भ्रष्टाचार, कर शोषण र रविमाथीको राजनीतिक प्रतिशोध

✍️अर्जुन प्रसाद शर्मा
नौलो टोल हरियाली चौक
वीरेन्द्रनगर-१२, सुर्खेत

नेपालको समकालीन राजनीतिक अवस्थालाई गहिरिएर नियाल्ने हो भने यो स्पष्ट हुन्छ कि मुलुक आज गम्भीर संरचनात्मक संकटको चपेटामा परेको छ। राजनीतिक शक्ति र नेतृत्वको मुख्य उद्देश्य राष्ट्रको दीर्घकालीन समृद्धि, नीतिगत स्थायित्व र जनताको जीवनस्तर उकास्ने काम हुनु पर्नेमा, आज उल्टो दिशामा गतिशील देखिन्छ।

विचारभन्दा सत्ता, नीतिभन्दा सौदाबाजी, विकासभन्दा भागबन्डा, र उत्तरदायित्वभन्दा उन्मुक्तिको राजनीति बलियो हुँदै गएको छ। यस्तो अवस्था केवल राजनीतिक नेतृत्वको दुर्बलतामात्र होइन, राज्य संयन्त्रकै असफलता र पतनको परिचाय हो।

नेपालमा पछिल्ला दशकहरूमा परिवर्तनका थुप्रै चरणहरू गुज्रिएका छन्—राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, संघीयता, धर्म निरपेक्षता र लोकतान्त्रिक प्रणालीको अभ्यास। यद्यपि यी परिवर्तनहरूले मुलुकको वैधानिक स्वरूपमा रुपान्तरण त गरे, तर राज्य सञ्चालन गर्ने चरित्र, दृष्टिकोण र प्रवृत्तिमा मौलिक सुधार ल्याउन सकेनन्। परिणामतः आजको नेपालमा सत्तामा पुगेका नेताहरू जनताको सेवा होइन, सत्ता प्राप्ति र त्यसको निरन्तरता सुनिश्चित गर्न केन्द्रित देखिन्छन्।

आज देशमा देखिएको राजनीतिक अस्थिरताको मूल कारण सत्ता प्राप्तिका लागि गरिने सौदाबाजी, स्वार्थमा आधारित गठबन्धन, र पदलिप्साको राजनीति हो। नेताहरू सिद्धान्तभन्दा सत्ता प्राप्तिको चातुर्यमा रमाइरहेका छन्। को को सँग गठबन्धन गर्दा सत्तामा पुगिन्छ,कति मन्त्रालय भागबन्डा गर्नुपर्छ, कस्को नियुक्ति कहाँ हुन्छ—यी नै प्राथमिक विषय बनेका छन्। जनताका सरोकार, नीति निर्माण, दीर्घकालीन विकास योजना, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि जस्ता विषयहरू राजनीतिक मञ्चमा पृष्ठभूमिमा धकेलिएका छन्।

सत्ताको लागि अनावश्यक सम्झौता, अव्यवस्थित सन्धि र स्वाभिमान गुमाएर गरिने सम्झौताहरूले मुलुकको स्वाधीनतालाई समेत प्रश्नचिन्हमा पारेका छन्। दलहरू सत्ता टिकाउन विदेशी शक्तिहरूसँग अत्यधिक निर्भर हुन पुगेका छन्, जसको दीर्घकालीन असर नेपालको सार्वभौमिकतामाथि पर्दै गएको छ.|नेपालमा भ्रष्टाचार आज केवल व्यक्तिको कमजोरी वा लालचको परिणाम होइन, यो संस्थागत, संरचनात्मक र संगठित रूपमै मौलाएको छ।

सरकारी निकायहरूमा गरिने नियुक्ति, ठेक्का प्रक्रिया, योजना कार्यान्वयन, सामग्री खरिददेखि नीति निर्माणसम्ममा भ्रष्टाचार मौलाएको छ। कतिपय नेताहरू, कर्मचारी, व्यवसायी र माफिया गठजोडले राज्यसत्तालाई आफ्नो नियन्त्रणमा लिएका छन्। ठूला योजना ठेक्काबाट कमिसन खाने, सरकारी जग्गा नजिकका मानिसको नाममा नामसारी गराउने, सेवा प्रदान गर्न घूस असुल गर्ने जस्ता व्यवहार सामान्य भएका छन्।

