ मंसिर, चैत, २०८२ जेठ र फागुनमा गरी चारपटक मिति तोकियो ।
पूर्वाधार निर्माणलगायतका कारण देखाउँदै हरेकपटक प्रतियोगिता सारियो । यसले खेलाडीको तयारी र खेलकुद क्षेत्रको नियमिततामा असर पुर्याएको छ । आयोजकप्रतिको विश्वासमा समेत प्रश्न उठेको छ । यस पटक भने तयारीले गति लिएको दाबी गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताका अनुसार खेलाडी छनोट, बन्द प्रशिक्षण र खरिद प्रक्रिया अघि बढिसकेका छन् । आवास व्यवस्थापन, प्रचारप्रसार र प्राविधिक काम पनि अन्तिम चरणमा छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ गरी ११ टोलीका झण्डै ६ हजार खेलाडी सहभागी हुनेछन् । ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ । केही खेल मंसिर ८ गतेदेखि नै सुरु हुनेछन् । यति ठूलो प्रतियोगिता आयोजना गर्नु कर्णालीका लागि अवसर र चुनौती दुवै हो । यसले प्रदेशको खेल पूर्वाधार, पर्यटन, आर्थिक गतिविधि र राष्ट्रिय पहिचान प्रवद्र्धनमा योगदान पुर्याउन सक्छ । तर, प्रतियोगिता उद्घाटन र समापनको औपचारिकतामा सीमित हुनु हुँदैन । खेलाडी तथा अफिसियलको आवास, खानपान, यातायात, सुरक्षा, स्वास्थ्य उपचार र खेल सञ्चालनका प्राविधिक पक्षमा कुनै कमजोरी रहन दिनु हुँदैन । प्रस्तावित व्यवस्थापनअनुसार वीरेन्द्रनगरमा उपलब्ध करिब ६ हजार शय्यामा सहभागीलाई राख्ने तयारी छ ।
अन्य जिल्लामा पनि पर्याप्त व्यवस्थापन हुनुपर्छ । प्रतियोगिताको मुख्य आयोजक संघीय सरकार र सहआयोजक कर्णाली प्रदेश सरकारबीच प्रभावकारी समन्वय आवश्यक छ । स्थानीय तह र निजी क्षेत्रलाई पनि जिम्मेवारीसहित परिचालन गर्नुपर्छ । मुख्यमन्त्रीले तयारीका क्रममा केही व्यावहारिक अपुगता हुन सक्ने स्वीकार गर्दै सुझाव माग्नु सकारात्मक हो । तर, कमजोरी सुधार्ने प्रतिबद्धता व्यवहारमा देखिनुपर्छ । अब दिनगन्ती मात्रै होइन, तयारीको परिणाम देखिनुपर्छ । सञ्चारमाध्यम, नागरिक समाज र खेलप्रेमीले पनि खबरदारी गर्नुपर्छ । पाँचपटक मिति तोकेर सारिएको इतिहास दोहोरिन नदिन तीनै तहका सरकार जिम्मेवार बन्नुपर्छ । कर्णालीले पाएको अवसरलाई सफलतामा बदल्ने एउटै आधार निर्धारित मितिमा गुणस्तरीय व्यवस्थापनसहित प्रतियोगिता सम्पन्न गर्नु हो ।




