नेपालगञ्ज मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम बन्द भेरी अस्पतालमा सुत्केरीको चाप बढ्यो

बाँके, २७ कार्तिक  ।

नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज र कोहलपुर शाखामा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि हाल भेरी अस्पतालमा सुत्केरी सेवाको चाप अत्यधिक बढेको छ । भेरी अस्पतालले प्रसूति सेवाका बेड संख्या क्रमशः बढाउँदै आए पनि बढ्दो सुत्केरी संख्या व्यवस्थापन गर्न मुस्किल परेको अस्पतालले जनाएको छ ।

भेरीमा हाल दैनिक १२ देखि १५ जना महिलाको अप्रेसन (सिजेरियन) र २० देखि ३० जनासम्मको सामान्य (नर्मल) डेलिभरी हुने गरेको छ । तर, अप्रेसनपछि आवश्यक पर्ने पोष्ट–अप बेडको अभावले समस्या सिर्जना भइरहेको छ । पोष्ट–अपका १२ बेड मध्ये कुनै–कुनै दिन बिहानैदेखि नै भरिने गरेको छ । यसले नर्मल डेलिभरी सेवामा समेत असर पारेको अस्पताल स्रोतले जनाएको छ ।

भेरी अस्पतालमा अहिले पनि आमा सुरक्षा कार्यक्रम सञ्चालनमा छ । यो कार्यक्रमअन्तर्गत अस्पतालले एक जना महिलाको अप्रेसन गरेबापत १० हजार रुपैयाँ र सामान्य डेलिभरीका लागि २ हजार ५ सय रुपैयाँ पाउँछ । सो रकमबाट डाक्टर र स्वास्थ्यकर्मीलाई दुई हजारदेखि साढे तीन हजार रुपैयाँसम्म भत्ता दिइन्छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार भेरी अस्पतालमा कुल ३०० बेडमध्ये ७५ बेड प्रसूति सेवाका लागि छुट्याइएका छन् । “साउनयता १८ बेड थपेका छौं, तर अझै पर्याप्त छैन,” उनले बताए । उनले थप १५ बेड थप्ने तयारी भइरहेको जानकारी पनि दिए ।

डा. सुवेदीका अनुसार, मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि प्रसूतिहरू सिधै भेरी अस्पताल आउने क्रम बढेको छ । “यसले सेवामा चाप त बढाएको छ नै, अति विपन्न वर्गका महिलाहरूलाई आर्थिक रूपमा पनि थप बोझ परेको छ,” उनले भने ।

कोहलपुरकी २३ वर्षीया सुत्केरी विमला थापाले भनिन, “म पहिले मेडिकल कलेजमै डेलिभरी गर्ने सोचमा थिएँ, तर कार्यक्रम बन्द भएपछि भेरी आउनुपर्‍यो। यहाँ भीड धेरै छ, बेड पाउन पनि पालो कुरिनुपर्छ ।”

त्यस्तै, कोहलपुरकै २८ वर्षीया मञ्जु चौधरीले पनि समस्या झेल्नुपरेको बताइन । “सुत्केरी भएपछि आराम चाहिन्छ, तर यहाँ ठाउँ नै नपाएर ओछ्यानमा सुत्न गाह्रो हुन्छ,” उनले भनिन । स्थानीय स्वास्थ्यकर्मीहरूले समेत चाँडै मेडिकल कलेजहरूमा आमा सुरक्षा कार्यक्रम पुनःसञ्चालन हुनुपर्ने माग गरेका छन्, ताकि सुत्केरी सेवाको दबाब केही हदसम्म कम होस् र गरिब वर्गका महिलाहरूले सहज सेवा पाउन सकून् ।

नेपालगञ्ज मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम बन्द  भेरी अस्पतालमा सुत्केरीको चाप बढ्यो

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन 

नेपालगञ्ज मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम बन्द  भेरी अस्पतालमा सुत्केरीको चाप बढ्यो

कञ्चनपुरमा स्वास्थ्य बीमा विस्तारमा सुस्त

Leave a comment

Your email address will not be published. Required fields are marked *