भेरीगंगा नगरपालिकाले कृषि तथा पोषण मेला गर्दै

सुर्खेत ,२४ बैशाख ।
सुर्खेतको भेरीगंगा नगरपालिकाले प्रांगारिक कृषि तथा पोषण मेलाको आयोजना गर्न लागेको छ । जेठ १ गते नगरपालिकाले भेरीगंगा–१२ छिन्चुस्थित एक विद्यालयको प्रांगणमा प्रांगारिक कृषि तथा पोषण मेला आयोजना गर्न लागेको हो ।
कर्णाली प्रदेशलाई प्रांगारिक प्रदेश बनाउने प्रदेश सरकारको संकल्पलाई मूर्तरुप दिन र स्थानीय स्तरमा उत्पादित पौस्टिक खाद्यवस्तुको बजारीकरणका लागि यो मेला सहयोगी बन्ने अपेक्षा गरिएको छ । स्थानीय स्तरमा उत्पादित प्रांगारिक उपजलाई बजार र उपभोक्तासँग प्रत्यक्ष जोड्ने, कृषकहरुको पौरखलाई मूल्यसँगै पहिचान दिन र नगरपालिकालाई एक सफल कृषि उद्यमी नगरको रुपमा स्थापित गर्ने प्रमुख उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको नगरपालिकाका कृषि शाखाका प्रमुख सुरज बिसीले जानकारी दिए ।
‘भेरीगंगाको सानः प्रांगारिक कृषि र उद्यमी किसान’ भन्ने मुल नाराका साथ प्रांगारिक कृषि तथा पोषण मेलाको आयोजना गर्न लागिएको हो । उक्त मेलामा कृषि उपज प्रदर्शनी स्टल राखिनेछ । उक्त  प्रदर्शनीमा नगरपालिका भित्रका सबै वडाका किसानहरुले उत्पादन गरेका उत्कृष्ट प्रांगारिक तरकारी, फलफूल र अन्नबाली प्रदर्शन गरिने बिसीले बताए ।
लोप हुन लागेका स्थानीय बिउबिजन लहे, कागुनो, कोदो, फापर र त्यसबाट बन्ने परिकारहरुको प्रदर्शनी पनि गरिनेछ । थोपा सिँचाइ, टनेल खेती, सुधारिएको गोठ, आधुनिक कृषि औजार लगायतका कृषि प्रविधि पनि प्रर्दशनीमा राखिने उनले जानकारी दिए । व्यावसायिक मौरीपालन र च्याउ खेतीका विभिन्न प्रजातिहरुका लागि विशेष स्टलको पनि व्यवस्था गरिएको छ । कृषि उपजको गुणस्तर, विविधता र प्रस्तुतीकरणको आधारमा सहभागी कृषकहरुबीच स्टल छनोटका लागि प्रतियोगिता गराईने बिसीले बताए । स्थानीय रैथाने बालीलाई प्रयोग गरेर बनाइने स्वास्थ्यवद्र्धक र पोषणमुक्त परिकार बनाउन कृषकहरुबीच प्रतिस्पर्धा पनि गराईनेछ । युवा कृषकहरुबीच कृषि, पोषण र वातावरणका विषयमा हाजिरीजवाफ प्रतियोगिता पनि उक्त मेलामा सञ्चालन गरिनेछ ।
कृषि वैज्ञानिक वा विज्ञहरुसँग किसानहरुले आफ्ना समस्याका विषयमा प्रत्यक्ष छलफल गर्न पाउनेगरि संवाद सत्रहरु पनि सञ्चालन गरिने बिसीले जानकारी दिए । उक्त मेलामार्फत व्यवसायी वा होटल व्यवसायीहरुबीच सम्झौता, सञ्जाल विस्तार, कृषिमा युवाको आकर्षण र विषादीको प्रयोगका विषयमा जनचेतनामुलक नाटक, गीत प्रस्तुति, गर्भवति महिलाका लागि सन्तुलित भोजनको महत्व बुझाउने श्रव्य दृश्य सामग्री प्रदर्शन पनि गरिने नगरपालिकाले जनाएको छ ।
भेरीगंगा नगरपालिकाले कृषि तथा पोषण मेला गर्दै

किताबकाे सट्टा यार्सा खाेज्दै : जुम्ला पातारसीका

Leave a comment

Your email address will not be published. Required fields are marked *