आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सुर्खेतमा थपिए १८ सय १७ नयाँ मतदाता निर्वाचन लक्षित संयूक्त गस्तीमा सुरक्षा निकाय  

ओम शाही

सुर्खेत, २७कार्तिक ।

सुर्खेतमा १८ सय नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोग नेपालको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका अनुसार १० असोज २०८२ देखि २५ कार्तिकसम्म कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत जिल्लाभर एक हजार आठ सय १७ जना नयाँ मतदाता थपिएका हुन् । आगामी फागुन तेस्रो साता हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली दर्ताको काम देशैभर जारी छ ।

नयाँ थपिएका मतदातामा पुरुषको संख्या धेरै छ । निर्वाचन आयोगको कर्णाली प्रादेशिक कार्यालयका निमित्त प्रदेश निर्वाचन अधिकारी नन्दराम चौलागाईका अनुसार हालसम्म एक हजार एक सय ३९ पुरुष र ६ सय ७८ महिलाले नयाँ मतदाता परिचयपत्र बनाएका हुन् । मतदाता नामावली दर्ता गराउने समय अझै पाँच दिन बाँकी रहेकाले यो संख्यामा बृद्धि हुने चौलागाईले जानकारी दिए ।

फोटोसहितको मतदाता परिचयपत्र ३० कार्तिकसम्म आयोगको कार्यालयमा आएर बनाउन सकिने उनले बताए । २०८१ बैशाखसम्मको अद्यावधिक विवरण अनुसार सुर्खेतमा कुल दुई लाख ४४ हजार ६ सय ७६ मतदाता रहेको निर्वाचन अधिकारी चौलागाईले बताए । जसमा एक लाख १९ हजार तीन सय ८९ पुरुष र एक लाख २५ हजार दुई सय ८७ महिला मतदाता छन् ।

दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा एक सय ३९ मतदानस्थलका दुई सय ९३ मतदान केन्द्रबाट नागरिकहरु निर्वाचनमा सहभागी हुने गर्दछन । चौलागाईका अनुसार आवश्यकताका आधारमा मतदान केन्द्रहरु थप घट गर्न सकिन्छ । निमित्त प्रदेश निर्वाचन अधिकारी चौलागाईले नेपाली नागरिकता प्राप्त गरी २० फागुन २०८२ सम्म १८ वर्ष पुगेकाहरु आगामी निर्वाचनमा सहभागी हुन पाउने भएकाले कार्तिक मसान्तभित्र फोटोसहितको मतदाता परिचयपत्र बनाउन आग्रह गरे ।

‘नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर २० फागुन २०८२ सम्म १८ वर्ष उमेर पूरा नहुने नागरिकहरूले निर्वाचनमा भाग लिन पाउनु हुन्न,’ उनले भने, ‘उहाँहरुले आगामी २१ फागुनको निर्वाचन पश्चात मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नुहुन्छ । आगामी प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्न २० फागुन २०८२ सम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूले मात्र मतदाता नामावलीमा नाम दर्ता गर्नुहुन अनुरोध छ ।’ २३–२४ भदौको जेन–जी आन्दोलनपछि गठन भएको पूर्वप्रधानन्यायधीस सुशीला कार्की नेतृवको सरकारद्वारा आगामी २१ फागुन २०८२ मा प्रतिनिधिसभा निर्वाचनको मिति तय गरेसँगै निर्वाचन आयोगले मतदाता अद्यावधिकसँगै फोटोसहितको नयाँ मतदाता नामावली दर्तालाई तीव्रता दिएको छ ।

कार्की नेतृत्वको सरकारले निर्वाचन सम्बन्धि अध्यदेश जारी गरेपछि १० असोजबाट नयाँ मतदाता नामावाली दर्ताको काम सुरु भएको थियो । राजनीतिक दलहरुले निर्वाचनको वातावरण अझै तय भइ नसकेको बताइ रहदा आयोगले भने निर्वाचनको तयारी तीव्र पारिरहेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिवन्धको विरोध, भ्रष्टाचारको अन्त्य र शुसानको माग राखेर सडकमा उत्रिएको जेन–जी समूहमाथि २३ भदौमा सरकारले अत्याधिक बल प्रयोग गरेपछि सोही दिन १९ जनाले ज्यान गुमाएका थिए ।

त्यसको विरोधमा भोलिपल्ट (२४ भदौ)मा सडकमा उत्रिएको जेन–जी समूहको विद्रोले नेकपा एमाले र नेपाली कांग्रेस लगायतका दल सम्मिलित ओली नेतृत्वको सरकार विघठन भएको थियो । एमाले अध्यक्षसमेत रहेका ओलीले राजिनामा दिएपछि जेन–जीहरुको मागबमोजिम संसद विघठन पश्चात पूर्वप्रधानन्याधीस कार्की प्रधानमन्त्री बनेकी थिइन । उनी नेतृत्वको सरकारलाई ताजा जनादेशसहित प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने म्याण्डेट छ ।

प्रहरीले थाल्यो निर्वाचन लक्षित सुरक्षा गस्ती 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आगामी फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचन लक्षित सुरक्षा योजना अघि बढाएको छ । निर्वाचनको संवेदनशिलतालाई ध्यानमा राखेर सुर्खेतका तीन वटै सुरक्षा निकायले जिल्लाका नौ वटै स्थानीय तहमा संयूक्त गस्ती सुरु गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथालाले जिल्लाका नौ वटै स्थानीय तहमा रहेका मतदानस्थलका साथै सुरक्षा दृष्टिकोणले संवेदनशिल मानिएका क्षेत्र केन्द्रित संयूक्तरुपमा छोटो र लामो दुरीका सुरक्षा गस्ती सुरु गरिएको बताए । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको कमाण्ड प्रहरी नायव उपरीक्षक र नेपाली सेनाका मेजरको कमाण्डमा निर्वाचन लक्षित सुरक्षा योजनामा फौज खटिएको छ ।

१७ कार्तिकदेखि २३ गतेसम्म जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव नीरिक्षक बलप्रसाद पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७, १४, १५ र १६ हँुदै चिङ्गाँड गाँउपालिका वडा नम्बर १ देखि ६ का विभिन्न क्षेत्रहरुमा लामो दुरीको सुरक्षा गस्ती गरेको बुढथापाले बताए ।

उनले भने, ‘तीन वटै सुरक्षा निकायको टोलीले आसन्न निर्वाचनका लागि मतदान स्थलको अवस्था, आमनागरिकमा शान्ति सुरक्षाको प्रत्याभुति, निर्वाचनका क्रममा हुनसक्ने अपराधिक क्रियाकलाप नियन्त्रणका साथै विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।’ उनका अनुसार हालसम्म सुर्खेतमा कुनै पनि समूहबाट निर्वाचनलाई बाधा पुग्ने खालका क्रियाकलाप भएका छैनन् ।

आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन  सुर्खेतमा थपिए १८ सय १७ नयाँ मतदाता  निर्वाचन लक्षित संयूक्त गस्तीमा सुरक्षा निकाय  

सम्पादकीय : सदस्य सचिव नियुक्तिमा रमिता नदेखाऊ

आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन  सुर्खेतमा थपिए १८ सय १७ नयाँ मतदाता  निर्वाचन लक्षित संयूक्त गस्तीमा सुरक्षा निकाय  

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन 

Leave a comment

Your email address will not be published. Required fields are marked *