जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ, पाँच दिन हिरासतमा राखेर अनुसन्धान

जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बुधबार उनलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार एक महिलाले वडाध्यक्ष बुढाविरुद्ध पटक–पटक धम्क्याउँदै जबरजस्ती करणी गरेको आरोपसहित उजुरी दर्ता गरेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। उजुरी मंगलबार राति परेको प्रहरीले जनाएको छ।जुम्लाका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीले पीडित महिलाको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको बताए।
उनका अनुसार घटनासम्बन्धी तथ्य, प्रमाण र पीडितको बयानका आधारमा थप अनुसन्धान भइरहेको छ।स्थानीय तहका जनप्रतिनिधिमाथि गम्भीर फौजदारी आरोप लागेपछि पातारासी गाउँपालिकामा घटना चर्चाको विषय बनेको छ। निर्वाचित जनप्रतिनिधिमाथि नै यौनजन्य हिंसाको आरोप लाग्नुले स्थानीय तहप्रतिको जनविश्वास र सामाजिक उत्तरदायित्वमाथि समेत प्रश्न उठाएको स्थानीयवासी बताउँछन्।प्रहरीले भने अनुसन्धान निष्पक्ष ढंगले अघि बढाइने जनाएको छ। आरोप पुष्टि भए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले उल्लेख गरेको छ।






