वर्क परमिट विवादपछि कोहलपुर गोल्डकपबाट बाहिरियो नाइजेरियाली टोली

बाँके ,२४ बैशाख ।
कोहलपुरमा जारी कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा सहभागी नाइजेरियाली टोली जस्ट जोन एफसी वर्क परमिट विवादका कारण प्रतियोगिताबाट बाहिरिएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले वर्क परमिट नलिएका विदेशी खेलाडीलाई सहभागी नगराउन निर्देशन दिएपछि आयोजकले दोस्रो सेमिफाइनलको खेल तालिका परिवर्तन गरेको हो।
आयोजक रेसिङ साहारा क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रशासनको निर्देशनअनुसार नयाँ खेल तालिका सार्वजनिक गरेको जनाएको छ। यसअघि लिग चरणमा रोयल फुटबल क्लब (कर्णाली प्रदेश) लाई हराएर सेमिफाइनल पुगेको जस्ट जोन एफसी अब प्रतियोगिताबाट बाहिरिएको आयोजकले पुष्टि गरेको छ।
आयोजकका अनुसार जस्ट जोन एफसीको स्थानमा अब रोयल फुटबल क्लब (कर्णाली प्रदेश) ले नेपाल पुलिस क्लबसँग दोस्रो सेमिफाइनल खेल्नेछ। खेल भने पूर्वनिर्धारित समयमै सञ्चालन गरिने प्रतियोगिता संयोजक कर्ण बस्नेतले जानकारी दिनुभयो।
बस्नेतले देशभर सञ्चालन हुने विभिन्न गोल्डकप प्रतियोगितामा विदेशी खेलाडी सहभागी हुँदै आएको उल्लेख गर्दै कोहलपुर गोल्डकपलाई मात्रै रोक लगाइनु दुःखद भएको प्रतिक्रिया दिनुभयो।
क्लबका सचिव नवकिरण शाहले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अनुमति लिएर प्रतियोगिता सञ्चालन गरिएको र टोली सेमिफाइनलसम्म पुगिसकेको अवस्थामा अचानक विदेशी खेलाडीलाई रोक लगाउँदा प्रतियोगिताको प्रतिष्ठामै असर पुगेको बताउनुभयो।
उहाँले हालै सम्पन्न खजुरा गोल्डकपमा समेत विदेशी खेलाडी सहभागी भएको स्मरण गराउँदै कोहलपुर गोल्डकपलाई मात्रै लक्षित गरिएको जस्तो देखिनु राम्रो सन्देश नभएको बताउनुभयो। उल्लेखनीय छ, खजुरा गोल्डकपको उपाधि पनि नाइजेरियाकै जस्ट जोन एफसीले जितेको थियो।
त्यस्तै, क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले प्रतियोगिताका लागि एक महिनाअघि नै सम्बन्धित सबै निकायबाट अनुमति लिइसकेको अवस्थामा खेल सञ्चालन भइरहँदा आएको अप्रत्याशित निर्णयले आयोजक टोली हतोत्साहित बनेको बताउनुभयो। उहाँले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
वर्क परमिट विवादपछि कोहलपुर गोल्डकपबाट बाहिरियो नाइजेरियाली टोली

जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ, पाँच दिन

Leave a comment

Your email address will not be published. Required fields are marked *