सुर्खेतका नौ पालिकाको बजेट सार्वजनिक पूँजिगततर्फ वीरेन्द्रनगरको ६४ प्रतिशत, अन्य पालिकाको चालु बजेट दोब्बरले बढी

ओम शाही
सुर्खेत, १० असार ।
सुर्खेतका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न वार्षिक बजेट सार्वजनिक गरेका छन् । संवैधानिक व्यवस्था अनुसार १० असारमा स्थानीय तहहरुले आफ्ना वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ ।
सोही बमोजिम सुर्खेतका पालिकाले कुल नौ अर्ब ७३ करोड ९१ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् । पालिकाहरुले सार्वजनिक गरेको बजेटमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी सिर्जना, सुशासन प्रवद्र्धन र सार्वजनिक सेवा प्रवाह, आर्थिक समृद्धि, सञ्चार तथा सूचना प्रविधि, युवा तथा महिला शसक्तिकरण, पर्यटन प्रवद्र्धन र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिएको दावी गरेका छन् ।
आगामी वर्षमा केही बाहेक अधिकांश पालिकाले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको देखिन्छ । सार्वजनिक बजेट अनुसार वीरेन्द्रनगर नगरपालिका बाहेक अन्यले पूँजिगतको तुलनामा झण्डै दोब्बरले चालुतर्फको बजेटको अनुमानित अंक सार्वजनिक गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चार अर्बको बजेट सार्वजनिक गरेको छ । बुधबार १९औं नगरसभामा नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले आगामी वर्षका लागि चालुतर्फ एक अर्ब ६८ करोड ३१ लाख ८९ हजार र पूँजिगततर्फ तीन अर्ब दुई करोड ७० लाख ८२ हजार गरी कुल चार अर्ब ७१ करोड दुई लाख ७२ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
यो कुल बजेटको चालुुतर्फ ३६ र पूँजिगततर्फ ६४ प्रतिशत हो । नगरपालिकाले अघि सारेको आगामी आर्थिक वर्षको बजेटमा खर्च व्यहोर्ने स्रोतका रुपमा संघीय वित्तीय सामानीकरण अनुदानवापत प्राप्त हुने २४ करोड ६० लाख, संघीय सर्शत अनुदान दुई अर्ब ६७ करोड ९६ लाख, संघीय राजश्व बाँडफाँड २१ करोड ३६ लाख ४७ हजार रुपैयाँ राखेको छ ।
त्यस्तै, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानवापत प्राप्त हुने तीन करोड ५३ लाख ३५ हजार, प्रदेश सशर्त अनुदान ५० करोड ५३ लाख ७२ हजार, प्रदेश राजस्व वाँडफाँड ४४ लाख ११ हजार रुपैयाँलाई आगामी वर्षको बजेटमा खर्च व्यहोर्ने स्रोतका रुपमा नगरपालिकाले राखेको छ । त्यस्तै, संघ तथा प्रदेश समपुरक र विशेष अनुदान चार करोड ५९ लाख, स्थानीय राजस्व वाँडफाँड १८ करोड, नगरपालिकाबाट संकलित कर तथा गैर कर (आन्तरिक आय) ३३ करोड ६ लाख ६५ हजार, बैंक मौज्दात तीन करोड ९३ लाख ५७ हजार र सामाजिक सुरक्षा अनुदानवापत प्राप्त हुने ४३ करोडलाई खर्च धान्ने स्रोतमा राखिएको छ ।
यस्तो छ अन्य पालिकाको बजेट
सुर्खेतका नौ स्थानीय तह मध्ये वीरेन्द्रनगर नगरपालिकापछि अर्बमा बजेट ल्याउने पालिका गुर्भाकोट नगरपालिका छ । अन्य तीन नगरपालिका र चार गाउँपालिले करोडको अंकमा बजेट ल्याएका छन् । करोडमा बजेट ल्याउने पालिकाले पूँजिगत बजेटको तुलनामा चालु बजेटलाई उच्च प्राथमिकतामा राखेका छन् ।
आगामी आर्थिक वर्षका लागि बराहताल गाउँपालिकाले ६३ करोड ६ लाख ९६ हजार ५० रुपैयाँको बजेट ल्याएको छ । बराहतालले चालुतर्फ कूल बजेटको ६८ प्रतिशत र पुँजिगततर्फ ३२ प्रतिशत बजेट ल्याएको छ । त्यस्तै, चौकुने गाउँपालिकाले आगामी वर्षका लागि चालुतर्फ ४० करोड ८६ लाख ६६ हजार र पूँजिगततर्फ १९ करोड ८७ लाख ५० हजार रुपैयाँ गरी कुल ६० करोड ७४ लाख १६ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।
बराहताल र चौकुने गाउँपालिकाले ल्याएको बजेट चालुको तुलनामा पूँजिगततर्फको बजेट दोब्बरले कम हो । सिम्ता गाउँपालिकाले आगामी वर्षका चालुतर्फ ४४ करोड ४१ लाख १६ हजार र पूँजिगततर्फ १६ करोड २३ लाख १४ हजार गरी कुल ६० करोड ६४ लाख ३० हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
सिम्ताले आगामी वर्षका लागि चालुको तुलनामा झण्डै तेब्बरले कम पूँजिगत बजेट अघि सारेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले कृषि, पूर्वाधार, शिक्षा स्वास्थ्य, रोजगारी सिर्जना र सेवा प्रवाहलाई चुस्त बनाउन बजेट केन्द्रित रहेको बताए ।
चिङ्गाड गाउँपालिकाले पनि चालुु बजेटको तुलनामा तेब्बरले घटाएर पूँजिगत बजेट ल्याएको छ । आगामी वर्षका लागि कुल ४४ करोड ४६ लाख ३३ हजार बराबरको बजेट अघि सारेको चिङ्गाडले चालुतर्फ ३३ करोड एक लाख ८१ हजार बजेट राख्दा पूँजिगततर्फ भने ११ करोड ४४ लाख ५२ हजार राखेको छ ।
त्यस्तै, गुर्भाकोट नगरपालिकाले एक अर्ब आठ करोड बजेट सार्वजनिक गरेको छ । गुर्भाकोटले पनि चालुको तुलनामा पूँजिगत बजेट कम ल्याएको छ । नगरपालिकाका प्रवक्ता मधु गुरुङ्गका अनुसार चालुतर्फ ६० करोड बजेट रहदा पूँजिगततर्फ ५८ करोड ९२ लाख छ । भेरीगंगा नगरपालिकाले ३ असारमा ४३ करोड बराबरको बजेट प्रस्ताव गरेको छ । संघबाट हस्तान्तरण हुने अनुदानको सिलिङ सार्वजनिक नहुँदै भेरीगंगाले बजेट सार्वजनिक गरेकाले कुल बजेटको अंक खुलेको छैन ।
त्यस्तै, पञ्चपुरी नगरपालिकाले ६९ करोड ६२ लाख ३४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ पञ्चपुरीको पनि पूँजिगतको तुलनामा चालुतर्फका बजेट बढी छ । लेकवेशी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ६९ करोड ३९ लाख २४ हजार ६ सय रूपैयाँ बराबरको बजेट ल्याएको छ । जसमा कुल विनियोजित बजेट मध्ये चालुतर्फ ४६ करोड ४१ लाख ९१ हजार ६ सय एक रूपैयाँ र पूँजिगत तर्फ २२ करोड ९८ लाख ३३ हजार रूपैयाँ छ । लेकवेशीले पनि चालुको तुलनामा पूँजिगत बजेट दुई तिहाइले घटाएको छ ।