सुन तस्करी, भुटानी शरणार्थी काण्ड, भिजिट भिसा काण्ड, सहकारी ठगी, टेरा मक्स वाइडबडी बालुवाटार गिरिबन्धु पताञ्जली स्काउटका जग्गा राष्ट्रिय गौरवका आयोजना विमानस्थल औषधि लगायत यावत परियोजना का भ्रष्टाचार शृंखला आदि आजका यथार्थ घटनाहरू हुन्, जसले सत्तामा पुग्नेबित्तिकै जनताको करबाट उठेको सम्पत्तिलाई दुरुपयोग गर्ने प्रवृत्तिको पुष्टि गर्छ।

यी घटनामा संलग्नहरूलाई राजनीतिक पहुँचका कारण उन्मुक्ति दिनु, मुद्दा दबाउने वा कानुनी प्रक्रिया प्रभावित गर्नु आम देखिएको छ। यो अवस्थाले नागरिकको कानुनी विश्वास समाप्त पारिरहेको छ| नेपालमा कर प्रणाली आज एउटा संरचनात्मक शोषणको रूप लिइसकेको छ। सामान्य नागरिकले अत्यधिक प्रत्यक्ष र अप्रत्यक्ष कर तिर्न बाध्य छन्। खानेकुरा, लत्ताकपडा, सेवा, यातायात, शिक्षा, स्वास्थ्यदेखि मोबाइल र इन्टरनेट जस्ता दैनिक प्रयोगका सबै सामग्रीमा कर लागु गरिएको छ। तर, यति धेरै कर तिरेर पनि नागरिकले आवश्यक सेवा, पूर्वाधार वा गुणस्तरीय सुविधाहरू प्राप्त गर्न सक्दैनन्।

सडक निर्माण अलपत्र, सरकारी अस्पतालहरू सेवाहीन, सार्वजनिक विद्यालयहरू कमजोर, कृषि उपकरण नपाईने, रोजगार सिर्जना नगर्ने — यस्ता थुप्रै उदाहरण छन् जहाँ नागरिकले कर तिरेको बदलामा केही प्राप्त गर्दैनन्। राज्यको खर्चको ठूलो अंश प्रशासनिक फजुल खर्च, तलब-भत्ता, भ्रमण, र भ्रष्टाचारमा जान्छ। यो कर प्रणाली एकतर्फी बोझ हो, जसले नागरिकलाई राज्यबाट विमुख बनाइरहेको छ।कृषक आज बिचौलियाको पोल्टोमा परेका छन्।

बीउ, मल, औजार, सिँचाइ, बजारको अभाव, न्यून समर्थन मूल्य, र ऋणको भारी बोझले कृषकको जीवन कठिन बनाएको छ। कृषिमा दीर्घकालीन लगानी नहुनु, विज्ञान र प्रविधिको अभाव, र नीति निर्माणमा कृषकको आवाज नपर्नु प्रमुख समस्या हुन्। उता, युवाहरू वैदेशिक रोजगारीको मार्ग रोज्न बाध्य छन्। शिक्षित, दक्ष र ऊर्जावान जनशक्ति स्वदेशमा अवसर नपाएर विदेश पलायन हुनु केवल जनशक्ति गुमाउने प्रश्न मात्र होइन, राष्ट्रको उत्पादक शक्ति गुमाउने र दीर्घकालीन आर्थिक परनिर्भरताको संकेत हो। यसप्रति सरकार र दलहरूको गम्भीर ध्यान जानु आवश्यक छ।

