कोहलपुरबाट तीन विद्यार्थी बेपत्ता : भारत पुगेको आशंका, विद्यालयको लापरबाहीमा प्रश्न

बाँके,२५ असार।
बाँकेको कोहलपुर नगरपालिका–३ मा रहेको कोहलपुर बागेश्वरी इंग्लिस मिडियम स्कुलमा अध्ययनरत तीन जना विद्यार्थी स्कुलबाटै बेपत्ता भएका छन्। कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवन नाथ योगी र १२ वर्षीय रोबिन्द्र खड्का गत असार २२ गते दिउँसोदेखि सम्पर्क विहीन छन्।
स्कुलका प्रिन्सिपल विष्णु केसीका अनुसार ती विद्यार्थीहरू सोही दिन दिउँसो ३:५५ बजेसम्म स्कुलमै थिए र करिब ४:३० बजेतिर बाहिर निस्केका थिए। प्राविधिक कारणले स्कुलको सिसीटिभी काम नगरेको हुँदा उनीहरूको गतिविधि कैद हुन सकेन। हराएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय कोहलपुर र नेपाल प्रहरीको अनुसन्धान ब्यूरोलाई जानकारी गराएर खोजी प्रक्रिया थालिएको प्रिन्सिपल केसीले जानकारी दिनुभयो।
अनुसन्धानका क्रममा उनीहरू हराएको दिन साँझ ६:३० बजेतिर नेपालगन्जस्थित जिल्ला हुलाक कार्यालय अगाडि देखिएको सिसीटिभी फुटेज फेला परेको छ, जसमा तीनै जना चाउमिन खाइरहेको देखिन्छ। त्यसपछि भने उनीहरूको कुनै पत्तो लागेको छैन।
विद्यालयका अनुसार केही सहपाठीहरूले उनीहरूले पहिल्यैदेखि भाग्ने योजना बनाएको बताएका छन्। तर किन र कहाँ भन्नेबारे खुल्न सकेको छैन। डिएसपी लक्ष्मी खनालका अनुसार, प्रारम्भिक अनुसन्धानमा उनीहरू भारततर्फ गएको हुन सक्ने देखिएको छ। “एक जनाले भारतीय सिम प्रयोग गरिरहेको देखिएको छ भने अरू दुई जनाको फेसबुक पनि सक्रिय देखिएको छ”, उहाँले भन्नुभयो।
घटनालाई लिएर हराएका विद्यार्थीका आफन्तहरूले विद्यालयको चरम लापरबाही भएको आरोप लगाएका छन्। होस्टेलमा बस्ने निरज थापासहित स्कुल परिसरबाटै विद्यार्थी हराउनु गम्भीर विषय भएको भन्दै विद्यालय प्रशासनको जवाफदेही माग गरिएको छ।
विद्यालयले हाल विद्यार्थीहरूको तस्वीरसहित सामाजिक सञ्जालमा खोजीका लागि सार्वजनिक अपिल गरेको छ भने प्रहरी प्रशासनले भारतका सम्बन्धित निकायसँग समन्वय गरी खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ। डेढ वर्षअघि पनि सोही स्कुलका दुई विद्यार्थी बेपत्ता भई पछि फेला परेको घटना उजागर हुँदा विद्यालयको सुरक्षाप्रणालीप्रति थप प्रश्न उठ्न थालेको छ।






