मन्त्री शाहद्वारा शान्ति प्रक्रियाको भावमा रेडक्रसलाई राजनीतिकरणमुक्त गर्न जोड
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले माओवादी युद्धको शुरुवात रुकुम, रोल्पा, र जाजरकोटबाट भएको थाहा पाएपछि आफूले शान्ति प्रक्रियाको भावनाले काम गर्ने संकल्प गरेको बताए । उनले यस विषयमा आफ्नो प्रतिबद्धता नेपाल रेडक्रस सोसाइटीको ६२औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा व्यक्त गरे ।
मन्त्री शाहले पछिल्लो समय नेपाल रेडक्रसमा राजनीतिक हस्तक्षेपका कारण संस्था विवादित बन्दै गएको र यसलाई चाँडो समाधान गर्नुपर्ने आवश्यकता औंल्याए । उनले हरेक कामकारबाहीमा सफा नियत आवश्यक रहेकोमा जोड दिँदै रेडक्रसले मानवतावादी सेवामा पूर्ण निष्ठासाथ लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य प्रवाशकुमार शाक्यले सुर्खेतमा सञ्चालित रक्तसञ्चार केन्द्रलाई व्यवस्थित गर्न अपिल गर्दै, दानमा दिएको रगतलाई सरकारले निशुल्क उपलब्ध गराउन नसकेको विषयमा चिन्ता व्यक्त गरे । उनले केही प्रदेश र स्थानीय तहले आफ्ना नागरिकलाई निशुल्क रगत उपलब्ध गराएको भए पनि कर्णाली प्रदेश सरकारले यसमा अझै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।
यसै क्रममा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव दिर्घबहादुर पोखरेलले प्रदेशका नागरिकहरूको स्वास्थ्य सुरक्षाको लागि निशुल्क रगत उपलब्ध गराउने योजना अगाडि बढाउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले कार्यक्रमको अध्यक्षता गरेका थिए ।