यस गम्भीर राजनीतिक र सामाजिक असन्तोषको पृष्ठभूमिमा जन्मिएका बालेन, हर्क ,गोपाल लगायत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र रवि लामिछानेको उदय नेपाली राजनीतिमा एउटा नयाँ युगको सुरुवातको संकेत थियो। परम्परागत दलहरूले जनताको विश्वास गुमाउँदा एकजना पत्रकार–नेताका रूपमा उदाएका रविले जनतालाई नयाँ आशा देखाए। पारदर्शिता, जवाफदेहिता र कामप्रतिको प्रतिबद्धता, युवाप्रतिको सम्मान, भ्रष्टाचारविरुद्धको अडान र नीतिगत स्पष्टताका कारण रास्वपाले छोटो समयमा उल्लेखनीय लोकप्रियता प्राप्त गर्‍यो।

तर रवि लामिछानेमाथि लगाइएको सहकारी ठगी मुद्दाले मुलुकको कानुनी र राजनीतिक चरित्रको अर्को पक्षलाई उजागर गर्‍यो। समान प्रकृतिका कैयौं मुद्दामा अन्य दलका नेताहरू निर्दोष सावित भइरहँदा रविलाई पूर्वाग्रही ढंगले लक्षित गरिनु, छानबिनको नाममा असमान व्यवहार हुनु, जेल हाल्नु ,अन्तिम इच्छा सोधिनु र चरित्र हत्या गर्न मिडिया र राजनीतिक संयन्त्र प्रयोग गरिनु राजनीतिक प्रतिशोधभन्दा कम थिएन।

यति हुँदा हुँदा पनि रविको पक्षमा देशभर हस्ताक्षर संकलन अभियान चलिनु, जनस्तरबाट आवाज उठाइनु, नागरिक समाज र युवापुस्ताको व्यापक समर्थन हुनु, यिनै घटनाविरुद्धको जनआक्रोश हो। यो समर्थन केवल एक व्यक्तिको समर्थन होइन, यो सत्ताको निरंकुशता, दोहोरो मापदण्ड र दण्डहीनताको विरुद्धमा उठेको आवाज हो।

निष्कर्ष : अबको बाटो
नेपाल आज यस्तो मोडमा आइपुगेको छ जहाँ पुराना राजनीतिक प्रवृत्तिहरूको सुधारको आशा समाप्तप्रायः भएको छ। जनताले अब नेताहरू सचिएर होइन, सकिएर मात्र मुलुक बन्न सक्छ भन्ने निष्कर्षमा पुग्न थालेका छन्। करदाताको मूल्य, युवाको सम्भावना, कृषकको पसिना र नागरिकको विश्वासलाई कुल्चेर बनाइएको सत्ता संरचना अब जनतालाई स्वीकार्य छैन।

रवि लामिछानेमाथिको मुद्दा केवल एक घटना होइन, यो नयाँ राजनीतिलाई रोक्न गरिएको प्रयासको प्रतिनिधि घटना हो। तर नागरिक को विवेक अब मौन छैन। हस्ताक्षर संकलन, सामाजिक सञ्जालको जनमत, र बौद्धिक प्रतिकारको यो लहर मुलुकमा नयाँ राजनीतिक चेतना पलाउँदै गएको प्रमाण हो।

अब यो राष्ट्रले जनताकै विवेक, नैतिकताको मापदण्ड र वैकल्पिक नेतृत्वको उदयबाट मात्रै आफ्नो भविष्य निर्माण गर्न सक्छ। त्यसका लागि नागरिक सचेत हुनुपर्छ, संगठनात्मक रूपमा संगठित हुनुपर्छ, र पुराना प्रवृत्तिविरुद्धको शान्त, सबल र लोकतान्त्रिक विद्रोहको अग्रसरता लिनुपर्छ। नेपालको मुहार फेरिन अब नेताहरू सचिएर होइन, उनीहरू सकिएर नागरिकले उनीहरूलाई बदलेर मात्र सम्भव देखिन्छ।

भ्रष्टाचार, कर शोषण र रविमाथीको राजनीतिक प्रतिशोध

कोहलपुरबाट तीन विद्यार्थी बेपत्ता : भारत पुगेको

भ्रष्टाचार, कर शोषण र रविमाथीको राजनीतिक प्रतिशोध

लुम्बिनी प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ सम्पन्न,

Leave a comment

Your email address will not be published. Required fields are marked *