घरमै पुग्यो राहदानी, हट्याे जुम्लीकाे सदरमुकाम धाउने बाध्यता

गाेल्डेन बुढा

जुम्ला,२४ बैशाख।

जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचा गाउँका नेत्रबहादुर खत्री बिहीबार बिहान घरआँगनमै सरकारी कर्मचारी आइपुग्दा अचम्मित भए। सामान्यतया सरकारी कागजात लिन नागरिक आफैं कार्यालय धाउनुपर्ने जिल्लामा यसपटक भने कर्मचारी नै राहदानी बोकेर उनको घर पुगेका थिए।काठमाडौंबाट इन्जिनियरिङ अध्ययन गरिरहेकी उनकी छोरी करुणा खत्रीले पाँच वर्षअघि जिल्ला प्रशासन कार्यालय जुम्लाबाट राहदानी बनाएकी थिइन्। गतवर्ष राहदानी आएको खबरपछि परिवार प्रशासन पुगेको थियो। तर धेरै बेर लाइन बसेर खोज्दा पनि राहदानी नभेटिएपछि रित्तै फर्किनुपरेको थियो।यसपटक भने जिल्ला हुलाक कार्यालयका कर्मचारीले राहदानी घरमै ल्याइदिए। राहदानी बुझ्दै नेत्रबहादुरले भने, “पहिले प्रशासन धाउनुपर्थ्यो, लाइन बस्नुपर्थ्यो, कहिलेकाहीँ रित्तै फर्किनुपर्थ्यो। अहिले घरमै आएर दिएपछि राज्य नागरिकको नजिक पुगेको अनुभूति भयो।”यस्तै अनुभव चन्दननाथ नगरपालिका–६ छिना गाउँका श्रीबहादुर रोकायाको पनि छ। उनकी छोरी विनिता रोकाया अध्ययनका लागि हेटौंडामा बस्छिन्। उनले पनि पहिल्यै राहदानी बनाएकी थिइन्। बीचमा राहदानी आएको खबर पाएपछि लिन जाँदा कर्मचारीले ‘आएको छैन’ भनेपछि निराश भएर फर्किनुपरेको थियो। बिहीबार भने हुलाक कर्मचारी घरमै पुगेर राहदानी हस्तान्तरण गरे।“दिनभर काम छोडेर प्रशासन धाउनुपर्थ्यो, समय खर्च छुट्टै,” श्रीबहादुरले भने, “अब घरमै सेवा आउँदा धेरै सहज भयो। यस्तो सेवा पहिले नै हुनुपर्थ्यो।”बिहीबारदेखि जुम्लामा पहिलोपटक घरदैलोमै पुगेर राहदानी वितरण सुरु गरिएको हो। नयाँ सरकारका शासकीय सुधारका सय कार्यसूचिअन्तर्गत सेवा प्रवाहलाई नागरिकमैत्री र छिटोछरितो बनाउने अभियानअन्तर्गत यो अभ्यास सुरु गरिएको प्रशासनले जनाएको छ।घरदैलोमै राहदानी पुर्‍याउने विषयमा बुधबार जिल्ला प्रशासन कार्यालय जुम्ला र जिल्ला हुलाक कार्यालयबीच दुई पक्षीय समझदारी भएको थियो। समझदारीअनुसार प्रशासनमा आएका राहदानी हुलाक कार्यालयलाई जिम्मा लगाइएकाे थियो। त्यसपछि हुलाकका कर्मचारीले सम्बन्धित नागरिकको घरमै पुगेर राहदानी वितरण गर्नेछन्।

यता जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले दुर्गम जिल्लामा सेवा लिन नागरिकले झेल्दै आएको सास्ती कम गर्न यो व्यवस्था लागू गरिएको बताए।“सरकारका शासकीय सुधारका सय कार्यसूचिअन्तर्गत सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने, छिटोछरितो बनाउने अभियान चलाइरहेका छौं,” उनले भने,“अब जुम्लाका आठवटै स्थानीय तहका नागरिकको घरदैलोमै पुगेर राहदानी वितरण हुनेछ।”जुम्लामा एक नगरपालिका र सात गाउँपालिका गरी ६० वटा वडा छन्। कतिपय गाउँबस्तीबाट सदरमुकाम पुग्न अझै एकदेखि दुई दिनसम्म पैदल हिँड्नुपर्छ। यातायात खर्च, बसोबास र समयको अभावले धेरै नागरिकले राहदानी बनेको लामो समयसम्म लिन नसक्ने अवस्था रहेको थियो। प्रशासनका अनुसार अहिले जिल्लामा वितरण गर्न ६१ वटा राहदानी छन्।सम्बन्धित लाभग्राहीले राहदानी बुझ्दा राजस्वबापत ५५ रुपैयाँ बुझाउनुपर्नेछ। साथै, तीन पुस्ते विवरण पुष्टि गरेर मात्रै राहदानी हस्तान्तरण गरिने प्रशासनले जनाएको छ।जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख गणेशदत्त रावलले प्रशासनबाट राहदानी प्राप्त भइसकेको जानकारी दिए। “भोलि आठवटै स्थानीय तहका हल्कारालाई बोलाएका छौं,” उनले भने, “उनीहरूलाई राहदानीको महत्त्व, वितरण प्रक्रिया र जिम्मेवारीबारे जानकारी गराएर लगत्तै घरघरमा पुर्‍याउने काम सुरु हुन्छ।”तर, सेवा विस्तारमा स्रोत–साधन अभाव चुनौती बनेको छ। जिल्ला हुलाक कार्यालयसँग अहिले दुईवटा मोटरसाइकल मात्रै छन्।दुर्गमका टाढाका गाउँबस्तीमा पुग्न कठिनाइ हुने रावलले बताए।दुर्गम जुम्लामा सामान्य सरकारी सेवा लिन पनि नागरिकले सास्ती खेप्दै आएको अवस्थामा घरदैलोमै राहदानी वितरण सुरु हुनु प्रशासनिक सुधारको नयाँ अभ्यासका रूपमा हेरिएको छ। नागरिकले पनि यसलाई राज्य नागरिकको घरदैलोमा पुग्न थालेको संकेतका रूपमा लिएका छन्।

घरमै पुग्यो राहदानी, हट्याे जुम्लीकाे सदरमुकाम धाउने बाध्यता

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

Leave a comment

Your email address will not be published. Required fields are marked *